close

डोमेन नेम खरिद गर्न किन लाखौं रकम तिर्नुपर्छ ?

टेकपाना टेकपाना

माघ २७, २०८० १२:५

डोमेन नेम खरिद गर्न किन लाखौं रकम तिर्नुपर्छ ?

काठमाडौं ।  ‘डोमेन नेम’ (डोमेनको नाम) तपाईंको डिजिटल उपस्थितिको मेरुदण्ड हो । यदि तपाईँ आफ्नो डिजिटल उपस्थितिमा व्यवसाय गर्न खोज्दै हुनुहुन्छ वा आफूलाई स्थापित गर्दै हुनुहुन्छ भने ‘डोमेन नेम’ निकै महत्त्वपूर्ण हुन्छ ।

डोमेन नेम एउटा वेबसाइटको भौतिक नाम हो । तपाईंको भौतिक ठेगाना वा फोन नम्बरजस्तै डिजिटल संसारमा दुई समान डोमेन नेम हुन सक्दैनन् । डोमेन नेमलाई आईपी एड्रेसको पोइन्टर भनेर पनि बुझ्न सकिन्छ ।

तपाईंले आफ्नो ब्राउजरको एड्रेस बारमा सर्च गर्ने डोमेन नेम (जस्तै techpana.com ) को आईपी एड्रेस (104.21.7.40) लाई ब्राउजर (क्रोम, एज, फायरफक्स आदी ) ले पहिचान गर्छ र सम्बन्धित वेब  पेजमा पुर्‍याउँछ । ‘डोमेन नेम’ ले मानिसहरूलाई तपाईंको वेबसाइटमा पहुँच  राख्न सजिलो बनाउँछ । त्यसैले यो सरल र सजिलै याद गर्न सकिने किसिमको राख्दा उपयुक्त हुन्छ ।

डोमेन नेमका लागि किन शुल्क तिर्नुपर्छ ?

तपाईंले स्तरीय एक्सटेन्सन (.com, .org, .net आदि) डोमेन नेम लिनुपर्‍यो भने शुल्क तिर्नुपर्ने हुन्छ । नेपालमा डटएनपी (.np) एक्सटेन्सन निःशुल्क लिन पाइन्छ । तर, त्यसका लागि आधिकारिक कागजात र आधिकारिक प्रक्रिया अपनाउनुपर्ने हुन्छ ।

कतिपय वेबसाइटले सबडोमेन उपलब्ध गराउने व्यवस्था गरेका हुन्छन् । त्यस्तो डोमेन निःशुल्क पाउन सकिन्छ । उदाहरणका लागि xyz.wordpress.com डोमेन लिन प्रयोगकर्ताले कुनै शुल्क तिर्नुपर्दैन ।

तर, के तपाईंलाई थाहा छ, सन् १९९५ अघि जोसुकैले जस्तोसुकै डोमेन नेम निःशुल्क दर्ता गर्न सक्थे । ​त्यसबखत विश्वभर इन्टरनेट विस्तार भइरहेको थियो । अहिलेका चर्चित फेसबुक, गुगल, युट्युब, विकिपिडिया जस्ता कम्पनी अस्तित्वमा आइसकेका थिएनन् । इन्टरनेट व्यक्ति विशेषले प्रयोग गर्ने भन्ने अवधारणा आइसकेको थिएन । सरकारी निकायले सरकारी प्रयोजनका लागि इन्टरनेट प्रयोग गर्थे । कतिपय शैक्षिक संस्था, अनुसन्धानकर्ताले अन्य विभिन्न परियोजनाको जानकारी राख्न वा इन्टरनेटमा राखिएका जानकारीमा पहुँच पाउन इन्टरनेट प्रयोग गर्थे ।

यसो त डोमेन नेम सिस्टम (डीएनएनस) १९८० को दशकमा आएको मानिन्छ । विशेषगरी  इन्टरनेटमा कम्प्युटर र सर्भरहरू पहिचान गर्ने तरिकालाई व्यवस्थित र सरल बनाउन डीएनएस प्रयोगमा ल्याइएको थियो । तर, डोमेन दर्ता गरेर त्यसलाई व्यवस्थित राख्ने भन्ने थिएन । इन्टरनेटमा भएका डोमेन नेमलाई नियमन गर्ने त्यस्तो कुनै निकाय थिएनन् । इन्टरनेटको बढ्दो प्रयोगसँगै विभिन्न कम्पनी तथा संघसंस्थाले आफ्नो अस्तित्व इन्टरनेटमा कायम गर्न त्यही अनुसारको नाम लिन थालेका थिए । 

