close

चर्चामा आएको डेढ वर्षमा पनि नेपालमा सुरु भएन शार्क ट्याङ्क, के होला कारण ?

टेकपाना टेकपाना

पुस १८, २०८० १७:५०

चर्चामा आएको डेढ वर्षमा पनि नेपालमा सुरु भएन शार्क ट्याङ्क, के होला कारण ?

 

काठमाडौं । स्टार्टअप व्यवसाय प्रवर्द्धन गर्ने र त्यसमा लगानी भित्र्याउने कार्यक्रमका रूपमा परिचित 'शार्क ट्याङ्क' को नेपाली संस्करण चर्चाबाट बाहिरिएको छ । शार्क ट्याङ्क नेपाल सुरु हुने भन्दै चर्चा सुरु भएको डेढ वर्ष बितिसक्दा पनि उक्त कार्यक्रम सञ्चालनमा आउन सकेको छैन ।  

विश्वका विभिन्न देशमा चलिरहेको यो टेलिभिजन कार्यक्रम नेपालमा हिमालय टेलिभिजनले फ्रेन्चाइज लिएर प्रसारण गर्ने बताइएको थियो । त्यही समयमा यही कार्यक्रमका लागि छुट्टै फेसबुक पेज पनि खोलिएको थियो । ११ सेप्टेम्बर २०२० मा (२६ भदौ २०७७) ‘शार्क ट्याङ्क नेपाल’ नामको छुट्टै फेसबुक पेज खोलेपछि शार्क ट्याङ्क सम्बन्धी विभिन्न कार्यक्रमको जानकारी त्यही पेजबाट आइरहेका थिए । 

अहिले पनि शार्क ट्याङ्क नेपालको फेसबुक पेज हेर्ने हो भने सो पेज खोलेको तीन महिनापछि (२९ डिसेम्बर २०२०) सो कार्यक्रम छिट्टै हिमालय टेलिभिजनमा प्रसारण हुने भन्दै चर्चा गरिएको देखिन्छ । त्यसपछिका दिनमा सो पेजबाट क्रमशः शार्क ट्याङ्क र त्यस कार्यक्रमका बारेमा तयार पारिएको पोस्टरहरू पोस्ट भइरहे । विशेषगरी शार्क ट्याङ्क भनेको के हो, शार्क ट्याङ्कमा सहभागी हुन न्यूनतम आवश्यकता के हो, शार्क ट्याङ्कमा लगानीकर्ता को भएको हेर्न चाहनुहुन्छ, कस्ता व्यवसाय सहभागी भएको हेर्न चाहनुहुन्छ जस्ता प्रश्न सोधिएको थियो ।

यसरी पेजमा पटक पटक शार्क ट्याङ्क छिट्टै आउँदैछ भन्दै पोस्ट तथा भिडिओ पनि सार्वजनिक भए । तीमध्ये एक पोस्टमा पहिलो सिजनमा १०० जना उद्यमीले शार्कहरूमाझ प्रस्तुती दिन पाउने उल्लेख छ । 

उक्त पेज हेर्ने हो भने सबैभन्दा पहिले २८ जनवरी २०२२ (१४ माघ २०७९) मा एक पोस्टमार्फत शार्क ट्याङ्कका लागि आवेदन फागुन २०७९ मा खुल्ने बताइएको देख्न सकिन्छ । त्यसलगत्तै २३ मे २०२२ (९ जेठ २०७९) मा सो पेजबाट आवेदन खुलेको औपचारिक घोषणा गरियो । र, हरेक दिनजसो शार्क ट्याङ्कका लागि आवेदन दिने लिङ्क सहितको पोस्ट सार्वजनिक हुन थाले । मे २०२२ देखि जनवरी २०२३ सम्म आवेदन दिने लिङ्कसहित पोस्ट भइरहे । 

त्यही बीचमा शार्क ट्याङ्क इन्डियाका शार्क अमन गुप्ता, नमिता थापर, अनुपम मित्तल र विनिता सिंहले भिडिओमार्फत नेपालमा छिट्टै शार्क ट्याङ्क सुरु हुन लागेको भन्दै सहभागी हुन प्रेरित गरेका थिए । तर, दुई महिनायता उक्त पेजमा नयाँ पोस्ट नै भएका छैनन् । सामाजिक सञ्जालमा नयाँ पोस्ट नआएपछि सहभागीहरू कार्यक्रम हुन/नहुनेमा द्विविधामा परेका छन् । 

“स्टार्टअपको विभिन्न कार्यक्रममा जाँदा शार्क ट्याङ्क नेपालको मान्छेहरू भेटिनु हुन्थ्यो, उहाँहरूले भनेपछि मैले आवेदन दिएको थिए,” फुड डेलिभरी कम्पनी भोजमान्डुका संस्थापक सुनिल यादव भन्छन्, “लगानी पाइन्छ, मार्केटिङ हुन्छ, धेरै कुराहरू सिक्न पाइन्छ भनेर सहभागी हुन खोजेको । खै ! डेढ वर्ष हुन लागिसक्यो, अहिले गुमनाम छ ।” 

