close

विज्ञान-प्रविधि सरहको मान्यता नपाउँदा जागिरबाट बञ्चित हुँदै मानविकीतर्फको बीसीए पढ्ने विद्यार्थी

टेकपाना टेकपाना

माघ १५, २०८० १७:२०

विज्ञान-प्रविधि सरहको मान्यता नपाउँदा जागिरबाट बञ्चित हुँदै मानविकीतर्फको बीसीए पढ्ने विद्यार्थी

 

काठमाडौं । नेपालगन्जका सुजन काफ्ले गत वर्ष मात्रै त्रिभुवन विश्वविद्यालयबाट ब्याचलर इन कम्प्युटर एप्लिकेसन (बीसीए) उत्तीर्ण भए । बीसीएपछि सरकारी कर्मचारी बनेर देशको सेवा गर्ने उनको सपना थियो ।

अहिले त्यही सपना पूरा गर्न नसक्ने अवस्थामा पुगेका छन् । कारण हो, उनले पढेको विषयलाई सरकारी निकायले नै जागिरका लागि मान्यता नदिनु ।

राष्ट्र बैंकले गत पुसमा विभिन्न पदमा जागिर खुलाएको थियो । त्यसमा सहायक निर्देशक (सूचना प्रविधि) र सहायक (सूचना प्रविधि) को पदमा पनि जनशक्ति माग गरिएको थियो । 

काफ्लेले सहायक निर्देशक (सूचना प्रविधि) पदमा दरखास्त दिन खोजे । तर आवेदन दिन पाएनन् । किनकी  त्यस पदका लागि विज्ञान तथा प्रविधि अथवा इन्जिनियरिङ सङ्कायबाट कम्प्युटर साइन्स/आईटी अथवा सो सरहको विषय उत्तीर्ण गरेको हुनु पर्ने सर्त थियो ।

काफ्ले जस्तै यो समस्यामा परेका अर्का विद्यार्थी हुन्, प्रवेशकुमार विश्वकर्मा । महेन्द्र बहुमुखी क्याम्पस, नेपालगन्जबाट उत्तीर्ण उनले पनि राष्ट्र बैङ्कसहित अन्य सरकारी निकायमा जागिरको आवेदन दिन खोजेका थिए । 

उनी पनि मानविकी सङ्कायमा कम्प्युटर पढेकै कारण आवेदन दिनबाटै बञ्चित भए । तर यो समस्या काफ्ले र विश्वकर्माको मात्र होइन । त्रिविबाट बीसीए उत्तीर्ण करिब दुई हजार विद्यार्थी र देशभरका १२३ क्याम्पसमा अध्ययन गरिरहेका विद्यार्थीको साझा समस्या हो ।

समस्याको जड सङ्काय!

पढेको विषय कम्प्युटर भएता पनि सङ्काय फरक हुँदा आफूहरू सरकारी जागिरबाट वञ्चित हुनु परिरहेको काफ्लेले सुनाए । “हाम्रो कोर्स कन्टेन्ट सीएसआईटी, बीआईटी जस्तै छ । पढेको पनि कम्प्युटर नै हो,” उनले भने, “तर अहिले सङ्काय मानविकी हुँदा समस्या निम्तियो ।”

उही पदमा पोखरा र पूर्वाञ्चल विश्वविद्यालयका बीसीए उत्तीर्ण विद्यार्थीहरू आवेदन दिन योग्य भएको उनले सुनाए । उनले भने, “अन्य विश्वविद्यालयका उही विषय पढेका साथीहरूले भने दरखास्त दिन पाए । हामीले पाएनौं ।”

विश्वकर्मा अन्य सरकारी निकायमा समेत आफूहरूले भिड्न नपाउने बताउँछन् । “मैले नेपाल प्रहरीको सूचना अधिकृतमा पनि आवेदन दिन खोजेको थिएँ । तर त्यहाँ पनि विज्ञान तथा प्रविधि सङ्कायको विद्यार्थीलाई मात्र मान्य दिने रहेछ ।”

