close

आज सामसङको अनप्याक्ड इभेन्ट, एस२४ सिरिजदेखि ग्यालेक्सी एआईसम्म सार्वजनिक हुने

टेकपाना टेकपाना

माघ ३, २०८० १४:५३

आज सामसङको अनप्याक्ड इभेन्ट, एस२४ सिरिजदेखि ग्यालेक्सी एआईसम्म सार्वजनिक हुने

काठमाडौं । सामसङले आज ग्यालेक्सी अनप्याक्ड इभेन्ट आयोजना गर्दैछ । नयाँ फोनसँगै सफ्टवेयर फिचर घोषणा गर्नेगरी कम्पनीले २०२४ को पहिलो अनप्याक्ड इभेन्ट गर्न लागेको हो ।

कार्यक्रम नेपाली समयअनुसार राति ११ः४५ बजेदेखि सुरु हुनेछ । सान जोस क्यालिफोर्नियामा हुने यो कार्यक्रममार्फत प्रत्येक अनप्याक्डमा जस्तै सामसङले घोषणा गर्ने डिभाइसको प्रि-अर्डर खुलाउने बताइएकाे छ ।

कार्यक्रममा सबैभन्दा प्रमुख उत्पादनमा ग्यालेक्सी स्मार्टफोनहरू हुनेछन् । सामसङले यसबारे अहिलेसम्म केही नभने पनि ग्यालेक्सी एस२४ सिरिजले डेब्यु गर्ने निश्चित जस्तै छ । जुन २०२४ का लागि सामसङको फ्ल्यागशिप फोन हुनेछन्, जसमा उत्कृष्ट क्यामेरा, प्रोसेसर र सफ्टवेयर फिचर पाउन सकिनेछ ।

सामसङ ग्यालेक्सी एस२४ सम्भवतः चौडा डिस्लेसहित ग्यालेक्सी एस२३ जस्तै देखिनेछ, बीचमा सेल्फी क्यामेराको कटआउट र पछाडि भागमा रहने क्यामेरा सिस्टममा तीन ओटा लेन्स हुनेछन् ।

त्यसैगरी ग्यालेक्सी एस२४ प्लस ग्यालेक्सी एस२४ कै ठूलो भर्सन हुनेछ भने फिचर र स्पेक भने लगभग समान पाउन सकिनेछ । सबैले अपेक्षा गर्ने सामसङ ग्यालेक्सी एस२४ अल्ट्रा ग्यालेक्सी एस२३ सँग धेरै हदसम्म मिल्दोजुल्दो हुनेछ ।

यसलाई लिएर पछिल्लो समय चलिरहेको चर्चाअनुसार यो फोन चौडा डिस्प्लेसहित आउन सक्छ र क्यामेरा सिस्टममा पनि हलुका परिवर्तन देख्न सकिनेछ ।

अरु के आउलान् ?

सामसङको अनप्याक्डमार्फत आउने महत्त्वपूर्ण चिजहरूमा भौतिक उत्पादन मात्र हुने छैनन् । सामसङले आजै ग्यालेक्सी एआई समेत सार्वजनिक गर्ने अपेक्षा गरिएको छ । जुन ओपनएआईले तयार पारेको च्याटजीपीटी, गुगलको बार्ड र माइक्रोसफ्टको कोपाइलटले सिर्जना गरेका जेनेरेटिभ एआईका लागि सामसङको जवाफ हुनेछ । यद्यपि ग्यालेक्सी एआईको विषयमा त्यति धेरै विवरण बाहिरिएका छैनन् ।

यसका केही फिचर मोबाइलमै प्रयोग गर्न सकिनेछ भने अधिकांश क्लाउडमा आधारित हुनेछन्, यस्तोमा त्यसका लागि डेटा वा वाई-फाई कनेक्सन जरुरी हुनेछ । यस्तै सामसङबाट ग्यालेक्सी एस२४ सिरिजको साथमा वन यूआई ६.१ पनि सार्वजनिक हुने अपेक्षा गरिएको छ ।

यसबाहेक अन्य हार्डवेयर प्रोडक्टको रूपमा सामसङले फिटनेस ट्रयाकरको रूपमा ग्यालेक्सी फिट सार्वजनिक गर्न सक्ने चर्चा भए पनि ल्यापटप, ट्याब्लेट, स्मार्टवाच अथवा इयरबड भने त्यतिधेरै अपेक्षा गरिएको छैन । किन भने अहिलेसम्म त्यसको कुनै स्पष्ट आधार देखिएको छैन ।

यो कार्यक्रम सामसङको आधिकारिक युट्युब च्यानल र सामसङ डटकमका साथै कम्पनीका विभिन्न सामाजिक सञ्जालमा लाइभ हेर्न सकिनेछ ।

पछिल्लो अध्यावधिक: माघ ३, २०८० १५:१८