सन् १९९२ ताका इन्टरनेट असाइन्ड नम्बर्स अथोरिटी (आईएएनए)ले डोमेन नाम दर्ता गर्ने कार्यलाई इन्टरनेट कर्पोरेसन फर असाइन्ड नेम्स एन्ड नम्बर्स (आईक्यान-ICANN) भनिने नयाँ संस्थालाई सुम्पियो ।

सन् १९९५ ले डोमेन नामको इतिहासले एउटा महत्त्वपूर्ण मोड लियो । किनकि यो त्यही वर्ष हो, जब डोमेन नेमको दर्ता थप विनियमित र व्यवसायीका मोडेलतर्फ अघि बढ्न थाल्यो । यो भन्दा पहिले, व्यक्ति र संस्थाहरूले अनिवार्य रूपमा कुनै पनि डोमेन नाम छनोट गर्न सक्थे र त्यसका लागि कुनै शुल्क तिर्नुपर्थेन । 

डोमेन नेमलाई आकार दिन डोमेन दर्ता शुल्कको परिचय एक प्रमुख कारक बनेको थियो । यसले गर्दा डोमेन नेम सिस्टम व्यवस्थापन र मर्मत गर्न आवश्यक पूर्वाधारका लागि रकम सङ्कलन गर्न मद्दत पुग्यो । शुल्कमा आधारित प्रणाली आएसँगै चर्चित शब्दहरूको नाम राखेर डोमेन निःशुल्क लिने र त्यसलाई फाइदामा बिक्री गर्ने प्रवृत्ति पनि घट्यो । 

आईक्यानको स्थापनासँग, डोमेन नाम व्यवस्थापन गर्न एक संगठित प्रणाली लागू गरियो । आईक्यानले केही व्यक्ति र संस्थाले डोमेन नेम दर्ता गरिदिने र त्यस वापत शुल्क लिने व्यवस्था गर्दै रजिस्ट्रारको प्रणाली ल्यायो । यस संरचनाले डोमेन दर्ता प्रक्रियालाई व्यवस्थित र मर्यादित बनाउन सहयोग गरेको थियो । 

पूर्वाधार तथा मर्मत खर्च

डोमेन नेम दर्ता तथा व्यवस्थापन गर्न प्राविधिक पूर्वाधार बनाउनुपर्ने हुन्छ । यसमा विशेषगरी सर्भर, डेटाबेस तथा दर्ता प्रक्रिया व्यवस्थापन गर्ने नेटवर्कको पूर्वाधार तथा नवीकरण गर्न शुल्क लाग्छ । डोमेन दर्ता गरेर सङ्कलन भएको रकम प्राविधिक पूर्वाधार सुधार तथा व्यवस्थापनमा खर्च हुन्छ । 

प्रशासनिक खर्च 

डोमेन नेम दर्ता तथा व्यवस्थापनमा थुप्रै प्रक्रियाहरू आउँछन् । विशेषगरी दर्ता गर्न खोज्ने व्यक्ति वा संस्थाको प्रमाणीकरण, विवादहरूको समाधान तथा समग्र प्रणाली व्यवस्थापन गर्नुपर्ने हुन्छ । यस्तोमा डोमेन दर्ता गर्दा सङ्कलन भएको रकम प्रयोग गरिन्छ ।  

सुरक्षा 

इन्टरनेटमा नोमेन नेमलाई सहजै काम गर्न सक्ने अवस्था सिर्जना गर्न डीएनएसको सुरक्षा र स्थिरता सुनिश्चित गर्नु निकै महत्त्वपूर्ण हुन्छ । डोमेन रजिस्ट्रेसनबाट सङ्कलन गरिएका शुल्कले सुरक्षा उपायहरू फेला पार्न, सही ढङ्गले कार्यान्वयनमा ल्याउन सहयोग गर्छ । 

दुरुपयोग हुनबाट रोक्न 

डोमेन दर्ताका लागि शुल्क तोक्नाले डोमेन स्क्वाटिङ तथा दुरुपयोग गर्ने गतिविधिलाई रोक्न मद्दत गर्छ । डोमेन स्क्वाटिङ भनेको नाफामा बेच्ने वा अरूलाई प्रयोग गर्नबाट रोक्नका लागि डोमेन नेम दर्ता गर्ने काम हो ।

शुल्क तिर्ने प्रणाली हुँदा प्रयोगकर्ताले जुन योजनाका साथ डोमेन लिएको हो त्यसैमा सदुपयोग गर्ने सम्भावना बढी हुन्छ । डोमेन नेम सही र वास्तविक उद्देश्यमा बढी प्रयोग हुन् भन्ने मान्यताले पनि शुल्क लिने गरेको विभिन्न रिपोर्टले उल्लेख गरेका छन् । 

