close

७४ जिल्लामा टेलिकमको एफटीटीएच विस्तार, अब हुम्ला, मुगु र डोल्पामा पुग्न बाँकी

टेकपाना टेकपाना

पुस २६, २०८० ९:६

७४ जिल्लामा टेलिकमको एफटीटीएच विस्तार, अब हुम्ला, मुगु र डोल्पामा पुग्न बाँकी

काठमाडौं । नेपाल टेलिकमको फाइबर टु द होम (एफटीटीएच) सेवा ७४ जिल्लामा विस्तार भएको छ । बुधवारदेखि रुकुमपूर्वमा सेवा सञ्चालनमा आएसँगै एफटीटीएच ७४ जिल्लामा पुगेको हो ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सिहंदरबारस्थित मन्त्रालयबाटै रुकुम पूर्वको रूकुमकोट र रुकुमपश्चिमको मुसीकोटमा एफटीटीएच नेटवर्क वितरणको भर्चुअल सुरुवात गरिन् । यसबाट ग्राहकले द्रूतस्तरको इन्टरनेट, फोन र टेलिभिजन हेर्ने सुवधा प्राप्त गर्ने बताइएको छ ।

रुकुमपश्चिमको चौरजहारी र आठबिसकोटमा यसअघि नै एफटीटीएच सेवा विस्तार गरिए पनि रुकुमपूर्व भने यो सेवा विस्तार हुने नयाँ जिल्लाको रुपमा थपिएको हो । अब कर्णालीका हुम्ला, मुगु र डोल्पामा अप्टिकल फाइबर पुग्न बाँकी छ ।

नेपाल टेलिकमले चालू आर्थिक वर्षभित्र थप दुई जिल्ला मुगु र डोल्पामा एफटीटीएच सेवाको पहुँच विस्तार गर्ने योजना वार्षिक कार्यक्रममै राखेको छ ।

सल्यानबाट करिब १०० किलोमिटर अप्टिकल फाइबर तानेर मुसीकोटहुँदै रुकुमकोटसम्म पुर्‍याएर दुवै जिल्लाका सदरमुकाममा एकैसाथ सेवा आरम्भ गर्न सफल भएकोमा मन्त्री शर्माले नेपाल टेलिकम तथा यस कार्यमा निरन्तर खट्ने कर्मचारी र प्राविधिकहरुलाई मन्त्री धन्यवाद दिइन् । 

सरकारले सूचना प्रविधिको विकास र प्रयोगलाई उच्च प्राथमिकतामा राखेको जानकारी दिँदै उनले पछिल्लो समयमा भूकम्पबाट प्रभावित रुकुमपश्चिम, जाजरकोटलगायत १९ जिल्लामा नमूना सेवा पुर्‍याउने जिल्लाको रुपमा अभियान थालिएको जानकारी दिइन् ।

पछिल्लो अध्यावधिक: पुस २६, २०८० ९:६