close

दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदमा भर्ती खुल्यो, कोकोले दिन पाउँछन् आवेदन ?

टेकपाना टेकपाना

माघ १४, २०८० ११:५१

दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदमा भर्ती खुल्यो, कोकोले दिन पाउँछन् आवेदन ?

काठमाडौं । नियमनकारी निकायको रूपमा रहेको नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष पदका लागि आवेदन खुलेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आइतबार सूचना प्रकाशित गर्दै दूरसञ्चार क्षेत्रको नियामकको प्रमुख पदका लागि दरखास्त आह्वान गरेको हो । 

यसअघि प्राधिकरणको अध्यक्ष तथा बोर्ड सदस्य पदमा नियुक्तिका लागि आवेदन दिन १५ दिने समय सीमा तोकिने गरेकोमा यसपल्ट भने सात दिनको छोटो समयसीमा राखिएको छ । प्राधिकरण नियुक्तिको सन्दर्भमा मन्त्रालयले देखाएको यस किसिमको हतारोलाई अनौठो मानिएको छ ।

सूचना अनुसार ३० वर्ष पूरा भई ६५ वर्ष उमेर ननाघेका व्यक्तिले आवेदन दिन सक्नेछन् । आवेदकले मान्यता प्राप्त शिक्षण संस्थाबाट कम्तीमा स्नातक तह उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा १० वर्षको अनुभव प्राप्त गरेको हुनुपर्नेछ । 

तर सरकारी सेवा वा सार्वजनिक संस्थान, प्राधिकरण, बोर्ड, समिति, आयोग, प्रतिष्ठान वा सार्वजनिक कम्पनीको कर्मचारीको हकमा सम्बन्धित विषयमा स्नातक गरी राजपत्राङ्कित प्रथम श्रेणी वा सोभन्दा माथिल्लो पदमा काम गरेको अनुभव प्राप्त गरेको हुनुपर्नेछ । 

योग्यता पुगेका इच्छुक व्यक्तिले नियुक्ति हुन चाहेको ब्यहोरा खुल्ने दरखास्त, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, योग्यता समेत खुल्ने व्यक्तिगत विवरण, शैक्षिक योग्यताका प्रमाणपत्रको प्रतिलिपि लगायतका कागजातहरू संलग्न राखी दरखास्त पेस गर्नुपर्ने उल्लेख छ । 

उम्मेदवारले पेस गरेको व्यावसायिक कार्य योजना, सोको प्रस्तुतीकरण र अन्तर्वार्ताको मूल्याङ्कनका आधारमा नियुक्तिका लागि मन्त्रिपरिषद्‌ समक्ष सिफारिस गरिने उल्लेख छ । 

नियुक्ति हुन चाहने व्यक्तिले नेपाली भाषामा बढीमा ५,००० शब्दको सिलबन्दी व्यावसायिक कार्य योजना समेत बुझाउनुपर्नेछ । दरखास्त पेस गर्ने अन्तिम म्याद सूचना प्रकाशित भएको मितिले सातौं दिन वा सो दिनमा सार्वजनिक बिदा परेमा त्यसको भोलिपल्ट कार्यालय समयभित्र तोकिएको छ । 

दरखास्त सञ्चार तथा सूचना प्रविधि मन्त्रालय संस्थान समन्वय शाखामा बुझाउन भनिएको छ । 

अध्यक्ष पुरुषोत्तम खनालले सञ्चार मन्त्री तथा प्रधानमन्त्रीको दबाबमा राजीनामा दिएपछि उक्त पद २४ पुसदेखि उक्त पद रिक्त रहेको छ । २४ पुसकै मन्त्रिपरिषद् बैठकले प्राधिकरण बोर्ड सदस्य नवराज अधिकारीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको थियो । 

त्यससँगै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीको संयोजकत्वमा नयाँ अध्यक्ष नियुक्तिका लागि सिफारिस समिति समेत गठन गरिएको थियो । तर लगत्तै राष्ट्रिय सभा निर्वाचन आचारसंहिता लागू भएका कारण समितिले केही दिन ढिलो गरी अध्यक्ष पदका लागि आवेदन माग गरेको हो । ​

हेर्नुहोस् सूचना

पछिल्लो अध्यावधिक: माघ १४, २०८० ११:५६