close

गिरफ्तारमा परे भिभोका चार भारतीय अधिकारी

टेकपाना टेकपाना

पुस ९, २०८० १३:१६

गिरफ्तारमा परे भिभोका चार भारतीय अधिकारी

काठमाडौं । चिनियाँ स्मार्टफोन निर्माता कम्पनी भिभो इन्डियाका तीन अधिकारीलाई त्यहाँको प्रवर्तन निर्देशनालयले गिरफ्तार गरेको छ । जसमा भिभोका अन्तरिम प्रमुख कार्यकारी निर्देशक (सीईओ) होङ जुक्वान उर्फ टेरी, मुख्य वित्तीय अधिकारी हरिन्द दहिया र सल्लाहकार हेमन्त मुञ्जाल रहेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

भिभोका प्रवक्ताले कम्पनी यो कारबाहीलाई लिएर चिन्तित रहेको र कानूनी तरिका उपयोग गर्ने बताएका छन् । पछिल्लो समयमा भिभोका अधिकारीहरूमाथि लगातार रूपमा भइरहेको गिरफ्तारी उत्पीडनको निशानी भएको कम्पनीले उल्लेख गरेको छ ।

यस प्रकारको कारबाहीले व्यावसायिक माहोलमा अनिश्चितताको भाव उत्पन्न हुने कम्पनीको भनाई छ । भिभोका अनुसार कम्पनी यो मामिलामा सबै कानूनी तरिका उपयोग गर्नेछ ।

प्रवर्तन निर्देशनालय (इनफोर्समेन्ट डिरेक्टोरेट-ईडी) भारतको वित्तीय कानून कार्यान्वयन गराउने र आर्थिक अपराध नियन्त्रण गर्ने निकाय हो । जुन भारतको राजस्व विभागको अङ्गको रूपमा रहेको छ ।

भारतले भिभो विरुद्ध मनी लन्डरिङ उपर अनुसन्धान गरिरहेको छ । सोही मामिलालाई लिएर कम्पनीका अधिकारीलाई गिरफ्तार गरिएको हो । त्यसो त यस प्रकारको मामिलामा पहिले पनि गिरफ्तारी भइसकेको छ ।

यसमा मोबाइल कम्पनी लाभा इन्टरनेसनलका प्रबन्ध निर्देशक हरिओम राय, चिनियाँ नागरिक गुआँगवेन उर्फ एन्ड्रयु कुआङ्ग, चार्टर्ड अकाउन्टेन्ट नितिन गर्ग र राजन मलिकलाई गिरफ्तार गरिएको थियो । ती सबै हाल न्यायिक हिरासतमा रहेका छन् ।

प्रवर्तन निर्देशनालयको तर्फबाट ती चारै जना विरुद्ध दिल्लीको विशेष पीएमएल अदालतमा आरोप पत्र दायर गरिएको थियो । 

*शीर्षक परिमार्जन गरिएको छ । -सं

 

पछिल्लो अध्यावधिक: पुस ११, २०८० १२:३२