close

एआई टुलबाट कोडिङ सिक्न चाहनुहुन्छ ? यसो गर्नुहोस्

टेकपाना टेकपाना

पुस २७, २०८० १६:२९

एआई टुलबाट कोडिङ सिक्न चाहनुहुन्छ ? यसो गर्नुहोस्

 

काठमाडौं । केही वर्षयता एआईले विभिन्न क्षेत्रहरूको विकासका लागि महत्त्वपूर्ण भूमिका खेलिरहेको छ । उदाहरणका लागि च्याटजीपीटी । यो एउटा एआई प्रविधि हो, यसले न्याचुरल ल्याङ्ग्वेज प्रोसेसिङको क्षेत्रलाई विकास गर्न ठूलो भूमिका खेलिरहेको छ ।

यसले लेख/कथा/कविता लेख्ने, पाठलाई सारांश गर्ने जस्तका काम गर्न सक्छ । यद्यपि च्याटजीपटीलाई कोड लेख्न समेत प्रयोग गर्न सकिन्छ, जसले सिकारु प्रोग्रामरहरूलाई धेरै सजिलो बनाएको छ । 

अहिले च्याटजीपीटीबाहेक बार्ड, माइक्रोसफ्ट बिङ (कोपाइलट) लगायतका विभिन्न लार्ज ल्याङ्ग्वेज मोडेल (एलएलएम)बाट समेत कोड लेख्न सकिन्छ । आज हामी तपाईंलाई एलएलएम अर्थात् एआई टुल प्रयोग गरी कोड लेख्न सिक्ने तरिकाबारे जानकारी दिने छौं:

कोड लेख्न च्याटजीपीटी जस्ता एआई टुल

कुरा गरौं, च्याटजीपीटीबाट । ओपनएआईले जीपीटी ३.५ र जीपीपी ४ मा आधारित भएर बनाएको एउटा एआई ल्याङ्ग्वेज मोडेल हो, च्याटजीपीटी । मान्छेले जस्तै टेक्स्ट तयार पार्न यसले डीप लर्निङलाई प्रयोग गर्ने गर्छ । प्राकृतिक प्रतिक्रिया (मान्छेले जस्तै दिने प्रतिक्रिया) का कारण च्याटजीपीटी परिचित छ । 

छोटो समयमा नै चर्चित भएपछि अहिले विभिन्न कम्पनी तथा देशहरूले योसँग प्रतिस्पर्धा गर्न उस्तै प्रकृतिको एआई मोडेल बनाउन लागि परेका छन् । त्यही प्रतिक्रिया स्वरूप गुगलका बार्ड, माइक्रोसफ्ट कोपाइलट सतहमा आएका हुन् । यिनबाट पनि च्याटजीपीटीले जस्तै काम गर्न ‍सकिन्छ ।

यद्यपि यी टुलहरूलाई कोड लेख्न नै तयार पारिएका भने होइनन् । तर मसिन लर्निङ एल्गोरिदम प्रयोग गरेर यी टुलले कोड लेख्न सहयोग गर्न भने सक्छन् । जस्तो; च्याटजीपीटीले कोड स्निपेट (पुन: प्रयोग गर्न मिल्ने सोर्स कोड, मसिन कोड वा टेक्स्टको सानो भाग) विश्लेषण गरेर कोड बुझ्न सक्छ । प्राप्त गरेको इनपुटको आधारमा नयाँ कोड तयार पार्न सक्छ ।

कोड लेख्नको लागि यस्ता एआई टुल प्रयोग गर्नु सरल छ । तपाईंले केको कोड लेख्न चाहनु भएको हो, त्यसबारे प्रम्प्ट वा विवरण लेख्नुपर्छ । ती एआई टुलले तपाईंले दिनुभएको प्रम्प्टको विश्लेषण गर्ने काम गर्छ । तत्पश्चात त्यसको आधारमा विवरणसँग मिल्ने कोड स्निपेट तयार पार्छ । झट्ट हेर्दा यो काम सजिलो देखिएपनि तपाईंले निम्न तरिका अपनाउनु पर्ने हुन्छ:​

प्रोग्रामिङ ल्याङ्ग्वेजको छनोट

प्राय: यस्ता एआई टुलले विभिन्न प्रोग्रामिङ ल्याङ्ग्वेजका कोड लेख्न सक्छन् । जसमा पाइथन, जाभा, जाभास्क्रिप्ट लगायतका प्रोग्रामिङ ल्याङ्ग्वेज पर्छन् ।

