close

एआई टुल कोपाइलटकाे प्रिमियम भर्सन सार्वजनिक, मूल्य मासिक २० डलर

टेकपाना टेकपाना

माघ २, २०८० १८:१७

एआई टुल कोपाइलटकाे प्रिमियम भर्सन सार्वजनिक, मूल्य मासिक २० डलर

 

काठमाडौं । यसअघि निःशुल्क उपलब्ध हुँदै आएको माइक्रोसफ्टको एआई टुल कोपाइलट प्रिमियम भर्सनमा सार्वजनिक भएको छ । कम्पनीले सोमबार कोपाइलटको प्रिमियम संस्करण कोपाइलट प्रो सार्वजनिक गरेको हो । 

यसअघि सञ्चारमाध्यम एन्ड्रोइड अथोरिटीले एक रिपोर्ट प्रकाशित गर्दै कम्पनीले कोपाइलटको प्रिमियम संस्करण ल्याउन लागेको दाबी गरेको थियो ।

एन्ड्रोइड अथोरिटीले एन्ड्रोइडका लागि तयार पारिएको एज ब्राउजरमा माइक्रोसफ्ट कोपाइलट प्रो प्लानमा काम गरिरहेको भन्ने विषय उल्लेख गरिएको थियो । उक्त दाबीपछि माइक्रोसफ्टले सोमवार राति आधिकारिक रूपमा कोपाइलटको 'प्रो प्लान'ल्याउन लागेको जानकारी दिएको छ । 

माइक्रोसफ्टका अनुसार कोपाइलट प्रो माइक्रोसफ्ट ३६५ का ग्राहकका लागि उपयुक्त हुन्छ । उनीहरूले ३६५ एप्समा कोपाइलटलाई आफ्नो व्यक्तिगत प्रयोजनका लागि प्रयोग गर्न सक्छन् ।

यो सब्स्क्रिप्सन लिएपछि प्रयोगकर्ताले अत्यधिक ट्राफिक हुने समयमा समेत पहुँच पाउनेछन् । त्यस्तै उनीहरूले तस्वीर तयार पार्ने एआई टुलको थप सुविधा विशेषगरी हाई क्वालिटीको फोटो र ल्यान्डस्केप मोडको फोटोमा पनि पहुँच पाउनेछन् ।

त्यसबाहेक पनि उक्त प्रो प्लान प्रयोग गरी प्रयोगकर्ताले आफ्नै एआई टुल बनाउन सक्ने कम्पनीले जनाएको छ । र, वर्ड, एक्सल, वननोट, आउटलुक र पावरपोइन्टमा समेत कोपाइलट प्रयोग गर्न सकिनेछ ।

कम्पनीले यो टुल कहिलेदेखि खरिद गर्न सकिन्छ भन्ने विषयमा जानकारी दिइसकेको छैन । यसको मूल्य कम्पनीले मासिक २० डलर (करिब दुई हजार ६५० रुपैयाँ) तोकेको छ ।

यसो त २० डलर तिरेर ओपन एआईको च्याटजीपीटी प्लसको पनि सब्स्क्रिप्सन पाउन सकिन्छ । उक्त सब्स्क्रिप्सन खरिद गर्दा प्रायोरिटी एक्सेस, नयाँ एआई मोडेलमा पहुँच, टर्बो मोड, नयाँ फिचरमा प्राथमिकता र अन्य सुविधा हुन्छन् ।

पछिल्लो अध्यावधिक: माघ २, २०८० १८:१७