काठमाडौं । कोरियाली प्रविधि कम्पनी सामसङले विश्वकै पहिलो पारदर्शी माइक्रोएलईडी स्क्रिन ल्याएको छ । कम्पनीले भोलि मङ्गलवारदेखि अमेरिकाको लस भेगासमा सुरु हुने कन्जुमर इलेक्ट्रोनिक्स शो (सीईएस) को फर्स्ट लुक कार्यक्रम मार्फत पारदर्शी माइक्रोएलईडी डिस्प्ले प्रस्तुत गरेको हो ।
तर कम्पनीले यो स्क्रिनको मूल्य कति पर्न आउँछ र यो प्रविधि कहिलेबाट बजारमा उपलब्ध हुन्छ भन्ने विषयमा केही बताएको छैन । कार्यक्रमका क्रममा सामसङले केही फरक डिजाइनमा तीन ओटा छुट्टाछुट्टै पारदर्शी माइक्रो एलईडी डिस्प्ले राखेको थियो ।
डेमोको रूपमा राखिएका दुई ओटा युनिटमा प्यानलको पछाडि भागमा आउने कुनै पनि सम्भावित चिजबिजलाई बेवास्ता गर्न सजिलो हुने गरी रङ्ग्याइएको सिसा राखिएको छ । अर्को स्क्रिन भने फ्रेम बिनाको डिजाइनसहित नियमित पारदर्शी सिसाको जस्तो छ ।
शाब्दिक रूपमा सामसङको पारदर्शी माइक्रो ओएलईडी डिस्प्लेको विषयमा व्याख्या गर्न गाह्रो छ । यसमा देखिने सामग्री हावामा तैरिएको जस्तो लाग्छ ।
अर्को भनेको माइक्रो एलईडीमा पिक्सेल डेन्सिटी (पिक्सेलको घनत्व) धेरै हुने भएकाले पिक्चर क्वालिटी (दृश्यको गुणस्तर) निकै शार्प किसिमको अनुभूत हुन्छ ।