close

ललितपुरमा प्रहरीले चलाएको गोली मोबाइलमा लाग्दा जोगियो एक जनाको ज्यान !

टेकपाना टेकपाना

पुस १३, २०८० १६:५५

ललितपुरमा प्रहरीले चलाएको गोली मोबाइलमा लाग्दा जोगियो एक जनाको ज्यान !

काठमाडौं । शुक्रवार कोरिया जान चाहने ईपीएसका परीक्षार्थी र प्रहरीबीचको झडपले ललितपुरमा उग्र रूप लिएको छ । ईपीएस परीक्षार्थीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेपछि उक्त घटनाबाट दुई जनाले ज्यान गुमाएका छन् ।

यद्यपि उनीहरूको निधन गोली लागेरै भएको हो वा होइन भन्ने विषयमा विभिन्न थरी समाचार आइरहेका छन् । मृतकहरूको ठेगाना, नाम र उमेरलाई लिएर पनि फरक फरक जानकारी आइरहेका छन् । 

यसैबीच सामाजिक सञ्जालमा मोबाइलले गोली छेक्दा एक जनाको ज्यान जोगिएको भन्दै त्यससँग सम्बन्धित भनिएका तस्वीर निकै भाइरल भइरहेका छन् । एउटा फोटोमा मोबाइलमा गोली लागेको भनिएको छ, जसमा डिस्प्ले क्र्याक भएको देखिन्छ । 

अर्को फोटोमा झोला छेडेर गोलीभित्र पसेको भनिएको छ । त्यस्तै अर्को फोटोमा फोनको पछाडिपट्टि गोली लागेको देखाइएको छ ।

“बालकुमारी आन्दोलनमा प्रदर्शनरत एकजना आन्दोलनकारीको मोबाइल फोनको कारण ज्यान जोगिएको छ । पिठ्यूमा बोकेको झोलाको खल्तीमा राखिएको मोबाइल फोनले उक्त गोली छेकेको हो,” एकजनाले फेसबुकमा लेखेका छन् । 

फोन कसको हो र ती ज्यान जोगिने व्यक्ति को हुन् भन्ने विषय पुष्टि भइसकेको छैन । यद्यपि यस्ता घटानाका क्रममा पुराना तथा असम्बन्धित फोटो भाइरल भइरहेका हुन्छन् । 

हामीले यो फोटो पुरानो वा सोही घटनाको हो भन्ने पुष्टि गर्न प्राविधिक तरिका अपनाएर हेरेका छौं ।

सबैभन्दा पहिले हामीले रिभर्स इमेज सर्च टुलको प्रयोग गर्‍यौं । बिङ, गुगल, यान्डेक्स तथा टिन आई जस्ता सर्च इन्जिनमा रिभर्स इमेज सर्च गरेर हेर्दा यी फोटो पहिले कतै शेयर नभएको देखियो । 

उस्तै शैलिका फोटो देखिए पनि त्यही फोटो भने अन्यत्र कतै भेटिएन । यदि पहिले नै शेयर भइसकेको फोटो रिभर्स इमेज सर्चमा खोज्दा विभिन्न टुलले उक्त फोटो कहाँ-कहाँ अपलोड भएको छ भन्ने स्रोत नै देखाइदिने गर्छन् । 

यो फोटोको सन्दर्भमा भने फोटो नयाँ भएकाले नभेटिएको हुनसक्छ । त्यसबाहेक भाइरल फोटोमा देखिएको डिभाइडरमा अङ्ग्रेजी अक्षर ‘Police’ र त्यसको माथि ‘री’ लेखिएको देख्न सकिन्छ । 

यसबाट यो फोटो नेपालकै हो भन्ने अनुमान गर्न गाह्रो पर्दैन । त्यस्तै ‘...री’ ‘प्रहरी’शब्द लेखिएको स्थानको अन्तिम तिरको भाग भएको अनुमान लगाउन सकिन्छ । 

