close

कलेज प्रोफाइल: सुविधा सम्पन्न अनि शान्त वातावरणमा अवस्थित कान्तिपुर इन्जिनियरिङ कलेज

टेकपाना टेकपाना

पुस १६, २०८० १३:५८

कलेज प्रोफाइल: सुविधा सम्पन्न अनि शान्त वातावरणमा अवस्थित कान्तिपुर इन्जिनियरिङ कलेज

 

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) बाट सम्बन्धन प्राप्त कान्तिपुर इन्जिनियरिङ कलेज सन् १९९८ मा स्थापना भएको हो । त्रिवि, इन्जिनियरिङ अध्ययन संस्थानबाट सम्बन्धन प्राप्त गर्ने मध्ये यो कलेज पुरानोमा गनिन्छ । 

मुख्य सहरभन्दा अलि टाढा शान्त वातावरणमा रहेको यो कलेज भौतिक पूर्वाधारमा पनि अब्बल छ । विशेष गरी यस कलेजमा स्नातक तहमा इन्जिनियरिङ विषयहरूको पढाई हुने गर्छ ।  जसमा सिभिल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ, इलेक्ट्रोनिक्स, कम्युनिकेसन एन्ड इन्फर्मेसन इन्जिनियरिङ रहेका छन् । 

आफूले चलाइरहेको कोर्स मध्ये कम्प्युटर इन्जिनियरिङ बढी सफल भएको कलेजका प्रिन्सिपल प्राडा केशव प्रसाईं बताउँछन् । तर विषयहरू सफल हुने क्रम भने दोहोरिरहने उनको भनाइ छ । 

“एक समय इलेक्ट्रोनिक्समा विद्यार्थीको चाप अत्यधिक थियो । सिभिलमा उस्तै थियो । अहिले विद्यार्थीको रुचि कम्प्युटरमा सरेको देखिन्छ,” उनी भन्छन् । 

तर नेपालमा केही भइरहेको छैन भन्ने भाष्य सिर्जना हुँदा युवाहरू स्नातक तह पढ्न नमानिरहेको उनको धारणा छ । धेरै जना त्यही मिथ्या सूचनाले विदेश जान बाध्य भइरहेको उनी सुनाउँछन् । 

“उनीहरू विदेश जाँदा सपना ठूलो हुन्छ, तर त्यहाँ यस्तो आर्थिक समस्या हुन्छ कि विद्यार्थीले लिन चाहेको डिग्री हासिल गर्न सक्दैन,” उनी भन्छन, “यस्तो अवस्था आउन नदिन कम्तिमा स्नातक तह नेपालमै सकेर विदेशमा जाँदा राम्रो हुन्छ ।”

 

 

आईटी काेर्ष

१. बीई इन कम्प्युटर इन्जिनियरिङ

यो चार वर्षे ब्याचलर डिग्री हो । यसमा सफ्टवेयर तथा हार्डवेयर डेभलप, डिजाइन, इन्टिग्रेसन आदिको पढाइ हुन्छ । सँगसँगै यसमा इलेक्ट्रिकल एन्ड इलेक्ट्रोनिक्स इन्जिनियरिङका केही विषयहरूको समेत अध्यापन हुन्छ । 

कलेजले सन् २००० बाट यो कोर्स पढाउन सुरु गरेको हो । कलेजमा यो कोर्सको विद्यार्थी क्षमता ४८ रहेको छ । 

कोर्सबारे थप बुझ्न यहाँ क्लिक गर्नुहोस् ।


२. बीई इन इलेक्ट्रोनिक्स, कम्युनिकेसन एन्ड इन्फर्मेसन इन्जिनियरिङ

यो पनि चार वर्षे कोर्स हो । पहिले यो कोर्सलाई इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इन्जिनियरिङ नामले चिनिन्थ्यो । 

तर २०१८ देखि यसमा ‘इन्फर्मेसन’ थपेर इलेक्ट्रोनिक्स, कम्युनिकेसन एन्ड इन्फर्मेसन इन्जिनियरिङ बनाइएको छ । यो कोर्स हार्डवेयर, कम्युनिकेसन र कम्प्युटर इन्जिनियरिङको मिश्रण हो । 

