close

पाकिस्तानका उम्मेदवारलाई पछि पार्दै अधिवक्ता अर्याल एपीसीगको अध्यक्षमा निर्वाचित

टेकपाना टेकपाना

पुस ९, २०८० १०:१२

पाकिस्तानका उम्मेदवारलाई पछि पार्दै अधिवक्ता अर्याल एपीसीगको अध्यक्षमा निर्वाचित

काठमाडौं । एसिया प्यासिफिक स्कुल अन इन्टरनेट गभर्नेन्स (एपिसिग) को अध्यक्षमा अधिवक्ता बाबुराम अर्याल निर्वाचित भएका छन् । आइतवार भएको निर्वाचनमा अध्यक्ष पदका अर्का उमेदवार पाकिस्तानका मुबसिर सरगनालाई पराजित गर्दै अर्याल अध्यक्षमा निर्वाचित भएका हुन् । अर्यालले २१ मत ल्याएका थिए भने सरगनाले भने १५ मत प्राप्त गरे ।

दुई जना उपाध्यक्ष पदको लागि भएको निर्वाचनमा भारतका डा. गोविन्द कुमारले सर्वाधिक २१ मत ल्याई निर्वाचित भए । दोस्रो उपाध्यक्षका लागि भने नेपालका श्रीदीप रायमाझी र पाकिस्तानका वकास हसनको मत बराबर (१६) भएको हुँदा दोस्रो राउन्डको निर्वाचन भएको थियो । दोस्रो राउन्डको निर्वाचनमा भने पाकिस्तानका वकास हसन विजयी भए ।

दुई वर्ष कार्यकाल रहने सञ्चालक समितिको रिक्त अध्यक्ष र दुई उपाध्यक्ष पदमा निर्वाचन भएको थियो । जम्मा पाँच जनाको सञ्चालक समिति रहने एपीसीगको सचिव पदमा श्रीलङ्का कि सागरिका विक्रमशेकरा र कोषाध्यक्ष पदमा बङ्गलादेशका शाह जहिदुर रहमान यसअघि नै निर्विरोध निर्वाचित भएका थिए ।

एसिया प्यासिफिक स्कुल अन इन्टरनेट गभर्नेन्सले एसिया र प्रशान्त क्षेत्रमा इन्टरनेटको विकास र नीतिगत व्यवस्था, प्रविधिमा पहुँच, डिजिटल सुरक्षा र साक्षरता जस्ता विषयहरूमा क्षमता विकासको काम गर्दछ । संस्थामा एसिया प्रशान्त क्षेत्रका देशहरूबाट बहुसाझेदारी अवधारणामा सदस्यहरू आबद्ध हुन्छन् ।

अध्यक्षमा निर्वाचित अर्याल साइबर कानून, साइबर सुरक्षा, दूरसञ्चार कानून तथा मिडिया कानूनको क्षेत्रमा लामो समयदेखि कार्यरत कानून व्यवसायी हुन । उनले नेपाल तथा एसिया प्यासिफिकको क्षेत्रीय स्तरमा इन्टरनेट गभर्नेन्सका मुद्दाहरूमा लामो समयदेखि योगदान गर्दै आएका छन् । हाल उनी डिजिटल फ्रिडम कोलिसनको अध्यक्ष र इन्टरनेट गभर्नेन्स इन्स्टिच्युटको संस्थापक तथा प्रमुख कार्यकारी भूमिकामा रही इन्टरनेटमा रहेका नागरिकको समान पहुँच, बालबालिकाका लागि अनलाइन सुरक्षा, डिजिटल साक्षरता तथा डिजिटल युगमा मानव अधिकारका विषयहरूमा स्थानीय तथा विश्वव्यापी रूपमा क्षमता विकास तथा वकालतमा क्रियाशील छन् ।

पछिल्लो अध्यावधिक: पुस १०, २०८० १२:१९