close

औपचारिक रूपमा नेपाली बजारमा सार्वजनिक भयो सामसङ एस२४ सिरिज, यस्तो छ मूल्य र फिचर

टेकपाना टेकपाना

माघ १२, २०८० १८:४५

औपचारिक रूपमा नेपाली बजारमा सार्वजनिक भयो सामसङ एस२४ सिरिज, यस्तो छ मूल्य र फिचर

काठमाडौं । नेपाली बजारमा सामसङले आफ्नो पछिल्लो फ्ल्यागशिग स्मार्टफोन सिरिज ग्यालेक्सी एस२४ सार्वजनिक गरेको छ । शुक्रबार राजधानीमा एक कार्यक्रम गर्दै सामसङ नेपालले तीन मोडेलमा एस२४ सिरिज सार्वजनिक गरेको हो ।​

​एस२४ सिरिज अन्तर्गत तीन मोडेल एस२४, एस२४ प्लस र एस२४ अल्ट्रा रहेका छन् । नेपाली बजारमा यो सिरिजका फोन विभिन्न चार भेरियन्टमा खरिद गर्न सकिनेछ ।

कम्पनीका अनुसार एस२४ अल्ट्रा दुई भेरियन्टमा उपलब्ध हुनेछ । यसअन्तर्गत १२ जीबी र्‍याम तथा २५६ जीबी इन्टर्नल स्टोरेज भेरियन्टकाे मूल्य एक लाख ८४ हजार ९९९ रुपैयाँ र १२ जीबी र्‍याम तथा ५१२ जीबी स्टाेरेज भेरियन्टकाे मूल्य एक लाख ९९ हजार ९९९ रुपैयाँ कायम गरिएको छ ।

त्यस्तै एस२४ प्लस मोडेल अन्तर्गत ८ जीबी र्‍याम तथा २५६ जीबी इन्टर्नल स्टोरेज भेरियन्ट उपलब्ध हुनेछ । यसको मूल्य एक लाख ४२ हजार ९९९ रुपैयाँ कायम गरिएको छ ।

त्यस्तै ८ जीबी र्‍याम तथा २५६ जीबी इन्टर्नल स्टोरेज भेरियन्टमा उपलब्ध एस२४ को मूल्य एक लाख १९ हजार ९९९ रुपैयाँ राखिएको छ ।

एआई फिचरले चर्चित सामसङ ग्यालेक्सी एस२४ सिरिजको चर्चा विश्वव्यापी रूपमा भइरहेको छ । विशेषगरी इन्टेलिजेन्ट टेक्स्ट र कल ट्रान्सलेसनको सुविधा दिइएको यो सिरिजका फोन त्यस्तै अन्य एआई फिचरले भरिएका छन् ।

कम्पनीले नयाँ सिरिज ईएमआईमा खरिद गर्न सक्ने सुविधा पनि ल्याएको छ । यस अनुसार ग्राहकले एक घण्टाभित्र शून्य प्रतिशत ब्याजदरमा फोन खरिद गर्न सक्नेछन् ।

एक वर्षका लागि एक पटकको ब्रेकेज इन्सुरेन्स सुविधा पनि थपिएको छ । आफ्नो फोन अपग्रेड गर्न चाहनेका लागि फोन एक्सचेन्जको सुविधा पनि दिइएको छ । यो अफर माघ २३ गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ ।

के के छन् फिचर ?

कम्पनीका अनुसार यो सिरिजले सात पुस्तासम्मको ओएस अपग्रेड र सात वर्षसम्म सेक्युरिटी अपडेट पाउनेछ । अर्थात् एस२४ सिरिज खरिद गर्ने प्रयोगकर्ताले एन्ड्रोइड २१ सम्म अपडेट गर्न सक्नेछन् ।

एस२४ सिरिजमा कम्पनीले विभिन्न एआई फिचर समावेश गरेको छ । यो सिरिज खरिद गर्ने प्रयोगकर्ताले सामसङका नयाँ एआई फिचर जस्तै; लाइभ ट्रान्सलेट, इन्टरप्रेटर, च्याट असिस्ट, एन्ड्रोइड अटो, नोट असिस्ट, ट्रान्सक्रिप्ट असिस्ट, सर्कल टु सर्च लगायतका फिचरमा पहुँच पाउनेछन् । 

सामसङ एस२४ सिरिजमा कम्पनीले ‘प्रो भिजुअल इन्जिन’ समावेश गरेको छ । एआईद्वारा सञ्चालित प्रो भिजुअल इन्जिनले प्रयोगकर्ताले चाहे अनुसार फोटोलाई स्तरीय बनाउने कम्पनीले जनाएको छ । 

कम्पनीले एस२४ सिरिजको टप भेरियन्ट ग्यालेक्सी एस२४ अल्ट्रामा चार ओटा क्यामेरा समावेश गरेको छ । त्यसमा पाँच गुणासम्मको अप्टिकल जुम लेन्स दिइएको छ । 

त्यस्तै यो सिरिजलाई कम्पनीले नाइटोग्राफी फोनका रूपमा अपग्रेड गरेको छ । यसको सहायताले प्रयोगकर्ताले जस्तोसुकै लाइट भएको अवस्थामा पनि जुम गरेर स्तरीय फोटो तथा भिडिओ खिच्न सक्ने कम्पनीको दाबी छ । 

कम्पनीले एस२४ अल्ट्रामा अहिलेसम्मकै शक्तिशाली चिपसेट स्न्यापड्रागन ८ जेन थ्री समावेश गरेको छ । त्यस्तै गेमिङका लागि कम्पनीले हार्डवेयर तथा सफ्टवेयरमा सुधार गरेको जनाएको छ ।

एस२४ अल्ट्रामा गेम खेल्ने प्रयोगकर्ताका लागि त्यसमा अप्टिमल थर्मल कन्ट्रोल सिस्टम समावेश गरिएको छ । भ्यापर च्याम्बरको तुलनामा यो सिस्टम १.९ गुणा ठूलो भएको कम्पनीको भनाइ छ ।

एस२४ अल्ट्रामा ६.८ इन्च फ्ल्याट डिस्प्ले, एस२४ प्लसमा ६.७ इन्च र एस२४ मा ६.२ इन्चको डिस्प्ले दिइएको छ । कम्पनीका अनुसार एस२४ अल्ट्रामा भएको जत्तिकै ग्यालेक्सी एस२४ प्लसले पनि क्यूएचडी प्लस सपोर्ट गर्छ । 

टप भेरियन्ट सामसङ एस२४ अल्ट्रामा कम्पनीले फ्ल्याट स्क्रिन उपलब्ध गराएको छ । कर्भ्ड डिस्प्लेको लोकप्रियता बढ्दै गइरहेको बेला सामसङले भने आफ्नो टप भेरियन्टमा फ्ल्याट डिस्प्ले उपलब्ध गराएको छ । 

एप्पलको आईफोन १५ जस्तै यो सिरिजको फोन टाइटानियम धातुले बनेको छ । विशेषगरी टिकाउ र हलुका हुने भएकाले स्मार्टफोनमा टाइटानियम धातुको प्रयोग बढ्दै गएको छ । 

पाँच गुणा जुम क्षमता भएको यी सिरिजका फाेनमा चार ओटा क्यामेरा दिइएको छ । त्यसमध्ये एस२४ अल्ट्रामा २०० मेगापिक्सेलको मुख्य क्यामेरा दिइएको छ भने एस२४ र एस२४ प्लसमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा दिइएको छ ।

पछिल्लो अध्यावधिक: माघ १२, २०८० १९:१