close

शर्ट सर्किट नभई एमजी जेड एस ईभीकै समस्याले आगलागी भएको पीडित सवारीधनीको दाबी

महिना दिन बिते पनि पाएनन् क्षतिपूर्ति

टेकपाना टेकपाना

माघ १०, २०८० १३:४७

शर्ट सर्किट नभई एमजी जेड एस ईभीकै समस्याले आगलागी भएको पीडित सवारीधनीको दाबी

काठमाडौं । एमजी जेड एस ईभीमा आगलागी भएको एक महिना बितिसक्दा पनि कम्पनीले पीडितलाई क्षतिपूर्ति नदिएको पाइएको छ । नेपालका लागि एमजी मोटर्सको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्सले पीडित सवारीधनी सुदिप लामिछानेलाई एक साताभित्र क्षतिपूर्ति दिने प्रतिबद्धता जनाए पनि अहिले कुनै प्रतिक्रिया नदिएको पाइएको हो । 

गत पुस ९ गते राति १२ बजे बुढानिलकण्ठ-३ स्थित देउवाचोकमा चार्जिङमा राखिएको बागमती प्रदेश ०१-०२७ ख १५८१ नम्बरको एमजी जेड ईभीमा आगो लागेको थियो । “गाडी आगलागी भएको एक महिना भइसक्यो, कम्पनीले अहिलेसम्म कुनै रेस्पोन्स दिएको छैन,” सवारीधनी  लामिछाने भन्छन्, “प्रेस विज्ञप्ति निकाल्नुअघि हामी एक हप्तामै तपाईंलाई कुनै घाटा नहुने गरी सबै कुरा मिलाउँछौं भनेका थिए । तर, खै एक महिना भइसक्यो अहिले राम्रोसँग जवाफ नै दिंदैनन् ।”

अहिले कम्पनीले जिम्मा लगाएको व्यक्तिसँग कुरा गर्न खोज्दा बाहिर भएको भन्दै टारिरहेको उनको आरोप  छ । उनी अगाडि भन्छन्, “मलाई जोसँग कुरा गर्न भनिएको थियो, उहाँ सधैं बाहिर छु भन्नुहुन्छ । क्षतिपूर्ति दिन्छौं भनेर आश्वस्त पारे, तर एक महिना बितिसक्दा पनि निकै सामान्य रूपमा लिइरहेका छन् ।”

लामिछानेका अनुसार कम्पनीले विज्ञप्ति निकाल्ने समयमा तार शर्ट भएको भन्ने र पीडित युवकले वास्तविक कुरा बाहिर नल्याउने सहमति भएको थियो । भन्छन्, “तपाईंलाई केही घाटा हुँदैन । तपाईंले अहिले बाहिर कसैलाई केही नभन्नुस् भनेका थिए । मलाई पनि लाखौंमा एउटा हुने घटना हो, उनीहरूले क्षतिपूर्ति दिए भइहाल्छ भन्ने लागेको थियो । मैले उनीहरूसँग भएको कुराकानीको रेकर्ड पनि राखेको छु ।” 

तर, कम्पनीले वास्ता गर्नै छोडेपछि वास्तविक कुरा बाहिर ल्याउन लागेको लामिछाने सुनाउँछन् । उनका अनुसार तार शर्ट भएर आगलागी भएको थिएन । “शर्ट सर्किट भएको भए त चार्जर जोडेको ठाउँबाट आगो लाग्नु पर्ने, तार जल्नुपर्ने । तर, गाडीको पछाडिपट्टि बायाँतिरबाट आगो दन्किएको थियो । यी सबै कुराको प्रमाण मसँग छ ।” त्यसबाहेक शर्ट सर्किट भएको बेला एमसीबी झर्नु पर्नेमा त्यस्तो केही नभएको र तार पनि सकुशल भएको उनको भनाइ छ ।

उनी गाडीको चार्जिङ पोर्ट र ब्याट्रीलाई जोड्ने तारमा खराबी भएकाले आगलागी भएको भन्ने कुरामा अडिग छन् । “कम्पनी पनि त्यसरी नै आगलागी भएको भन्नेमा विश्वस्त थियो । उनीहरूले पनि त्यसरी नै होला भने । तर, विज्ञप्तिमा शर्ट सर्किट भएको भनेर राखे,” उनी थप्छन् ।