यसमा  विद्युतीय उपकरण, इलेक्ट्रोनिक कम्पोनेन्ट र सञ्चार प्रणालीबारे पढाइ हुन्छ । कलेजले सन् २००२ देखि यो कोर्स पढाउन थालेको हो । हाल यसमा विद्यार्थी क्षमता भने ४८ रहेको छ । यो कोर्सबारे थप बुझ्न यहाँ क्लिक गर्नुहोस् । 


 

नन् आईटी कोर्सः सिभिल इन्जिनियरिङ

कलेजले आफ्नो स्थापनाकालसँगै यो कोर्स पढाउन थालेको हो । कलेजमा यस कोर्सको विद्यार्थी क्षमता पनि बढी छ । यहाँ एक शैक्षिक सत्रमा ९८ जना विद्यार्थीले यो विषय पढ्न पाउँछन् । 

कलेजले यी विषय बाहेक ब्याचलर इन आर्किटेक्चर र बीई इन इलेक्ट्रिकल इन्जिनियरिङ पढाउने समेत तयारी गरेको छ ।

 

भर्ना र छात्रवृत्ति

कुनै पनि विद्यार्थी यस कलेजमा भर्ना हुन इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले सञ्चालन गर्ने प्रवेश परीक्षामा उत्तीर्ण हुनु अनिवार्य छ । त्यसपछि उक्त प्रवेश परीक्षा उत्तीर्ण विद्यार्थीहरूलाई कलेजले मेरिटका आधारमा भर्ना लिने गर्छ । 

भर्ना हुने मध्ये १० प्रतिशत विद्यार्थी छात्रवृत्तिका लागि योग्य हुन्छन् । जसमा प्राय: सरकारी विद्यालयबाट एसईई उत्तीर्ण, सेमेस्टरमा उत्कृष्ट हुने विद्यार्थी पर्छन् ।

 

विद्यार्थीलाई सुविधा

कलेजले विद्यार्थीलाई पाठ्यक्रममा मात्र केन्द्रित नगराएर अनुसन्धानको क्षेत्रमा पनि सहभागी गराइरहेको छ । यसका लागि अटोमेसन ल्याब, रिसर्च ट्रेनिङ एन्ड कन्सल्टेन्सी डिभिजन जस्ता विभागहरू सञ्चालन गरिएका छन् । 

अनुसन्धानमा सहयोग गर्न एउटा ब्याचका दुई समूहलाई बढीमा ४० हजार रुपैयाँसम्म अनुदान दिने गरी कलेजले तयारी थालेको छ । त्यस्तै विद्यार्थीहरूले गरेका अनुसन्धानलाई विश्व माझ पुर्‍याउन द इन्टरनेसनल जर्नल अन इन्जिनियरिङ (इन्जेट) नामक जर्नलको प्रकाशन थालनी भएको छ । 

यसबाहेक कलेजका अघिल्लो तहका विद्यार्थीले तल्लो तहका विद्यार्थीलाई विभिन्न तालिम दिने गरेका छन् । जुन कलेजको संस्कार बन्दै गइरहेको छ । 

यी बाहेक विद्यार्थीको हितका लागि विभिन्न कम्पनीहरूसँग सहकार्य गर्ने, केईसी कन्फ्रेन्स गर्ने, विद्यार्थीले तयार पारेका परियोजनाको प्रदर्शनी गर्ने जस्ता गतिविधि पनि कलेजमा भइरहेका हुन्छन् । 

 

शब्दचित्रमा कलेज

कलेज नाम : कान्तिपुर इन्जिनियरिङ कलेज

स्थापना: सन् १९९८

सम्बन्धन: त्रिभुवन विश्वविद्यालय

व्यवस्थापन समिति: ई रामेश्वर रिजाल, ई पेम्बा छिरिङ भोटे, डा ई ताराप्रसाद पोखरेल, डा ई सुनिलकुमार पोखरेल, कृतिकुमारी महतो

प्रिन्सिपल: प्राडा केशव प्रसाईं 

विद्यार्थी संख्या: ७०० बढी

शिक्षक/कर्मचारी संख्या: १०० बढी 

 

सम्पर्कः

वेबसाइट: https://kec.edu.np/ 

टेलिफाेन: ०१ ५२२९२०४/०१ ५२२९००५

ईमेल: [email protected]

ठेगाना: धापाखेल, ललितपुर

पछिल्लो अध्यावधिक: पुस १६, २०८० १३:५८