हामीले डिभाइडरको अन्य फोटो हेर्दा बालकुमारी, ग्वार्को लगायतका क्षेत्रमा प्रयोग हुने डिभाइडरमा यही शैलीले लेखिएको भेटायौं ।  

त्यसभन्दा अगाडि बालकुमारी क्षेत्रमा रहेको बाटोको रेलिङ जस्तै रेलिङ देख्न सकिन्छ । आन्दोलन भइरहेको लाइभ भिडिओ हेर्ने हो भने पनि उक्त रेलिङ प्रत्यक्ष देख्न सकिन्छ । 

फोटोमा देखिने प्रायः सबैले ज्याकेट लगाएका छन् र, आज शुक्रवार दिउँसोको समयमा काठमाडौं उपत्यकामा १८ डिग्री सेल्सियस तापक्रम रहेको थियो । त्यस्तै गोली लागेको भनिएको फोनको पछाडिपट्टिको भाग हेर्दा छाप गोलीकै जस्तो देखिन्छ । 

त्यही फोटोमा पनि फोनको डिस्प्ले दोब्रिएको छ । तस्वीरमा देखिएका एक युवकले झोलामा प्वाल परेको देखाइरहेका छन् । त्यसैले भाइरल यी तीन ओटा फोटो आजकै हुन् भन्ने अनुमान लगाउन सकिन्छ । 

तीन फोटोको सम्बन्ध 

एउटा फोटोमा गोली लागेको भनिएको मोबाइल देखिएको छ, अर्कोमा गोली लागेको फोनको पछाडिको भाग देखाइएको छ भने तेस्राेमा झोलामा परेको प्वाल देखाइएको छ । 

ती तीन फोटोमध्ये दुई फोटोमा खैरो हुडी र सेतो जुत्ता लगाएका व्यक्ति देखिन्छन् । उही शैलीको जुत्ता र हुडीको कलरले ती दुई फोटो एकै ठाउँबाट लिइएको अनुमान लगाउन सकिन्छ । 

त्यस्तै फोन पछाडिपट्टिबाट देखाएको र झोलामा प्वाल परेको देखाइएको फोटोमा पनि झोला समातिरहेका युवक एउटै छन् । त्यसैले यी तीन फोटो अन्तरसम्बन्धित भएको अनुमान लगाउन सकिन्छ । 

फोनको डिस्प्ले हेर्दा गोली लागेको जस्तो देखिन्छ । त्यसमा अगाडिको टच र डिस्प्लेको बीच भाग बाहिर निस्किएको छ । अनि, बीचमा गोलीले प्वाल पारेको जस्तो देखिन्छ । 

सामान्य तरिकाले फोन खस्दा जसरी स्क्रिन क्रयाक भएको हुन्छ, तर फोटोमा उक्त डिस्प्ले छिन्नभिन्न भएको देखिन्छ । 

शंका गर्ने आधार !

फोटो त्यही ठाउँ र आजकै हो भन्ने देखिए पनि त्यही घटनाका उही तीन ओटा फोटो मात्र सामाजिक सञ्जालमा आइरहेका छन् । त्यहाँ फोटो खिच्नेहरूको भिड देखिए पनि तीन ओटा मात्र फोटो सामाजिक सञ्जालमा आउनुले केही शङ्का भने उत्पन्न गराउँछ । 

त्यस्तै फोटो भाइरल भइरहँदा अहिले (यो समाचार तयार पार्दासम्म) त्यस विषयमा कुनै भिडिओ सामग्री बाहिर आइसकेका थिएनन् । फोटो मात्र आउनु, तर भिडिओ नआउनुले पनि मोबाइलले छेक्दा गोली लाग्नबाट युवक जोगिएको भन्ने दाबी केही शंकास्पद जस्तो लाग्छ । 

यसबारे हामी थप अध्ययन तथा खोजी गरिरहेका छौं । थप तथ्य वा जानकारी फेला परेको खण्डमा यही समाचार सामग्रीमा अपडेट गरिनेछ । 

 

 

पछिल्लो अध्यावधिक: पुस १३, २०८० १६:५५