कम्पनीले पनि सामान्य तरिकाले हेरेर अनुमानका भरमा गाडीमा शर्ट सर्किट भएकाले आगलागी भएको विज्ञप्ति निकालेको उनको आरोप छ । उनी अगाडि भन्छन्, “उनीहरूले जुन तरिकाले चार्ज गर्नु भनेका थिए म सधैं त्यही तरिकाले चार्ज गर्थेँ । अहिले त्यहीलाई कमजोरीका रूपमा देखाउन खोजेका छन् ।”

यति संवेदनशील सवाल त्यसैमा मानिसको जीवनसँग सम्बन्धित विषय भएकाले कम्पनीले हलुका रूपमा लिन नहुने उनको धारणा छ । “यो कुरा उनीहरूले एक हप्ताभन्दा पनि कम समयमै समाधान गर्नुपर्ने हो । तर, शाेरुममा जाँदा हेड अफिसले चाइनासँग कुरा गरिरहेको छ भन्छ । मैले विशाल ग्रुपको शाेरुमबाट गाडी किनेको हो, मलाई किन चाइनासँग सरोकार राख्नुपर्‍यो । त्यसैले उनीहरूले झारा टार्न खोजिरहेका छन् जस्तो लाग्छ मलाई,” उनी थप्छन् । 

यसअघि कम्पनीले क्षतिपूर्ति उपलब्ध गराउँछ भन्ने आशामा रहेका लामिछानेले कम्पनीले वास्ता नगरेपछि उक्त विषय बाहिर ल्याएका हुन् । भन्छन्, “एउटा गाडीमा पाँच जना अट्छन् । नेपालमा एमजी जेड एसको दुई हजारभन्दा बढी गाडीहरू बिक्री भइसकेका छन् । यसमा १० हजार जनाको ज्यानको सवाल छ । मलाई घाटा लागे पनि १० हजार जनाको ज्यान बाँचोस् । यता कम्पनीले भने केही नभएजस्तो गरेर टार्न खोजेको छ ।”

त्यसबाहेक पनि घर वा कुनै अन्य ठाउँमा गाडी राखेको अवस्थामा आगलागी भए त्यसले मान्छेको ज्यानसँगै जनधनको क्षति गर्न सक्ने उनी सुनाउँछन् । “यतिसम्म हुने रहेछ कि गाडीमा आगलागी हुन थालेपछि ढोका पनि नखुल्ने रहेछ । गाडीभित्र राखेको ल्यापटप निकाल्न मैले झ्याल फुटाउनु पर्‍यो,” उनी भन्छन्, “अब भन्नुस् मान्छे भित्रै भएको अवस्थामा आगलागी भयो भने के हुन्छ होला ?” 

यसो त लामिछानेले गाडीको बीमा समेत गरेका थिए । तर, बीमामार्फत सबै रकम नआउने भएपछि उनी थप समस्यामा परेका छन् । “इन्सुरेन्सले कभर गरेन भने पनि चिन्ता नलिनुस् हामी छौं भनेर कम्पनीले विश्वास दिलाएको थियो,” उनी भन्छन्, “कम्पनी आफैंले पनि इन्सुरेन्ससँग कुरा गर्ने प्रतिबद्धता दिएको थियो । अहिले कुनै मतलब नै नगरेको जस्तो लाग्छ ।”

लामिछानेले एमजी जेड एस ईभी खरिद गरेको पुस अन्तिममा दुई वर्ष पुग्यो । उनले दुई वर्षअघि झन्डै ५१ लाख रुपैयाँ तिरेर गाडी खरिद गरेका थिए । गाडीमा आगलागी भएको ठाउँ बुढानीलकण्ठ-३ देउवाचोक लामिछानेले निरन्तर रूपमा चार्ज गरिरहने ठाउँ हो । 

पुस ९ गते राति १२ बजे उनको गाडीमा आगलागी भएको थियो । आगलागी भएको हप्तासम्म पनि उक्त घटना बाहिर आएको थिएन । टेकपानाले पीडित लामिछानेसँग कुरा गर्न खोज्दा उनले तत्काल उक्त विषयमा केही नबोल्ने बताएका थिए ।

टेकपानामा गाडी आगलागी भएको समाचार प्रकाशित भएपछि एमजी मोटर्सको आधिकारिक बिक्रेता पारामाउन्ट मोटर्स तार शर्ट भएर आगालागी भएको भन्दै विज्ञप्ति निकालेको थियो

पछिल्लो अध्यावधिक: माघ १०, २०८० १३:४७