शार्क ट्याङ्क नेपालमा आवेदन दिइसकेपछि उनी अन्य स्टार्टअप कार्यक्रममा पनि सहभागी भए । हालै सम्पन्न भएको आईसीटी स्टार्टअप अवार्डमा उनको कम्पनी शीर्ष पाँच स्टार्टअपमा पर्न सफल भएको थियो ।

भारतको शार्क ट्याङ्क हेर्दा उत्साहित भएका यादव नेपालमा आउँदा पनि दङ्ग थिए । त्यसैले उनले आफ्ना नजिकका साथीहरूलाई पनि उक्त कार्यक्रममा आवेदन दिन सुझाव दिएका थिए । भन्छन्, “अहिले त शार्क ट्याङ्कको कसैसँग कुरा पनि हुँदैन । उहाँहरूले पनि कही केही अपडेट गर्नु भएको छैन । डेढ वर्षअघि छिट्टै आउँछ भनेको कार्यक्रम अहिलेसम्म पनि नआउँदा त्यस कार्यक्रमप्रतिको उत्साह हराएको छ ।”

त्यस्तै ‘ओके जर्नी’का संस्थापक राजेश दास पनि शार्क ट्याङ्क नेपाल गुमनाम हुँदा चिन्तित छन् । “ब्रान्डिङ हुन्छ, नेटवर्किङ बढ्छ, लगानी आउँछ भन्ने आशाले आवेदन दिएको थिएँ,” दास भन्छन्, “तर, खै आउँछ जस्तो लाग्दैन । न मेलको रेस्पोन्स आएको छ, न कुनै जानकारी नै ।” शार्क ट्याङ्कको आशामा बस्नुभन्दा पनि आफ्नो स्टार्टअप आफैंले वृद्धि गर्नुपर्ने भन्दै त्यतातर्फ केन्द्रित नभएको उनी  सुनाउँछन् । 

यस विषयमा हामीसँग कुरा गर्दै शार्क ट्याङ्कका एक प्रतिनिधिले नेपालमा कार्यक्रम सुरू नहुनुकाे पछाडिकाे कारण आर्थिक मन्दी र नेपाल राष्ट्र बैंकको अडान रहेकाे हुनसक्ने बताए । “कार्यक्रम सञ्चालन नहुनुकाे कारण नेपालमा अहिले भइरहेको आर्थिक मन्दी र नेपाल राष्ट्र बैंकले ठूलो लगानी एउटै भेन्चरमा गर्न नदिने भन्ने कुरामा विवाद भएर भन्ने छ । तर, यही नै हो भन्न सकिंदैन,” उनले भने ।

कार्यक्रम तत्कालै सञ्चालनमा आउन नसक्नुकाे एउटा कारण आर्थिक मन्दी भएकाे शार्क ट्याङ्क नेपालका निर्देशक सिमोश सुनुवारले स्वीकारे । आर्थिक मन्दीकै कारण पर्याप्त स्पोन्सरशिप नआउँदा कार्यक्रम होल्ड भएको उनको भनाइ छ । “देशमा लागेको आर्थिक मन्दी पनि यो कार्यक्रम समयमै नआउनुको एउटा कारण हो । पहिले सबै रेडी भइसकेको थियो, लकडाउनका कारण पनि तलमाथि भयो,” उनले भने, “ठूलो कार्यक्रम हुने भएकाले धेरै कुराहरू मिल्नुपर्ने हुन्छ । हामीले शार्कहरू पनि फाइनलाइज गरेका थियौं । स्पोन्सरशिप मिल्नुपर्छ, सबैको टाइमिङ मिलाएर एकैपटक राख्नुपर्ने हुन्छ । त्यो नमिल्दा कार्यक्रम होल्ड भएको हो ।”

यो वर्ष (सन् २०२४) जसरी पनि ‘अन-एयर’ (प्रसारण) गर्ने टिमको तयारी रहेको सुनुवारले बताए । “धेरै ग्याप भएकाले बजारमा कति व्यवसाय आइसकेका छन्,” उनले थपे, “त्यसैले पुनः आवेदन खुलाउने तयारी भइरहेको छ । आइडियाको कपिराइटको सन्दर्भमा पनि टेलिभिजनले काम गरिरहेको छ ।”

टिमले कार्यक्रमको सेट तयार गर्ने, प्रचार गर्ने लगायत अन्य विविध प्राविधिक कामका लागि ठूलो लगानी गरिसकेकाले कार्यक्रम नआउने भन्ने नभएको उनी बताउँछन् । राष्ट्र बैंक र अर्थ मन्त्रालयसँगको विवादबारे भने आफू जानकार नभएको उनले उल्लेख गरे ।

सुनुवारका अनुसार औपचारिक रूपमा कार्यक्रम कहिले प्रसारण हुन्छ भन्ने विषय टेलिभिजनले नै घोषणा गर्नेछ ।

पछिल्लो अध्यावधिक: पुस १८, २०८० १७:५०