close

बुद्ध जन्मिएको देशका रूपमा नेपाललाई चिनाउँदै भ्लगर नास डेली

टेकपाना टेकपाना

माघ २, २०८० ८:५४

बुद्ध जन्मिएको देशका रूपमा नेपाललाई चिनाउँदै भ्लगर नास डेली

काठमाडौं । चर्चित इजरायली भ्लगर नुसेर यासिन उर्फ नास डेली (Nas daily) बौद्ध धर्मबारे अध्ययन गर्न नेपाल आएको बुझिएको छ । शनिवार नेपाल आएर आइतवार स्वदेश फर्किएका उनले सामाजिक सञ्जालमा एक भिडिओ राख्दै आफू बौद्ध धर्मका गुरुसँग त्यस विषयमा जान्न लुम्बिनी आएको बताएका छन् । 

शनिवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिसकेपछि उनले विमानस्थलमा रहेको बुद्धको मूर्तिसँग खिचेको फोटो सामाजिक सञ्जालमा राखेका थिए । उक्त फोटोसँगै नास डेलीले केही फरक गर्न नेपाल आइपुगेको उल्लेख गरेका थिए । 

त्यसपछि उनले क्रमशः आफू लुम्बिनी पुगेको र बौद्ध धर्मका गुरुसँग गरेका कुराकानी गरेको फोटो सार्वजनिक गरेका थिए ।

यसअघि छ महिनासम्म शारीरिक व्यायाम गर्ने ‘च्यालेन्ज’ लिएका भ्लगर नास डेलीले अबको छ महिनासम्म आध्यात्मिक रूपमा पनि स्वस्थ हुने ‘च्यालेन्ज’ लिएको बताएका छन् ।

“म मेरो जीवनको सबैभन्दा सुन्दर च्यालेन्ज लिन जाँदैछु,” नास डेलीले हालै सार्वजनिक गरेको भिडिओमा भनेका छन्, “गत वर्ष मैले फिटनेस च्यालेन्ज लिएको थिएँ । त्यसको मुख्य उद्देश्य शारीरिक रूपमा तन्दुरुस्त हुने थियो । अब भने आध्यात्मिक रूपमा स्वस्थ हुन विभिन्न धर्म अध्ययन गर्ने च्यालेन्ज लिँदैछु ।”

यो छ महिनाको अवधिमा विभिन्न धार्मिक गुरुहरूसँग कुरा गर्ने र त्यसैलाई भिडिओमार्फत सबैलाई देखाउने उनको च्यालेन्ज रहेको छ । उक्त च्यालेन्जको सुरुवात उनले नेपालको लुम्बिनीमा आएर बौद्ध धर्मबारे अध्ययन गरी सुरु गरेका छन् । उनले भिडिओमा पनि आफू उक्त च्यालेन्ज पूरा गर्न सम्बन्धित धर्मको सबैभन्दा पवित्र स्थानमा जाने भएकाले बौद्ध धर्मका लागि नेपाल आएको बताएका छन् । उनको नेपाल भ्रमण र भिडिओमार्फत बुद्ध नेपालमा जन्मिएको सन्देश पुग्ने अपेक्षा लिइएको छ ।

*उनले हिन्दु धर्मको अध्ययनका लागि भारतको बनारस, इजरायलको जेरुसेलेममा यहूदी र इसाई, इस्लामका लागि साउदी अरेबियाकाे मक्का र नास्तिकवादको अध्ययन गर्न इक्वेडर पुग्ने बताएका छन् ।

नेपालमा उनले बौद्ध धर्मबारे के के कुरा अन्वेषण गरे भन्नेबारे नयाँ भिडिओमा बताउने सङ्केत दिएका छन् । 

आइतवार कार्ड नचल्दा त्रिभुवन विमानस्थलमा अलपत्र परेका भ्लगर नास डेलीलाई एक नेपालीले १५ हजार रुपैयाँ सापटी दिएपछि उनी दङ्ग हुँदै सामाजिक सञ्जालमा उक्त घटना शेयर गरेका थिए । त्यसबाहेक उनले आफ्नो सामाजिक सञ्जालमार्फत नेपाललाई बुद्धको जन्मस्थलका रूपमा चिनाएका छन् । 

उनी यसभन्दा पहिले पनि नेपाल आएका थिए । १० दिनकाे बसाइँमा उनी अन्नपूर्ण बेस क्याप ट्रेक गएका थिए । साथै डा. सन्दुक रुइतबारे भिडिओ समेत बनाएका थिए । 

हाल उनले आफ्नै नास एकेडेमी, नास स्टुडियो, नास आईओ चलाइरहेका छन् । उनका फ्यान नेपालमा पनि ठूलो संख्यामा रहेका छन् ।

(*समाचारमा इजरायलको जेरुसेलेममा यहूदी र इसाई, इस्लामका लागि साउदी अरेबियाकाे मक्का तथा नास्तिकवादका लागि इक्वेडर हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ )

पछिल्लो अध्यावधिक: माघ ३, २०८० १२:२५