close

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले एआईको सहयोगमा जेलबाट दिए भाषण

टेकपाना टेकपाना

माघ २७, २०८० १४:१३

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले एआईको सहयोगमा जेलबाट दिए भाषण

काठमाडौं । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानले एआईको सहयोगमा जेलबाट भाषण दिएका छन् । पूर्वप्रधानमन्त्री खानले एआई प्रयोग गरेर तयार पारिएको एक भिडिओमार्फत आफूहरूले चुनाव जितेको दाबीसहित भाषण गरेका हुन् ।

उक्त भाषणको भिडिओ खानको एक्स अकाउन्टबाट आज (शनिबार) बिहानै सार्वजनिक भएको थियो । भिडिओमा खान क्यामेराको अघि बसेर बोलेको देखिन्छ । तर त्यो भिडिओ उनी जेल पर्नुअघिको रेकर्ड गरिएको थियो । त्यस्तै भोइस क्लोन गरी तयार पारिएको खानको आवाज मात्र त्यो भिडिओमा हालिएको छ ।

त्यसकारण बोल्ने क्रममा हुने मुखको चाल र उनको आवाज नमिलेको भिडिओमा देख्न सकिन्छ । यो भिडिओ खानका राजनीतिक प्रतिद्वन्द्वी एवं पूर्वप्रधानमन्त्री नवाज शरीफले चुनावमा विजयी भएको दाबी गरेको केही घण्टापछि आएको थियो ।

यसकारण भिडिओमा खानले आफ्ना समर्थकहरूलाई प्राप्त भएको जीत मनाउन आह्वान गरेका छन् । त्यस्तै नवाज शरीफको पहिलेको दाबीलाई अस्वीकार गर्दै खानले मतदाताहरूलाई परिणामले सत्तामा रहेकाहरू ‘डराएको’ बताएका छन् ।

यद्यपि एआई प्रयोग गरी खानले आफ्नो समर्थकका लागि भाषण दिएको यो पहिलो घटना होइन । चुनावअघि पनि खानले यसैगरी एआई प्रयोग गरी जेलबाटै भाषण दिएका थिए ।

हाल पाकिस्तानमा निर्वाचनको अन्तिम नतिजा आउन बाँकी नै छ । अहिलेसम्मको परिणाम हेर्दा खान र शरीफ दुवैको बहुमत पुग्ने देखिँदैन । यद्यपि सरकार गठन गर्न कुन दल सक्षम हुनेछ भन्ने कुरा अन्तिम परिणामपछि स्पष्ट हुनेछ ।

पछिल्लो अध्यावधिक: माघ २७, २०८० १४:२९