जिम्मेवार भएर प्रयोग गर्न प्रोत्साहन 

दर्ता शुल्क लागू गर्नाले डोमेन नेम जिम्मेवार प्रयोगलाई प्रोत्साहन गरेको हुन्छ । जब व्यक्ति वा संस्थाले डोमेनमा वित्तीय लगानी गर्छन् तब उनीहरूले यसलाई वैध उद्देश्यका लागि प्रयोग गर्ने सम्भावना बढी हुन्छ । विशेषगरी नि:शुल्क वा सजिलैसँग डिस्पोजेबल डोमेनहरू स्क्याम, फ्रड तथा फिशिङमा बढी प्रयोग हुन्छन् । 

त्यसबाहेक डोमेन दर्ता गर्दा लागेको शुल्क आईक्यानले आयोजना गर्ने विभिन्न कार्यक्रम, खोज तथा अनुसन्धान, नवीनतम प्रयोग आदिमा खर्च गर्ने गर्छ । यसले गर्दा डीएनएस व्यवस्थापनमा नयाँ नयाँ प्रयोग भइरहेका हुन्छन् । 

प्रिमियम डोमेन के हो ? किन सबै डोमेनको मूल्य एउटै हुँदैन ? 

प्रिमियम डोमेन त्यस्तो डोमेन हो, जसलाई अरू कसैले पहिले नै दर्ता गरिसकेको हुन्छन् । र, पछि त्यसैलाई प्रयोगमा ल्याइएको, नल्याइएको वा बिक्रीका लागि राखेको हुन सक्छ । आजका दिनममा विश्वभर आठ करोड बढी डटकम डोमेन दर्ता भइसकेका छन् । यसको अर्थ तपाईंले परिचित लाग्ने डोमेन नेम फेला पार्न निकै सकस पर्ने अवस्था आइसकेको छ ।

इन्टरनेटको बढ्दो प्रयोगसँगै यस्ता चिरपरिचित शब्द भएको डोमेन नेम अरू कसैले लगिसकेको हुन्छ । कसैले कुनै डोमेन नेम दर्ता गरेको छ र उक्त नाम परिचित हुने थाहा पाएमा त्यसलाई बिक्रीका लागि राख्न सक्छ ।

कहिलेकाहीँ कुनै डोमेनको नेमको मूल्य उही रहिरहन सक्छ, तर कहिले भने उक्त डोमेनको मूल्य करौडौंमा हुन सक्छ । उदाहरणका लागि सन् २००८ मा पिज्जा डटकम डोमेन २६ लाखमा र सन् १९९९ मा बिजनेस डटकम डोमेन नेम ७५ लाख डलरमा बिक्री भएको थियो ।

सबै डोमेनको मूल्य त्यही हुन्छ भन्ने हुँदैन । हुन त डोमेन नेम दर्ता गरिदिने रजिष्ट्रार कम्पनीले बीचमा कमिसन लिएका हुन्छन् । त्यसैले पनि डोमेन नेमको मूल्य यति नै पर्छ भन्न सकिंदैन । कसैले त्यही डोमेनलाई सस्तोमा दिएका हुन्छन् भने केहीले महँगोमा दिएका हुन्छन् । तर, पहिले कसैले दर्ता नगरेको डोमेन नेमलाई भने त्यति धेरै शुल्क तिर्नु पर्दैन ।

डोमेन नेमलाई केही कम्पनीले १०० वर्षसम्म नवीकरण गर्न नपर्ने सुविधा पनि ल्याएका छन् । तर, सामान्यतः एउटा डोमेनलाई बढीमा १० वर्षसम्मका लागि दर्ता गर्न सकिन्छ । त्यति लामो समयका लागि दर्ता गर्दा धेरै शुल्क तिर्नुपर्ने हुन्छ । त्यसैले मानिसहरूले आफ्नो आवश्यकता र आर्थिक अवस्था हेरेर सीमित समयका लागि डोमेन दर्ता गर्छन् ।

उक्त डोमेन एक्सपायर भइसकेपछि त्यो जोकोहीले दर्ता गर्न सक्ने गरी उपलब्ध हुन्छ । हो, यसरी जोकोहीले प्रयोग गर्न सक्ने गरी उपलब्ध हुँदा कसैले पहिले दर्ता गरिसकेको डोमेन पछि सस्तोमा खरिद गर्न सकिन्छ ।

पछिल्लो अध्यावधिक: माघ २७, २०८० १२:२०