close

आफ्नो फेसबुक पोस्टमा कसलाई कमेन्ट गर्न दिने, कसलाई नदिने ?

टेकपाना टेकपाना

पुस ८, २०८० १५:१०

आफ्नो फेसबुक पोस्टमा कसलाई कमेन्ट गर्न दिने, कसलाई नदिने ?

काठमाडौं । फेसबुकमा तपाईंले आफ्नो पोस्ट पब्लिक (सबैले देख्नसक्ने), फ्रेन्ड्स (साथीहरुले मात्र देख्न सक्ने), निश्चित साथीहरुले मात्र देख्नसक्ने वा आफूले मात्र हेर्न सक्नेगरी नियन्त्रण गर्न सक्नुहुन्छ । यसका साथै तपाईंले आफ्नो पब्लिक गरेको पोस्टमा कसले कमेन्ट गर्न पाउने भन्ने कुरा समेत नियन्त्रण गर्न सक्नुहुन्छ । 

प्रायजसो कुनै पोस्ट भाइरल हुन पुगेको अवस्थामा अनावश्यक र नचाहिँदा कमेन्टहरु आइपुग्छन् । फेसबुककाे कमेन्ट कन्ट्रोल फिचरले त्यस्ता कमेन्टलाई केही हदसम्म रोक्नेछ । 

जब तपाईं आफ्नो कुनै पोस्टमा साथी तथा आफन्तले मात्रै कमेन्ट गर्न सकून् भन्ने चाहनुहुन्छ अथवा कुनै पोस्टमा कसैले पनि कमेन्ट गर्न नसकोस् भन्ने चाहनुहुन्छ भने त्यस्तो बेलामा यो फिचर निकै उपयोगी हुनेछ । 

कसरी नियन्त्रण गर्ने आफ्नो फेसबुकको कमेन्ट ?

फेसबुकको कमेन्ट विभिन्न तरिकाले नियन्त्रण गर्न सकिन्छ । कतिपय अवस्थामा तपाईंको पोस्ट देख्ने, तर कमेन्ट गर्न नपाउने पनि हुन्छ भने केही अवस्थामा पोस्ट नै नदेख्ने बनाउन पनि सकिन्छ । यसमा साथी नभएको व्यक्तिले पोस्ट देख्ने, तर कमेन्ट गर्न नपाउने कसरी बनाउने भन्ने विषयमा चर्चा गरिएको छ । 

१) सबैभन्दा पहिले फेसबुक एप खोल्नुहोस् । 

२) त्यसपछि माथि दायाँपट्टि रहेको प्रोफाइलको आइकनमा ट्याप गर्नुहोस् । अनि तलपट्टि गएर सेटिङ एन्ड प्राइभेसीको अप्सनमा जानुहोस् । 

३) यति गरेपछि सेटिङको अप्सन ट्याप गर्नुहोस् । 

४) त्यसपछि ‘अडियन्स एन्ड भिजिबिलिटी’ (Audience and Visibility) को अप्सनमा ट्याप गरेर फलोअर्स एन्ड पब्लिक कन्टेन्ट (Followers and Public Content) को अप्सनमा जानुहोस् । 

५) यति गरेपछि त्यहाँ ‘पब्लिक पोस्ट कमेन्ट्स’ (Public post comments) को अप्सनमा जानुहोस् । 

यहाँ पब्लिक, फ्रेन्ड्स र फ्रेन्ड्स अफ फ्रेन्ड्सको तीन ओटा अप्सन हुन्छन् । पब्लिक अर्थात् तपाईंको पोस्टमा जसले पनि कमेन्ट गर्न पाउँछन् । फ्रेन्ड्स अफ फ्रेन्ड्स अर्थात् तपाईंसँग एड भएका व्यक्तिसँग एड भएका व्यक्तिको अकाउन्टबाट पनि कमेन्ट गर्न सकिन्छ । र, फ्रेन्ड्सको अप्सन भनेको तपाईंसँग एड भएका व्यक्तिले मात्र कमेन्ट गर्न पाउँछन् । यी मध्ये कुनै एउटा अप्सन छाने सबै फेसबुक पोस्टका लागि यो अप्सन लागू हुन्छ । 

यदि तपाईं कुनै सीमित पोस्टमा सीमित व्यक्तिलाई मात्र कमेन्ट गर्ने अनुमति दिन चाहनुहुन्छ भने तलको प्रक्रिया अपनाउनुहोस्:

  • सबैभन्दा पहिले फेसबुक एप खोल्नुहोस् । अनि आफ्नो टाइमलाइनमा जानुहोस् । 

  • त्यसपछि आफूले कमेन्ट लिमिट गर्न चाहेको पोस्ट छान्नुहोस् । 

  • यति गरेपछि तपाईंले शेयर गरेको पोस्टमा जानुहोस् । र, दायाँपट्टिको छेउमा भएको तीन ओटा डटमा ट्याप गर्नुहोस् । 

  • र, एडिट प्राइभेसीमा जानुहोस् । त्यहाँबाट आफूले सो पोस्ट कसले देख्न पाउने भन्ने अप्सन छान्नुहोस् । यो अप्सनमा आफूसँग एड भएको व्यक्तिलाई सो पोस्ट नदेखाउने बनाउन सकिन्छ । 

यसअघि फेसबुकमा हरेक पोस्टका लागि ‘हु क्यान कमेन्ट अन योर पोस्ट’को अप्सन थियो । तर, अहिले फेसबुकले उक्त अप्सन हटाइसकेको छ ।

पछिल्लो अध्यावधिक: पुस ८, २०८० १५:२०