close

इन्टरनेट व्यवसायीलाई अनावश्यक दुःख दिने कार्यले डिजिटल नेपाल बन्दैनः क्यान महासंघ

टेकपाना टेकपाना

पुस २८, २०८० ९:३५

इन्टरनेट व्यवसायीलाई अनावश्यक दुःख दिने कार्यले डिजिटल नेपाल बन्दैनः क्यान महासंघ

काठमाडौं । कम्प्युटर एसोसिएन नेपाल (क्यान) महासंघले इन्टरनेट व्यवसायीलाई खुलेर काम गर्ने वातावरण तयार पारिदिन सरकारसँग अनुरोध गरेको छ । एक विज्ञप्ति जारी गर्दै महासंघले इन्टरनेट ब्यान्डविथको भुक्तानीका लागि विदेशी मुद्रा सटही रोकिँदा सेवा नै बन्द हुने अवस्था आएकाले सरकारलाई लचिलो बन्न अनुरोध गरेको हो ।

नेपालमा सञ्चालित इन्टरनेट र सूचना सञ्चार प्रविधि (आईसीटी) व्यवसायलाई अनावश्यक दुःख र दबाब दिने कार्यले डिजिटल नेपालको आकांक्षा पूरा हुन नसक्ने महासंघको ठहर छ । 

''नेपालमा अन्तर्राष्ट्रिय ब्यान्डविथ भित्र्याएबापत भारतीय अपस्ट्रिम प्रदायकलाई करिब १० महिनायता इन्टरनेट सेवाप्रदायकले भुक्तानी गर्न पाएका छैनन् । भुक्तानीका लागि अपस्ट्रिम प्रदायकबाट बारम्बार ताकेता भएपनि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विदेशी मुद्रा सटहीमा सिफारिस नगरिदिँदा इन्टरनेट सेवा सम्बध व्यवसायी मारमा परेका छन्,'' महासंघको विज्ञप्तिमा भनिएको छ, ''यसको प्रत्यक्ष असर आमउपभोक्तामा र देशको समग्र अर्थतन्त्रमै पर्ने देखिन्छ ।''

मन्त्रालय र इन्टरनेट सेवाप्रदायकबीच अहिले चलिरहेको मर्मत सम्भारको शुल्कमा रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) दस्तुर विवाद आपसी छलफलबाटै टुङ्ग्याउनु उचित हुने क्यान महासंघको तर्क छ ।

''सरकार र इन्टरनेट व्यवसायीबीच यसअघि भएका सहमतिहरू अदालतको निर्णय, संशोधित दूरसञ्चार नियमावली र ऐनले गरेका व्यवस्थालाई आधार मानी याे विवादकाे निकास दिनुपर्छ,'' क्यान महासंघका अध्यक्ष रणजीत कुमार पोदारले भने ।

नेपालको इन्टरनेट सेवा उद्योगमा उचित व्यवसायिक वातावरण सिर्जना गर्ने र हाल देखिएका जटिलताको अन्त्य गर्ने दायित्व सरकारकै भएको महासंघको भनाइ छ ।

पछिल्लो अध्यावधिक: पुस २८, २०८० ९:३५