close

चिनियाँ भाषामा फोन गर्दा हिन्दीमा बुझ्न सकिने !

टेकपाना टेकपाना

माघ ४, २०८० १२:४२

चिनियाँ भाषामा फोन गर्दा हिन्दीमा बुझ्न सकिने !

 

काठमाडौं । सामसङले ‘रियल टाइम कल ट्रान्सलेसन’ फिचर सार्वजनिक गरेको छ । बुधवार राति भएको ग्यालेक्सी अनप्याक्ड इभेन्टमा कम्पनीले सञ्चार गर्ने नयाँ तरिका भन्दै वास्तविक समयमै फोन कलको भाषा अनुवाद गर्ने सुविधा सार्वजनिक गरेको हो ।

विशेषगरी आफूले जानेको भाषा अर्को व्यक्तिले नजानेको अवस्थामा उसँग कुराकानीको बाटो नै बन्द हुन सक्छ । त्यस्तो अवस्था नआओस् भन्नका लागि सामसङले ‘रियल टाइम कल ट्रान्सलेसन’ सुविधा ल्याएको जनाएको छ ।

पछिल्लो समय विश्वका अधिकांश भागमा राइड शेयरिङको अवधारणा पुगिसकेको छ । त्यस्तोमा घुम्न गएको यात्रीले राइड शेयर गर्ने व्यक्तिलाई बोलाउन खोज्यो, तर उसले बोल्ने भाषा यात्रा गर्ने मान्छेले नबुझ्न सक्छ । त्यस्तोमा वास्तविक समयमा फोनमा भएको कुरालाई अनुवाद गरेर बुझाउन पनि यो फिचर महत्त्वपूर्ण हुने कम्पनीको दाबी छ ।

तपाईंले फोन गर्दा होस् वा फोन आउँदा होस्, अर्कोतर्फबाट बोल्ने व्यक्तिको भाषा आफूलाई चाहेको भाषा छनोट गर्नुपर्ने हुन्छ । त्यसपछि उक्त व्यक्तिले गरेको कुराकानी तपाईंको डिभाइसमा तपाईंले बुझ्ने भाषामा आइपुग्छ । त्यस्तै यो फिचरले रियल टाइममा भाषा अनुवाद गर्ने मात्र नभइ, त्यसलाई टेक्स्टका रूपमा पनि उतारिदिन्छ ।

यसमार्फत प्रयोगकर्ताले १३ विभिन्न भाषा जस्तै चाइनिज, इङ्लिस, फ्रेन्च, जर्मन, हिन्दी, इटालियन, जापानिज, कोरियन, पोलिस, पोर्चुगिज, थाई, स्पेनिस र भियतनामी भाषामा अनुवाद गर्न सक्छन् । तपाईंले एक पटक कल गरेको व्यक्तिले कुन भाषा बोलेको छ र त्यसलाई कुन भाषामा अनुवाद गर्ने भन्ने छान्नुभयो भने उक्त व्यक्तिका लागि वारम्बार त्यसरी नै भाषा सेट गर्नुपर्ने छैन ।

यो फिचरमार्फत कलमा भइरहेको कुराकानी तेस्रो पक्षले सुन्न सक्ने जोखिम उत्तिकै हुनसक्छ । तर, कम्पनीले भने यो फिचरले प्रयोगकर्ताको कल गोप्य राख्ने दाबी गरेको छ ।

यो सुविधा अहिले सामसङ ग्यालेक्सी एस२४ सिरिजमा मात्र उपलब्ध छ । अर्को व्यक्तिले जुनसुकै फोन प्रयोग गरे पनि तपाईंले सामसङ एस २४ सिरिजको फोन प्रयोग गर्नु भएको छ भने यो सुविधा प्रयोग गर्न सक्नुहुन्छ । 

सामसङले यही फिचर एपमार्फत पनि उपलब्ध गराउन लागेको छ । फोन कलमा मात्र नभई छुट्टै एपमा आउने यो फिचरलाई कम्पनीले ‘इन्टरप्रेटर’ नाम दिएको छ । यसलाई प्रयोग गरी प्रयोगकर्ताले अर्को व्यक्ति बोल्दै गर्दा वास्तविक समयमा उसले बोलेको भाषालाई अनुवाद गर्न सक्छन् । अनुवाद आवाज र टेक्स्ट दुवैमा हुने कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: माघ ४, २०८० १२:५७