उनका अनुसार त्रिविका बीसीए विद्यार्थीले कृषि विकास बैंक, नेपाली सेना, नेपाल टेलिकम लगायतका निकायले खुलाउने अधिकृत स्तरका कुनैपनि पदमा आवेदन दिन पाउँदैनन् । 

कोर्समा भर्ना हुनु अघि लोकसेवा आयोगमा भिड्न पाइने, आईटी अफिसर बन्न सकिने लगायतका प्रलोभन देखाइए पनि अहिले विद्यार्थीमाथि धोका भएको उनीहरूको भनाइ छ । त्यसमा पनि कोभिड महामारीका कारण एक वर्ष पढाइ धकेलिँदा थप मारमा परेको गुनासो विद्यार्थीले गरिरहेका छन् ।

हाल पोखरा र पूर्वाञ्चल विश्वविद्यालयमा विज्ञान तथा प्रविधि संकायअन्तर्गत बीसीए पढाइ हुने गर्छ । तर त्रिभुवन विश्वविद्यालयले भने बीसीएलाई मानविकी तथा सामाजिक शास्त्र सङ्काय अन्तर्गत राखेको छ । 

२०७४ बाट त्रिविले यो कोर्स पढाउन थालेको हो । अहिलेसम्म २०७९ र २०८० गरेर त्रिविका बीसीएका दुई ब्याच उत्तीर्ण भइसकेका छन् । तर पढेको विषय पटक पटक जागिरका लागि मान्य नहुँदा आफूहरू निराश भइसकेको विद्यार्थीहरूको दुखेसो छ ।  

डीन कार्यालय भने कम्प्युटरलाई फरक सङ्कायमा पढाउनुलाई कमजोरीको रूपमा स्वीकार गर्न तयार छैन । बरु जागिर दिने निकायका मान्छेहरूमा गलत बुझाइ भएको तर्क गर्छ । 

“सामाजिक अध्ययन र व्यवस्थापन बाहेक बीसीएमा करिब ७५ प्रतिशत कम्प्युटरसँग सम्बन्धित विषय पढाइ हुन्छ,” सङ्कायका डीन प्राध्यापक डाक्टर कुसुम शाक्य भन्छिन्, “मानविकीमा बीसीए पढाइ भएकाले नै यसलाई मान्यता हुन्न भन्नु गलत बुझाइ हो ।”
त्यस्तै सङ्कायका सहायक डीन प्राध्यापक डाक्टर ताराप्रसाद भुसाल पनि बीसीए एकेडेमिक काउन्सिलबाट नै पारित भएकाले त्यस्तो शङ्का गर्न नहुने बताउँछन् । “विश्वविद्यालयले कुनै पनि कोर्स हचुवाका भरमा सञ्चालन गर्दैन । लामो समयको अध्ययन/अनुसन्धान र छलफल पछि मात्र कोर्स पढाउने काम हुन्छ,” उनी भन्छन्, “त्रिविले विभिन्न सरोकारवालासँग लगातारको छलफल पछि मात्र बीसीए पढाउन थालेको हो ।”

यता राष्ट्र बैङ्क भने विज्ञान तथा प्रविधि अथवा इन्जिनियरिङ सङ्कायबाहेकका विद्यार्थी आफ्नो लागि उपयुक्त नहुने तर्क गर्छ । “अन्य सङ्कायबाट उत्तीर्ण  विद्यार्थी ती पदका लागि उपर्युक्त नहुने हाम्रो पदपूर्ति समितिको निर्णय छ,”   बैङ्कको मानव संसाधन व्यवस्थापन विभागका एक कर्मचारी भन्छन्, “विश्वविद्यालयले कुन विषय कहाँ पढाउँछ भन्ने हाम्रो सरोकार भएन । हामीलाई सम्बन्धित पदको लागि सम्बन्धित विषय पढेको जनशक्ति चाहिने हो ।”

 

कमजोरी विश्वविद्यालयकै 

अहिले यो समस्या सतहमा आएपछि बीसीए अध्ययनरत विद्यार्थीले समाधान गर्न डीन कार्यालय समक्ष माग राखेका छन् । जसमा सम्बन्धित निकायसँग समन्वय गरेर बीआईटी र सीएसआईटी सरह परीक्षामा सामेल हुन पाउने अथवा बीसीएलाई विज्ञान तथा प्रविधि सङ्कायमा राख्नु पर्ने लगायतका लगायतका माग छन् ।

