close

पहलगाम हमला: श्रीमतीले नै श्रीमान्‌को हत्या गराएको भन्दै फेसबुकमा कमेन्ट गर्ने युवक पक्राउ

टेकपाना टेकपाना

बैशाख १३, २०८२ १५:९

पहलगाम हमला: श्रीमतीले नै श्रीमान्‌को हत्या गराएको भन्दै फेसबुकमा कमेन्ट गर्ने युवक पक्राउ

काठमाडौं । पहलगाम आतङ्कवादी हमलामा मारिएका एक व्यक्तिकी श्रीमतीले नै हत्याको षड्यन्त्र गरेको भन्दै सामाजिक सञ्जालमा पोस्ट गर्ने एक व्यक्ति पक्राउ परेका छन् । मध्यप्रदेशको जबलपुरबाट प्रहरीले शुक्रबार आरोपी ओसाफ खानलाई नियन्त्रणमा लिएको हो ।

भारतीय सञ्चारमाध्यम इन्डिया टुडेका अनुसार खान चिकित्सा पेसासँग सम्बन्धित व्यक्ति हुन् । उनले फेसबुकमा पोस्ट गर्दै जम्मु कश्मिरमा २२ अप्रिलमा भएको नरसंहारमा पतिको ज्यान गुमाएकी महिलाले नै सुटर भाडामा लिएर श्रीमान्‌को हत्या गराएको दाबी गरेका थिए । श्रीमान् गुमाएकी ती महिलाको हृदयविदारक तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेका बेला खानले एउटा पोस्टमा यस्तो कमेन्ट गरेका थिए ।

भाइरल तस्बिरमा रातो चुरा लगाएकी ती महिला आफ्ना श्रीमान्‌को शव छेउमा मुर्छा परेको अवस्थामा देखिन्छिन् । यो तस्बिर पहलगाम हमलाको सबैभन्दा मार्मिक दृश्यमध्ये एक मानिएको छ ।

आरोपी खानले कमेन्ट गर्दै लेखेका थिए, "यी महिलामाथि अनुसन्धान हुनुपर्छ । सायद उनले मौका पाउने बित्तिकै सुटर भाडामा लिएर श्रीमान्‌को हत्या गराइन् ।" उनको यस्तो दाबी सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक भर्त्सना र आलोचना भएको थियो । आलोचनापछि खानले सामाजिक सञ्जालमै भिडिओमार्फत माफी पनि मागेका थिए ।

उक्त आक्रमणको केही दिनअघि मात्रै ती महिला विवाह बन्धनमा बाँधिएकी थिइन् । घटना भएको केही समयपछि उनले एक भिडिओमा आफ्नो त्रासदीपूर्ण अनुभव सुनाएकी थिइन् । "हामी भेलपुरी खाइरहेका थियौं... बन्दुकधारीले मेरो श्रीमान् मुस्लिम नभएको भन्दै गोली हान्यो," उनले रुँदै भनेकी थिइन् ।

इन्डिया टुडेका अनुसार खानको आपत्तिजनक पोस्टप्रति आक्रोशित स्थानीय बासिन्दा अभय श्रीवास्तवले प्रहरीमा उजुरी दिएका थिए । यसैको आधारमा खान पक्राउ परेका हुन् । उनको अभिव्यक्तिले स्थानीय समुदायमा पनि चर्को आक्रोश फैलिएको थियो ।

पहलगाम नजिकैको बैसरन क्षेत्रमा भएको उक्त आतङ्कवादी हमलामा ती महिलाका श्रीमान्‌को ज्यान गएको थियो । सोही हमलामा नेपाली युवक सुदीप न्यौपानेको पनि मृत्यु भएको थियो । उनी बहिनी, बहिनी ज्वाइँ र आमासहित जम्मु–काश्मीर घुम्न गएका बेला आक्रमणमा परेका थिए । सुदीपको शव नेपाल ल्याएर अन्त्येष्टि भइसकेको छ ।

पछिल्लो अध्यावधिक: बैशाख १३, २०८२ १५:१९