close

सुदूरपश्चिम प्रदेशमा प्राविधिक विश्वविद्यालय खोल्न प्रारम्भिक प्रक्रिया सुरु

टेकपाना टेकपाना

पुस २८, २०८० १३:१५

सुदूरपश्चिम प्रदेशमा प्राविधिक विश्वविद्यालय खोल्न प्रारम्भिक प्रक्रिया सुरु

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले आफ्नै प्राविधिक विश्वविद्यालय बनाउने कार्यलाई अगाडि बढाएको छ । विश्वविद्यालय स्थापना सम्बन्धी कानून, संरचना निश्चित गर्न डा. लवदेव अवस्थीको संयोजकत्वमा तीन सदस्यीय कार्यदल समिति गठन गरेको छ ।

प्रदेश सरकारले गत पुस ६ गते मन्त्रिपरिषद् स्तरीय बैठकबाट उक्त समिति गठन गरेको हो । समितिमा अधिवक्ता हरिराम श्रीपाइली र सामाजिक विकास मन्त्रालयका निमित्त सचिव गणेशबहादुर सिंह सदस्य रहेका छन् ।

उक्त समितिले प्रदेश सरकार अन्तर्गतका स्थानीय पालिका, उद्योग वाणिज्य संघ, शिक्षा विज्ञ तथा सरोकारवालासँग राय, सल्लाह, सुझाव लिइरहेको संयाेजक डा. अवस्थीले बताए ।

उनका अनुसार यस समितिले विश्वविद्यालयको ऐन बनाउने, विश्वविद्यालयको संरचना, आर्थिक स्रोत निश्चित गर्ने, विश्वविद्यालयको स्थान यकिन तथा जग्गा प्राप्ति सम्बन्धी कार्य गर्ने तथा अन्य व्यवस्थापकीय कार्यमा सरकारलाई सहयोग गर्नेछ ।

समितिले ४५ दिनपछि आफ्नो रिपोर्ट बुझाउने बताइएकाे छ ।

सुदूरपश्चिम प्रदेश सरकारले प्राविधिक विश्वविद्यालय बनाउन आर्थिक वर्ष २०७६/७७ देखि नियमित रकम विनियोजन गर्दै आएको छ । विश्वविद्यालयको सम्भाव्यता अध्ययन गर्न सरकारलाई दुई ओटा समितिले रिपोर्ट समेत बुझाइसकेका छन् ।

पछिल्लो अध्यावधिक: पुस २८, २०८० १३:२०