close

एक्समा राखेको एउटै भिडिओबाट मिस्टर बिस्टले कमाए साढे ३ करोड रुपैयाँ

टेकपाना टेकपाना

माघ ९, २०८० १०:३४

एक्समा राखेको एउटै भिडिओबाट मिस्टर बिस्टले कमाए साढे ३ करोड रुपैयाँ

काठमाडौं । चर्चित युट्युबर मिस्टर बिस्टले सामाजिक सञ्जाल एक्समा राखेको भिडिओबाट झन्डै दुई लाख ६३ हजार डलर (करिब तीन करोड ५० लाख रुपैयाँ) आम्दानी गरेका छन् । सोमवार एक्समा एक पोस्ट राख्दै उनले एक सातामा उक्त प्लेटफर्ममा राखेको भिडिओबाट गरेको आम्दानी सार्वजनिक गरेका हुन् ।

अपलोड गरेको एक हप्तामा ‘$१ कार भर्सेस $१०० मिलियन कार’ शीर्षकको भिडिओमा १५ करोड ६६ लाख बढी भ्युज आएको छ । बिस्टले सार्वजनिक गरेको स्क्रिनशटमा ५१ लाख बढी इङ्गेजमेन्ट भएको देखिन्छ भने त्यसबापत उनले दुई लाख ६३ हजार ६५५ डलर आम्दानी गरेकाे बताएका छन् ।

पोस्टमा बिस्टले सो भिडिओबाट भएको आम्दानी अन्य क्रियटरले अपलोड गरेको भिडिओको तुलनामा बढी भएको उल्लेख गरेका छन् । सम्भवतः विज्ञापनदाताले उनको भिडिओको लोकप्रियताको देखेका र त्यही भिडिओमा विज्ञापन देखियोस् भनेर बढी तिरेको हुनसक्ने बिस्टको अनुमान छ ।

त्यसैले पनि भिडिओमा सामान्यतः प्रयोगकर्ताले गर्ने प्रति भ्युजको आम्दानीको तुलनामा रकम बढी आएको हुनसक्ने उनको भनाइ छ । यसअघि उनले उक्त भिडिओ युट्युबमा राखिसकेका थिए । अपलोड भएको चार महिनामा सो भिडिओमा २१ करोड ५० लाख बढी भ्युज छ । त्यसबाट उनले कति आम्दानी गरेका थिए भन्ने जानकारी बाहिर आएको छैन ।

त्यसबाहेक युट्युबको तुलनामा एक्समा राखेको भिडिओबाट हुने आम्दानी बढी वा कम हो भन्नेबारे पनि उनले कुनै प्रतिक्रिया दिएका छैनन् । पछिल्लो समय ट्वीटरका रूपमा परिचित एक्सले क्रियटरलाई उनीहरूले राखेको कन्टेन्टमा देखिने विज्ञापनको आधारमा एड रेभेन्यु (विज्ञापनबाट हुने आम्दानी) बाँड्दै आएको छ ।

बिस्टले आम्दानी परिक्षण गर्न एक्समा भिडिओ अपलोड गरेपछि मस्कले पनि त्यसमा आफ्नो प्रतिक्रिया जनाएका थिए ।  तर, बिस्टले आम्दानी सार्वजनिक गरिसकेपछि भने मस्कले त्यस विषयमा हालसम्म कुनै प्रतिक्रिया दिएका छैनन् । 

यसैबीच युट्युबर मिस्टर बिस्टले एक्समा राखेको पहिलो भिडिओबाट प्राप्त आम्दानी १० जनालाई बाँड्ने घोषणा गरेका छन् । एक्समा एक पोस्ट राख्दै उनले भनेका छन्, “जसले यो पोस्ट रिपोस्ट गरेर मलाई फलो गर्छन्, त्यसमध्ये १० जनालाई म २५ हजार डलर दरले दिंदैछु ।” 

पछिल्लो अध्यावधिक: माघ ९, २०८० १४:३१