close

एक जना विद्यार्थीमात्रै भर्ना भएपछि पूर्वाञ्चल विश्वविद्यालयको एआई कोर्स यस वर्ष पनि स्थगित

टेकपाना टेकपाना

पुस ११, २०८० १७:८

एक जना विद्यार्थीमात्रै भर्ना भएपछि पूर्वाञ्चल विश्वविद्यालयको एआई कोर्स यस वर्ष पनि स्थगित

काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयले यस वर्ष पनि ब्याचलर अफ टेक्नोलोजी इन आर्टिफिसियल इन्टेलिजेन्स (बी. टेक. इन एआई) को पढाइ स्थगित गरेको छ । विद्यार्थी सिट क्षमता ४८ भएको कोर्समा एक जना विद्यार्थी मात्र भर्ना हुन आएपछि उक्त कार्यक्रमको अध्यापन लगातार दाेस्राे वर्ष रोकिएको हो ।

विश्वविद्यालयले यस शैक्षिक कार्यक्रमको प्रवेश परीक्षा सम्बन्धी पहिलो पटक गत साउन ३२ गते सूचना प्रकाशित गरेको थियो । त्यस्तै असोज २६ गते दोस्रो सूचना निकाल्दै फारम भर्ने म्याद थप गरेको थियो । साथै मंसिर २४ गते पुन: प्रवेश परीक्षा सम्बन्धी सूचना निकाल्यो ।

तर पटकपटक म्याद थप्दा पनि विद्यार्थीहरू नआएपछि यस वर्ष पनि पठनपाठन रोक्नुपरेको विश्वविद्यालयकाे स्कुल अफ साइन्स एन्ड टेक्नोलोजीका निर्देशक नरेश शाहले बताए ।

“एक जना विद्यार्थी कक्षा सञ्चालन नभए ब्याचलर इन इन्फर्मेसन टेक्नोलोजी (बीआईटी) पढ्ने सर्तमा भर्ना हुन आएका थिए,” टेकपानासँगको कुराकानीमा निर्देशक शाहले भने, “तर कक्षा सञ्चालनका लागि आवश्यक पर्ने न्यूनतम विद्यार्थीहरू आएनन् । अन्त्यमा कार्यक्रम स्थगित गर्नुपर्‍याे ।” 

याे शैक्षिक कार्यक्रमको पर्याप्त प्रचारप्रसारको अभाव, उच्च शिक्षामाथि विद्यार्थीको घट्दो आकर्षण, विश्वविद्यालयको कमजोरी आदिका कारण कोर्स अध्ययन गर्न विद्यार्थी नआएकाे उनकाे विश्लेषण छ ।

“हामीले स्थानीय तथा राष्ट्रिय पत्रिकामा विज्ञापन गरेका थियौं । जुन यो कोर्स पढ्ने विद्यार्थीले हेर्ने सम्भावना कम हुन्छ,” उनले अगाडि भने, “आजभोलि हरेकले सामाजिक सञ्जाल प्रयोग गर्छन् । यहाँ पढाइ हुन्छ भन्ने कुरा विद्यार्थीले थाहा नपाएर पनि यस्तो अवस्था आएको हो ।” 

विश्वविद्यालयले पढाउन लागेको यो कोर्स विशिष्कृत छ । निर्देशक शाहको बुझाइमा त्यस्ता कोर्स पढ्ने विद्यार्थीहरू बाहिर (विराटनगर बाहेक अन्यत्र) जाने भएकाले स्थानीय रुपमा विद्यार्थीको अभाव भएको हो । स्थानीय स्तरमा धेरै विद्यार्थीले स्पेसलाइज्ड भन्दा जनरल विषय नै पढ्ने उनले धारणा राखे । स्थानीय विद्यार्थीहरूलाई स्पेसलाइज्ड कोर्सको महत्त्व बुझाउन विश्वविद्यालयले भूमिका खेल्न नसक्नु कमजोरी भएको उनले स्वीकारे । 

विश्वविद्यालयका फ्याकल्टी अफ साइन्स एन्ड टेक्नोलोजीका सहायक डीन मनोज कुमार हलुवाई पनि विद्यार्थी नपाउनुमा कोर्सको प्रचार गर्न नसक्नु र यसबारे विद्यार्थीलाई बुझाउन नसक्नु विश्वविद्यालयको कमजोरी भएको बताउँछन् ।

“कोर्स चलाउन कार्य डीन कार्यालयले र कलेजले काम गरेकै हुन् । तर दुई वर्षसम्म पनि कोर्स चलाउन नसक्नुमा हाम्रा केही कमिकमजोरी अवश्य नै छन्.” उनले भने, “तर पाठ्यक्रम र स्थानका कारण विद्यार्थी नपाएको भन्ने होइन । कोर्सबारे विद्यार्थी तथा अभिभावकलाई प्रष्ट पार्न नसक्दा हामीले विद्यार्थी नपाइरहेको भने हो ।”

यस विषयको पाठ्यक्रम अन्तर्राष्ट्रिय स्तरको भएको र बजारमा आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्न सक्षम रहेको उनको भनाइ छ । 

त्यस्तै आफूहरू पढाउन तयार भएता पनि बारम्बार विद्यार्थी अभावको कारण नै कार्यक्रम सञ्चालन गर्न नसक्दा फ्याकल्टी (शिक्षक समूह)मा निराशा आउन सक्ने निर्देशक शाह सुनाउँछन् ।

यस पटक कम्तीमा पाँच जना विद्यार्थी भर्ना भएको खण्डमा समेत पढाउन आफूहरू तयारी अवस्थामा हुँदा समेत कार्यक्रम सञ्चालन गर्न नसकेकाे उनले सुनाए ।

“धेरै विद्यार्थीहरूले भौतिक पूर्वाधार हेरेर भर्ना गर्ने गर्छन् । हाम्रोमा भौतिक पूर्वाधार पनि राम्रो छैन,” उनले भने, “लगातार दुई वर्षसम्म कार्यक्रम सञ्चालन गर्न नसक्दा कोर्समै समस्या हो कि भन्ने अर्थ पनि जान्छ ।” 

कुनै पनि कोर्स पढाए पछि मात्र कस्तो छ भन्ने कुरा थाहा हुने भएकाले एक पटक परीक्षण भएपछि यस्तो अवस्था नआउने उनले जनाए । “विश्वविद्यालयले सुरुमा बीसीए सुरु गर्दा पनि विद्यार्थी आएका थिएनन् । अहिले यसमा विद्यार्थीको अभाव छैन । हामीले पनि एक पटक एआई कोर्स चलाए विद्यार्थी नपाएर कार्यक्रम नै रोक्नु पर्ने थिएन ।”

विश्वविद्यालयले गत शैक्षिक वर्षदेखि स्कुल अफ साइन्स एन्ड टेक्नोलोजी (पीयूएसएटी) मा यो कोर्स अध्यापन गर्ने योजना राखेको थियो । उक्त वर्ष पनि विद्यार्थी भर्ना हुन नआएपछि विश्वविद्यालयले यसको पढाइ रोकेको थियो ।

पछिल्लो अध्यावधिक: पुस ११, २०८० १७:२४