पाटन बहुमुखी क्याम्पसका विद्यार्थी सौजन्य गौतमका अनुसार भविष्य अनिश्चित हुने देखिएपछि यो कदम चाल्नु परेको हो । “बीसीए उत्तीर्ण भएका दाइहरूले जुन समस्या भोग्नु पर्‍यो, त्यो हामीलाई पनि आइलाग्दैन भन्ने छैन । यो समस्याको एउटै कारण बीसीएलाई मानविकीमा राख्नु हो,” उनी अगाडि भन्छन्, “यदि बीसीएलाई  विज्ञान तथा प्रविधि सङ्कायमा सारे समस्या हल भइहाल्छ । तर विश्वविद्यालयले किन त्यो पहल गर्दैन ? माग पूरा नभए हामी चरणबद्ध आन्दोलनमा उत्रिने तयारीमा छौं ।”

सहायक डीन भुसाल सम्बन्धित निकायको गलत बुझाइका कारण यस्तो अवस्था आएको जिकिर गर्छन् । “बीसीए भनेको मानविकी सङ्कायको होइन । यो त्रिविको हो । अरू आईटी विषय अन्य सङ्कायलाई दिएपछि बीसीएलाई मानविकीमा त्रिविले राखेको हो,” उनी भन्छन्, “ती आईटी विषय सरह नै बीसीएका विद्यार्थी पनि योग्य छन् । त्यो कुरा नबुझिएको हो ।”

विश्वविद्यालयले समकक्षता प्रदान गर्न ढिला गर्दा सम्बन्धित निकायले गलत बुझ्न पुगेको सङ्कायका डीन प्राडा शाक्य बताउँछिन् । “पहिल्यै नै विश्वविद्यालयले बीसीएको समकक्षता प्रदान गरिदिएको भए समस्या हुँदैन थियो । विद्यार्थीहरू क्रमश: बजारमा जान थालेपछि मात्र यो समस्या आएको छ,” उनी भन्छिन्, “अहिले सम्बन्धित निकायमा पत्राचार गरेर हामीले समस्याको हल गर्ने प्रयास गरिरहेका छौं । चाँडै बीसीए विद्यार्थीले पनि विज्ञान तथा प्रविधि सङ्काय सरह मान्यता पाउँछन् ।”

निजी क्षेत्रमा भने छैन समस्या 

यता निजी क्षेत्र भने यो सवालमा उदार देखिन्छ । आईटी कम्पनीहरूले कर्मचारी नियुक्त गर्दा सङ्काय अथवा प्रमाणपत्र भन्दा पनि आवेदकमा भएको क्षमता हेर्ने यस क्षेत्रका उद्यमीहरू बताउँछन् । सरकारी निकायहरूमा यस्तो अभ्यास नहुँदा अहिलेको अवस्था उत्पन्न भएको हुन सक्ने उनीहरुको बुझाई छ ।

यदि त्रिविका बीसीए विद्यार्थीहरूमा क्षमता छ भने निजी क्षेत्रमा सजिलै काम गर्न सक्ने इन्फोडेभलपर्सका सीईओ उमेश रघुवंशी सुनाउँछन् । तर यदि विद्यार्थीमा सीप/दक्षता छैन भने नामी विश्वविद्यालयका विद्यार्थीलाई पनि नियुक्ति नदिने उनी बताउँछन् । 

त्यस्तै निमा एकेडेमीका सीईओ निश्चल प्रधान पनि उनको कुरामा सहमत देखिन्छन् । उत्तीर्ण विद्यार्थीलाई आईटी क्षेत्रका लागि नियुक्ति गर्दा डिग्री अथवा सङ्काय भन्दा पनि क्षमता, सीप हेर्नु पर्ने उनको तर्क छ ।

पछिल्लो अध्यावधिक: माघ २२, २०८० ९:५६