close

पीडीएफको नेपाली टेक्स्ट कपी गर्दा ह्वस्व दीर्घ वा फन्ट बिग्रियो ? यसो गर्नुहोस्

टेकपाना टेकपाना

पुस ७, २०८० १३:३२

पीडीएफको नेपाली टेक्स्ट कपी गर्दा ह्वस्व दीर्घ वा फन्ट बिग्रियो ? यसो गर्नुहोस्

काठमाडौं । सामान्यत: कम्प्युटरमा नेपाली टाइपिङ गर्दा कि कुनै फन्ट प्रयोग गरिन्छ, कि युनिकोड टाइपिङ गरिन्छ । युनिकोडमा नेपाली टाइप गर्दा खासै समस्या आउँदैन । तर, फन्टमा टाइप गरेको छ भने विभिन्न समस्या आइरहेको हुन्छ ।

फन्टको सन्दर्भमा अधिकांश फन्टका लागि प्रयोग गरिने अक्षर एउटै भए पनि तरिका फरक हुन्छ । कतिपय अवस्थामा एउटा फन्टमा एउटा लेखेको अक्षर अर्को फन्टले सपोर्ट नगर्ने हुन्छ ।

फन्ट अनुसार टाइप गर्ने शैली पनि फरक हुन्छ । उदाहरणका लागि कसैले 'दिन' टाइप लागेको छ भने सबैभन्दा पहिले 'ि', 'द' र 'न' टाइप गर्छन् भने कतिपयले 'द', 'ि' र 'न' टाइप गर्छन् । फन्ट मिलेको छ भने त यो जस्तो देखिनुपर्ने हो त्यस्तै देखिन्छ तर, फन्ट फरक पर्‍यो भने अक्षरको संरचना नै बिग्रिन्छ ।

यसरी पीडीएफमा लेखिएका नेपाली टेक्स्ट कपी गर्दा ह्रस्व, दीर्घ नमिल्ने समस्या आइरहेको हुन्छ । त्यसबाहेक पनि पीडीएफ फाइलमा भएको नेपाली टेक्स्ट सोझै सेलेक्ट गर्दा बीचका शब्दहरू छुटिरहेका हुन्छन् । आज हामी सरल तरिकाले पीडीएफको नेपाली टेक्स्ट कसरी उतार्ने भन्ने विषयमा जानकारी दिँदैछाैं:

त्यसका लागि सबैभन्दा पहिले तपाईंको कम्प्युटरमा नेपाली टेक्स्ट भएको पीडीएफ फाइल हुनुपर्छ । त्यसपछि उक्त पीडिएफको स्क्रिनशट लिनुपर्ने हुन्छ । सामान्यतः विन्डोजमा (Win+Shift+s) की स्क्रिनशट लिनका लागि प्रयोग गरिन्छ । यो डिफल्ट रूपमा हुने फिचर हो । यसका लागि कुनै पनि बाह्य एप वा सफ्टवेयर डाउनलोड गर्नु पर्दैन ।

- स्क्रिनशट लगिसकेपछि फोटो स्वतः क्लिपबोर्डमा कपी हुन्छ । त्यसपछि ब्राउजरमा google.com सर्च गर्नुहोस् ।

- अनि सर्चबारको छेउमा रहेको क्यामेराको आइकमा क्लिक गर्नुहोस् ।

- त्यसपछि 'पेस्ट इमेज लिङ्क' लेखेको बक्समा फोटो (Ctrl+V) पेस्ट गर्नुहोस् ।

- यति गरेपछि टेक्स्टको अप्सन छान्नुहोस् ।

- अनि आफूले चाहेको टेक्स्ट सेलेक्ट गर्नुहोस् । यति गरेपछि (Crtl+C) बटन थिचेर कपी गरी आफूले चाहेको ठाउँमा पेस्ट गर्नुहोस् ।

यो तरिका अपनाउँदा त्यहाँ भएको फन्ट कुन थियो भन्ने सम्झिरहन पर्दैन । त्यसबाहेक पनि कपी गरिएको टेक्स्ट छुट्ने डर हुँदैन । त्यसबाहेक अन्य फन्टमा भएको टेक्स्ट युनिकोडमा कपी गरिरहन पर्दैन ।

पछिल्लो अध्यावधिक: पुस ७, २०८० १३:३२