close

फोनमार्फत ज्यान मार्ने धम्की दिई ५ करोड रुपैयाँ फिरौती माग्ने दुई नेपाली पक्राउ

टेकपाना टेकपाना

माघ २५, २०८० १५:३६

फोनमार्फत ज्यान मार्ने धम्की दिई ५ करोड रुपैयाँ फिरौती माग्ने दुई नेपाली पक्राउ

काठमाडौं । फोन तथा एसएमएसमार्फत ज्यान मार्ने धम्की दिई पाँच करोड रुपैयाँ माग गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय (जिप्रका) कास्कीबाट खटिएको प्रहरी टोलीले बुधवार ती व्यक्तिलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा पर्वत घर भई हाल पोखरा बस्दै आएका ३६ वर्षीय लक्ष्मण दर्जी र ४२ वर्षीय दीपकबहादुर क्षेत्री रहेका छन् । प्रहरीका अनुसार १८ माघमा पोखरामा रहेको सच्चाइ सेवा केन्द्रका सञ्चालक तथा सच्चाइ केन्द्र नेपालका केन्द्रीय अध्यक्ष प्रकाशदिप गैरेले आफूलाई फोन तथा एमएमएसमार्फत ज्यान मार्ने धम्की आएको उजुरी दिएका थिए ।

गैरेका अनुसार फिरौती माग्ने व्यक्तिले हिन्दी भाषामा कुरा गरेर पाँच करोड रुपैयाँ माग गरेका थिए । रकम नदिएमा उनी र उनका परिवारको ज्यान लिने भन्दै धम्की दिएपछि गैरेले जिप्रका कास्की निवेदन दिएका थिए । त्यसैका आधारमा अनुसन्धान गर्दै जाँदा बुधवार राति गैरेलाई धम्काउने व्यक्ति पक्राउ परेको प्रहरीले जनाएको छ ।

जिप्रका कास्कीका सूचना अधिकारी एवं प्रहरी निरीक्षक सूर्य राणाका अनुसार युट्युबमा अध्यक्ष गैरेको भिडिओ देखेपछि उनीहरूले फिरौती माग्ने योजना बनाएका थिए । “उहाँ अध्यक्ष जस्तो मान्छे । युट्युबमा उहाँले बोलेका भिडिओहरू आइरहेका हुन्थे,” प्रहरी निरीक्षक राणाले भने, “त्यसबाट चिनेपछि उनीहरूले फिरौती माग्ने योजना बनाएको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।”

पक्राउ परेका दुवै जना १३ माघमा गैरेको नम्बर पाउन सच्चाइ केन्द्रमा दुई घण्टा बसेर प्रकाशदिप गैरेको नम्बर पत्ता लगाएका थिए । त्यसपछि १८ माघमा उनीहरूले म्यासेज र फोनबाट धम्की दिएका थिए । उनलाई धम्की दिइसकेपछि परेको प्रभाव थाहा पाउन २० माघमा सच्चाइ केन्द्र पुगेका थिए । त्यसपछि पुनः २३ माघमा पनि उनी सच्चाइ केन्द्र पुगेको राणाको भनाइ छ ।

राणाका अनुसार पक्राउ परेका व्यक्तिबाट एउटा भारतीय सिमकार्ड, तीन ओटा एनसेलको सिम र ५ ओटा नमस्तेको सिम बरामद गरिएको छ ।

भारतीय सिमकार्ड किन राखेका थिए भन्ने विषयको विस्तृत जानकारी बाहिर आइसकेको छैन । सिमबाहेक उनीहरूबाट चार ओटा मोबाइल, विभिन्न व्यक्तिको नाम लेखेका कागजहरू, भरुवा बन्दुकमा लाग्ने केप लगायतका सामग्री बरामद गरिएको छ । पक्राउ परेका दर्जी र क्षेत्रीमाथि जिल्ला प्रहरी कार्यालय कास्कीमा लगेर थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: माघ २५, २०८० १५:३६