close

सामाजिक सञ्जालमा पूनम पाण्डेको स्टन्ट, भन्छिन्: जनचेतनाका लागि मृत्युको भ्रम फैलाएँ

टेकपाना टेकपाना

माघ २०, २०८० १५:२

सामाजिक सञ्जालमा पूनम पाण्डेको स्टन्ट, भन्छिन्: जनचेतनाका लागि मृत्युको भ्रम फैलाएँ

काठमाडौं । एक दिनअघि अर्थात् शुक्रबार भारतीय अभिनेत्री एवं मोडल पूनम पाण्डेको इन्स्टाग्राम अकाउन्टबाट उनको मृत्युबारे पोस्ट आयो । उक्त पोस्टमा पाठेघरको क्यान्सर (सर्भिकल क्यान्सर)का कारण शुक्रबार बिहानै पाण्डेको मृत्यु भएको जानकारी दिइएको थियो । 

त्यो खबर परिवारकै सदस्यले लेखेझैं लाग्थ्यो । कसले लेखेको भनेर भने खुलाइएको थिएन ।

पाण्डेको मृत्युको खबर तुरुन्तै फैलियो । धेरैले समवेदना प्रकट गरे । कतिपयले पाठेघरको मुखको क्यान्सरबारे सचेतना जगाउने भिडिओहरू बनाउन भ्याए । 

आज शनिबार त्यही अकाउन्टबाट एउटा भिडिओ पोस्ट आयो । भिडिओमा उनी देखिएकी छिन्, र भनिरहेकी छिन्, ‘म जीवित छु ।’ अर्थात् आफ्नै मृत्युलाई लिएर उनले इन्स्टाग्राममा स्टन्ट गरेकी छिन् ।

पाठेघरको क्यान्सरबारे सचेतनाका लागि मृत्युको भ्रम फैलाउनु परेको उनको भनाइ छ । पाठेघरको क्यान्सरले धेरैको ज्यान लिइसकेको, तर कमैले कुरा गरेको हुँदा आफूले यस्तो कदम चालेको उनले जनाएकी छिन् ।

हाउटरफ्लाइको भिडिओमा पनि उनी देखिएकी छिन्, जहाँ उनले आफ्नो हर्कतका कारण पर्न गएको असरप्रति क्षमा मागेकी छिन् । तर आफ्नो मृत्युको खबरले यस क्यान्सरबारे जुन बहस सिर्जना गरेको छ, त्यसमा उनले गर्व गरेकी छिन् । 

त्यस्तै यो क्यान्सर समयमा पत्ता लागे र खोप लगाए निको हुने पनि उनले उल्लेख गरेकी छिन् ।

पाण्डेको यो स्टन्टलाई लिएर फरकफरक मत आइरहेका छन् । कसैले राम्रो कामका लागि गलत तरिका अपनाएको बताएका छन् भने कसैले चर्चा कमाउन स्टन्ट गरेको प्रतिक्रिया दिएका छन् । यद्यपि उनले पाठेघरको क्यान्सर विरुद्ध लड्न सबैलाई सहयोगको आह्वान गरेकी छिन् । यसका लागि उनले वेबसाइट नै तयार पारेकी छिन् । 

२०१० देखि मोडलिङमा लागेकी पाण्डे २०१३ मा प्रदर्शन भएको ‘नशा’ फिल्मबाट बलिउडमा छिरेकी थिइन् । त्यस्तै ‘लभ इन पोइजन’, ‘अदालत’, ‘द जर्नी अफ कर्मा’ लगायतका चलचित्रमा उनले अभिनय गरेकी छिन् ।

पछिल्लो अध्यावधिक: माघ २०, २०८० १५:३१