close

मानिसको फिङ्गगरप्रिन्ट भिन्न भिन्न नहुने एआईको दाबी !

टेकपाना टेकपाना

पुस २८, २०८० १७:४८

मानिसको फिङ्गगरप्रिन्ट भिन्न भिन्न नहुने एआईको दाबी !

 

काठमाडौं । हामीबीच एउटा मान्छेको हातमा भिन्नभिन्न औंठाछाप हुने विश्वास छ । तर आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरी कोलम्बिया विश्वविद्यालयले हालै गरेको अनुसन्धानले फरक नतिजा दिएको छ ।

विश्वविद्यालयका अनुसन्धानदाताले औंठाछापहरूको समानता पत्ता लगाउन एआई टुललाई तालिम दिएका थिए । त्यसबाट उनीहरूले ६० हजार औंठाछापको परीक्षण गरेका थिए । त्यसक्रममा एउटै व्यक्तिको फरक-फरक औंलाको छाप ७५ देखि ९० प्रतिशतसम्म उही भएको नतिजा देखिएको बीबीसीले उल्लेख गरेकाे छ ।

अध्ययनको सुपरिवेक्षणसमेत गरेका विश्वविद्यालयका प्राध्यापक होड लिप्सनले एआईको नतिजाबाट आफूसहित अध्ययनमा सहभागी भएका अन्य विद्यार्थीहरू छक्क परेको जनाएका छन् । एआईको नतिजाको वास्तविक कारण आफूहरूलाई थाहा नभएको समेत उनले उल्लेख गरेका छन् । 

औंठाछापको विश्लेषण गर्ने परम्परागत तरिकाभन्दा भिन्न विधिमा आधारित भएकाले एआईको नतिजा फरक आएको हुनसक्ने उनकाे अनुमान छ । यस एआईले औंठा छापमा हुने साना विवरणभन्दा औंठाछापको समग्र ढाँचालाई ध्यान दिएर अध्ययन गरेको उनको भनाइ छ ।

कोलम्बिया विश्वविद्यालयको यस अध्ययनको नतिजाले बायोमेट्रिक्स र फोरेन्सिक विज्ञान दुवैलाई प्रभाव पार्ने बताइएको छ । उदाहरणका लागि अपराध भएको स्थान ‘क’ र ‘ख’ मा अज्ञात औंठा छाप फेला परेको छ । अब ती दुवैलाई एउटै व्यक्तिको हो भनेर पुष्टि गर्न गाह्रो हुन सक्छ । तर एआईले भने यसको पहिचान गर्न सक्छ ।

तर यसबारे अध्ययन गर्ने समूहमा कोही पनि फोरेन्सिक पृष्ठभूमिका थिएनन् । यसकारण यो विषयमा थप अनुसन्धान गर्न आवश्यक रहेको उनीहरूले जनाएका छन् ।

त्यस्तै यो एआईलाई सीमित डेटामा तालिम दिइएको थियो । यसलाई थप विकास गर्न ठूलो मात्राको औंठाछापमा एआईलाई तालिम दिनु आवश्यक रहेकोब बताइएको छ । यद्यपि कोलम्बिया विश्वविद्यालयको यो अध्ययनलाई पियर रिभ्यु गरिएको छ । अब यो अध्ययन साइन्स एडभान्सेस जर्नलमा प्रकाशित हुने जनाएको छ ।

पछिल्लो अध्यावधिक: पुस २८, २०८० १७:४८