तिनैमध्ये कुनै एउटा छानेर आफ्नो प्रम्प्टमा राख्न सक्नुहुन्छ । प्रोग्रामिङ ल्याङ्ग्वेजबारे थप बुझ्न यहाँ क्लिक गर्नुहोस् ।

प्रम्प्ट तयार

सामान्य रूपमा बुझ्दा एआई टुलमार्फत आफूले तयार पार्न लागेको विषयको विवरण नै प्रम्प्ट हो । यसलाई मानवीय बोलीचालीका भाषा (बढीजसो अङ्ग्रेजी) मा लेख्ने गरिन्छ ।

यसमा आफूले तयार पार्न लागेको कोड स्निपेटले के गर्छ भनेर लेख्नुपर्ने हुन्छ । जस्तो; हिसाब सम्बन्धी कोडका लागि ‘अङ्कहरू जोड्ने र घटाउनेबारे कोड तयार पार’ ।

जेनेरेट कोड  

तयार पारेको प्रम्प्ट राखिसकेपछि एआई टुलले तिनैमा आधारित भएर कोड स्निपेट तयार पार्छ । जस्तै: यी माथिका सबै तरिकालाई एकमुस्ट लेख्दा प्रम्प्ट यस्तो हुन सक्छ, ‘जाभामा आधारित भएर जोड/घटाउ गर्न मिल्ने क्यालकुलेटर तयार पार’ । (write a code for addition/subtraction calculator based on Java) अब यसरी तयार हुने कोडलाई कपि गरेर तपाईंले आफ्नो परियोजनामा लान सक्नुहुन्छ । 

तर कतिपयले यी प्रक्रिया अपनाए पनि आफूले चाहेको जस्तो कोड तयार पार्न सक्दैनन् । यसको कारण राम्रो प्रम्प्ट लख्न नसक्नु हो । यदि यस्तो समस्या भए आफूले चाहेको कोड तयार पार्न प्रोम्प्ट लेख्दा निम्न तरिका अपनाउन सक्नुहुन्छ: 

प्रम्प्टलाई सरल बनाउनु 

जब हामी जेनेरेटिभ एआईबाट कुनै पनि सामग्री तयार पार्ने कुरा गर्छौं, त्यसमा प्रमुख भूमिका प्रम्प्टको हुन्छ । त्यसैले तपाईंले के तयार पार्न चाहनुभएको छ त्यसको स्पष्ट र सङ्क्षिप्त व्याख्या गर्नु महत्त्वपूर्ण छ ।

एआई टुललाई भूमिका दिनु 

कहिलेकाहीँ एआई टुललाई व्यक्तित्वबारे बताउँदा आफूले चाहेको उत्तर पाउन सकिन्छ । जस्तै; प्रम्प्टमा तपाईं 'विश्वविख्यात प्रोग्रामर' '१० वर्ष कामको अनुभव भएको सफ्टवेयर इन्जिनियर' जस्ता विशेषतालाई आफनो प्रम्प्टमा घुसाउन सक्नुहुन्छ । 

कोडिङ र एआई टुलको आधारभूत ज्ञान

तपाईंको प्रम्प्ट जतिसुकै राम्रो भएपनि कोडिङको आधारभूत ज्ञान भएन भने समस्या हुन सक्छ । साथै त्यस्ता च्याटबटले कसरी काम गर्छन् भनेर पनि बुझ्नु जरुरी छ । यसो हुँदा तपाईंले तिनमा अझ राम्ररी काम गर्न सक्नुहुन्छ । 

धैर्य गर्नु  

यी च्याटबटहरू बजारमा आएको खासै धेरै समय भएको छैन । कतिपय त विकासको चरणमा नै छन । यसकारण  यिनबाट तयार हुने कोड तपाईंले चाहेको जस्तै नहुन सक्छ ।

यसकारण बरु फरक-फरक प्रम्प्टमा उही काम गराउन सक्नुहुन्छ । अथवा आफैंले उदाहरण दिएर कोड तयार पार्न सक्नुहुन्छ । यसो गर्दा केही समय लाग्न सक्छ । त्यो धैर्यता भने तपाईँमा हुनु आवश्यक छ ।

पछिल्लो अध्यावधिक: पुस २७, २०८० १६:२९