close

सार्वजनिक भयो विश्वकै पहिलो एआई बाइनाकुलर, ९ हजार प्रजातिका वन्यजन्तुको विस्तृत जानकारी दिने

टेकपाना टेकपाना

माघ २, २०८० १३:४०

सार्वजनिक भयो विश्वकै पहिलो एआई बाइनाकुलर, ९ हजार प्रजातिका वन्यजन्तुको विस्तृत जानकारी दिने

काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) समावेश भएको विश्वकै पहिलो स्मार्ट बाइनाकुलर सार्वजनिक भएको छ । अस्ट्रियाको अप्टिकल लेन्स निर्माता कम्पनी स्वारोब्स्की अप्टिकले हालै नौ हजार प्रजातिका चराचुरुङ्गी पहिचान गर्ने स्मार्ट बाइनाकुलर सार्वजनिक गरेको हो ।

यसअघि उक्त कम्पनीले बजारमा ल्याएको एएक्स भिजिओ बाइनाकुलरलाई थप स्तरीय बनाउन एआई समावेश गरिएको स्वारोब्स्कीको भनाइ छ । कम्पनीले यसका लागि मार्क न्युसनसँग सहकार्य गरेको बताइएको छ ।

त्यसो त वन्यजन्तु र चराको सन्दर्भमा फोटो वा भिडिओ खिच्ने डिभाइसमा फोकस बढी हुनुपर्छ । उक्त बाइनाकुलरले पाँच सेकेन्डमै लेन्समा देखिएको वस्तु फोकस गरी त्यसको बारेमा विस्तृत जानकारी दिन सक्ने कम्पनीको दाबी छ । कम्पनीका अनुसार यस बाइनाकुलर ‘रियल टाइम आइडेन्टिफिकेसन सिस्टम’ समावेश गरिएको छ ।

यसको सहायताले प्रयोगकर्ताले वास्तविक समयमै लेन्समा देखिएको वन्यजन्तु कुन हो भन्ने पहिचान गर्न सक्छन् । कम्पनीले प्रविधिको प्रयोग गरी स्वतः चरा र वन्यजन्तु प्रजाति पहिचान गर्न सकियोस् भन्ने उद्देश्यले यस्तो बाइनाकुलर ल्याएको जनाएको छ । यो स्मार्ट बाइनाकुलरले फोटो र भिडिओ पनि खिच्न सक्छ ।

उक्त डेटालाई तत्कालै स्वारोब्स्की अप्टिक आउटडोर एप प्रयोग गरी आफ्नो स्मार्टफोनमा सेभ गर्न सकिन्छ । यस्तो बाइनाकुलर डिजाइन गर्न स्वारोब्स्की अप्टिक र मार्क न्युसनले झन्डै पाँच वर्ष खोज तथा अनुसन्धान गरेको विभिन्न सञ्चार माध्यमले उल्लेख गरेका छन् ।

यो बाइनाकुलर प्रयोगकर्ताले अप्टिकल डिभाइसका रूपमा मात्र नभई इलेक्ट्रोनिक्स तथा डिजिटल क्यामेराका रूपमा पनि प्रयोग गर्न सक्छन् ।

फेब्रुअरी २०२४ मा बजारमा उपलब्ध हुने यो बाइनाकुलरको मूल्य चार हजार ७९९ डलर (करिब साढे छ लाख रुपैयाँ) तोकिएको छ । यसमा भएका थप फिचरहरू सार्वजनिक भएपछि नै बाहिर आउने कम्पनीको भनाइ छ ।

-एजेन्सीको सहयोगमा

पछिल्लो अध्यावधिक: माघ २, २०८० १६:१