close

बुबाको फोन चोर्ने व्यक्ति समात्न छोराले यसरी प्रयोग गरे गुगल म्याप्स

टेकपाना टेकपाना

माघ २३, २०८० २०:७

बुबाको फोन चोर्ने व्यक्ति समात्न छोराले यसरी प्रयोग गरे गुगल म्याप्स

काठमाडौं । हराएको फोन पत्ता लगाउन एक युवकले गुगल म्याप्सको सहारा लिएका छन् । भारतमा हालै भएकाे माेबाइल चाेरी घटनामा ती युवक गुगल म्याप्समार्फत चाेर्ने व्यक्तिसम्म पुग्न सफल भएका हुन् ।

भारतस्थित तामिलनाडुका राज भगतका बुबा नागरकोइल नामक ठाउँबाट त्रिची जाँदै थिए । त्यसका लगि ‘नागरकोइल-काचेगुडा एक्सप्रेस’ नाम भएको ट्रेनमा उनका बुबा चढेका थिए । बिहान २ बज्न लाग्दा ट्रेनमा चढेकाले यात्रु थाेरै थिए । तर उनको बुबासँगै चढेको अर्को व्यक्तिले झोला र मोबाइल फोन चोर्न भ्याए ।

यद्यपि उनीहरूको परिवारका सदस्यबीच लोकेसन शेयरिङको फिचर इनेबल गरिएको थियो । अर्थात् बुबाको फोन कहाँ छ भनेर भगतले त्यही फिचरमार्फत ट्र्याक गर्न सक्थे ।

“आफूसँग ब्याग र फोन नभएको थाहा पाएपछि बुबाले साथीको फोनबाट कल गरेर बिहान ४ बज्न लाग्दा मलाई थाहा दिनुभयो । भाग्यवश ‍परिवारका सदस्यको फोनहरूमा हामीले लोकेसन शेयरिङ 'अन' गरेका थियौं," सफ्टवेयर इन्जिनियर समेत रहेका भगतले एक्समा लेखेका छन्, "अनि मैले तुरुन्तै बुबाको मोबाइलको लोकेसन ट्र्याक गरेँ । फोन तिरुनेलवेलीको मेलापलायम नजिकै रहेको ट्रेन ट्र्याकमा चलिरहेको देखायो । त्यसको अर्थ चोरी गर्ने व्यक्ति अर्को रेलबाट नागरकोइल तिरै फर्किरहेको थियो ।”

चोरी गर्ने व्यक्तिको अवस्था थाहा पाएपछि भगत र उनको एकजना साथी रेलवे स्टेसनतिर लागे । तर स्टेसनमा भएको मानिसहरूको भीडका कारण उनीहरूले चोरी गर्ने व्यक्तिलाई पहिचान गर्न सकेनन् । तथापि उनीहरूले ती व्यक्तिलाई पिछा गरिरहेका थिए ।

“भीडमा चोरी गर्ने व्यक्ति नचिनेपछि साथीलाई ढुक्क बनाउन गुगलले देखाएको लोकेसन सही भएको बताएँ । मलाई चोरी गर्ने व्यक्ति एकैक्षण भए पनि नहिँडी कतै न कतै रोकिन्छ भन्ने लागेको थियो । करिब दुई मिनेटपछि त्यो व्यक्ति अन्ना बस स्ट्यान्डमा रोकिएछ । एपमा त्यो व्यक्तिको दूरी हामीबाट जम्मा दुई मिटर मात्र देखाइरहेको थियो । झट्ट मैले वरपर भएका व्यक्तिहरूको झोला हेरेँ । म भन्दा ठीकअघि उभिएको व्यक्तिले बोकेको झोलामा ‘सीआईटीयू’ लेखिएको थियो । मैले त्यो बुबाको झोला भएको थाहा पाइहालेँ । किनकी बुबा त्यसको सदस्य हुनुहुन्छ । अनि अन्य मानिसहरूको सहयोगमा चोरी भइसकेको मेरो बुबाको फोन र झोला फिर्ता गर्न सक्यौं,” उनले लेखेका छन्। 

यो घटना थाहा पाएपछि धेरैजसो एक्स प्रयोगकर्ताले म्याप्सको फिचरबाट प्रभावित भएको प्रतिक्रिया दिएका छन् । चाेरी गर्ने व्यक्तिलाई प्रहरीको जिम्मा लगाएको भगतले बताएका छन् । 

सम्बन्धित समाचार

यात्रामा निस्किनु अघि अफलाइन चलाउन मिल्नेगरी यसरी डाउनलोड गर्नुहोस् गुगल म्याप

गुगल म्यापमा साथीको लोकेसन थाहा पाउन यसरी पठाउनुहोस् रिक्वेस्ट

मोबाइलबाट सजिलै थप्नुहोस् गुगल म्यापमा आफ्नो लोकेसन

पछिल्लो अध्यावधिक: माघ २३, २०८० २०:७