close

आज सुरक्षित इन्टरनेट दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

टेकपाना टेकपाना

माघ २३, २०८० १३:३७

आज सुरक्षित इन्टरनेट दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । नेपालमा पनि आज विभिन्न कार्यक्रमका साथ सुरक्षित इन्टरनेट दिवस मनाइँदैछ । हरेक वर्ष फेब्रुअरी ६ का दिन मनाइने यो दिवस नेपालमा चाइल्डसेफनेटको पहलमा मनाउँदै आइएको छ ।

'राम्रो र सुरक्षित इन्टरनेटको लागि साथसाथ' नाराका साथ मनाइने यस दिवसले सरकार, नीति निर्माता, निजी क्षेत्र, सूचना प्रविधि क्षेत्र र अन्य जिम्मेवार निकाय तथा संस्थालाई उत्तरदायी बनाउन र आ-आफ्ना जिम्मेवारी निर्वाह गराउन पैरवी गर्दछ । साथै, यसले सुरक्षित इन्टरनेटको लागि बालबालिका, युवा, अभिभावक, शिक्षक, सामाजिक कार्यकर्ता, विद्यालय, सघसंस्था तथा अन्य सरोकारवालालाई एकजुट हुन आह्वान गर्दछ ।

सन् २००४ देखि हरेक वर्ष फेब्रुअरी महिनामा विश्वव्यापी रुपमा सुरक्षित इन्टरनेट दिवस मनाउन थालिएकोमा नेपालमा सन् २०१९ देखि चाइल्डसेफनेटको पहलमा यस दिवस मनाउन थालिएको हो । बालबालिका तथा युवा वर्गका लागि सुरक्षित इन्टरनेटको लागि कार्यरत विशिष्टिकृत संस्था चाइल्डसेफनेटले नेपालमा सुरक्षित इन्टरनेट दिवसको समन्वय र प्रवर्द्धन गर्दै आएको छ ।

अनलाइनमा बालबालिकालाई सुरक्षित राख्न चेतनामूलक कार्यक्रम सञ्चालन गर्न सुरक्षित इन्टरनेट दिवसलाई अझ बढी प्रभावकारी र व्यापक बनाउन नेपालमा यसै वर्ष सुरक्षित इन्टरनेट दिवस समन्वय समिति गठन भएको छ । महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय बाल अधिकार परिषद्को सदस्य-सचिवको अध्यक्षतामा गठित यस समन्वय समितिमा चाइल्डसेफनेटले सचिवालयको भूमिका निर्वाह गरेको छ ।

सूचना प्रविधिको विकासले फड्को मारेसँगै यसले बालबालिका र युवालाई अनलाइनमा असुरक्षित बनाएको पनि छ । चाइल्डसेफनेट र युनिसेफको एक अध्ययनअनुसार नेपालमा पाँच जनामा एक बालिका र १० जनामा एक बालक अनलाइन यौन दुर्व्यवहारमा पर्ने जनाएको छ ।

सुरक्षित इन्टरनेटको लागि सबै मिलेर काम गर्न आवश्यक भएको बताउँदै चाइल्डसेफनेटका संस्थापक तथा अध्यक्ष अनिल रघुवंशी भन्छन्, “प्रत्येक बालबालिकालाई वास्तविक जीवनमा जस्तै अनलाइनमा पनि सुरक्षित हुने अधिकार छ । यो अधिकार सुनिश्चित गरेर बालबालिकालाई अनलाइनमा समेत सुरक्षित राख्नु हामी सबैको जिम्मेवारी हो ।”

प्रविधिको प्रयोग धेरै गर्नेमा बालबालिका र युवा धेरै भएपनि उनीहरूमा अनलाइन सुरक्षाबारे ज्ञान नहुँदा इन्टरनेटमा उनीहरूले अनलाइन दुर्व्यवहार र शोषण, साइबरबुलिङ, साइबर ग्रुमिङ, फिशिङ र सेक्सटोर्सन जस्ता गम्भीर घटना हुनसक्ने  जोखिममा पर्नसक्ने रघुवंशीकाे भनाइ छ ।

सुरक्षित इन्टरनेट दिवसको अवसरमा देशका विभिन्न भागहरूमा अनलाइन सुरक्षा सचेतना कार्यक्रमहरु सञ्चालन हुने उनले बताए । उनका अनुसार संयुक्त राष्ट्रसंघीय निकाय, गैरसरकारी संस्था, सामुदायिक संस्था, निजी क्षेत्र, सञ्चारगृह लगायतका ४४ संस्थाले यो दिवसको प्रवर्द्धन गर्न ऐक्यबद्धता जनाएका छन् ।

पछिल्लो अध्यावधिक: माघ २३, २०८० १३:४५