close

टाटाले भारतमा घटायो नेक्सन र टियागो ईभीको मूल्य, के नेपालमा पनि सस्तो होला ?

टेकपाना टेकपाना

फागुन २, २०८० १७:४४

टाटाले भारतमा घटायो नेक्सन र टियागो ईभीको मूल्य,  के नेपालमा पनि सस्तो होला ?

काठमाडौं । टाटा मोटर्सले भारतमा आफ्ना बिजुली कारको मूल्य घटाएको छ । यसअन्तर्गत टाटाले आफ्ना उत्पादन नेक्सन ईभी र टियागो ईभीको मूल्य घटाएको हो ।

भारतीय बजारमा नेक्सन ईभीको मूल्य अधिकतम एक लाख २० हजार भारु र टियागो ईभीको मूल्य ७० हजार भारुले घटेको छ ।

पछिल्लो समय ब्याट्री सेलको मूल्य घटेकाले ईभीको मूल्य घटाएको कम्पनीले जनाएको छ । लङ रेन्ज (४६५ किलोमिटर) नेक्सन ईभीको मूल्य एकैपटक एक लाख २० हजार भारुले  घट्दा मिडियम रेन्ज नेक्सन ईभीको मूल्य २५ हजार भारुले घटेको छ ।

योसँगै भारतमा लङ रेन्ज भेरियन्टको बिक्री मूल्य १६ लाख ९९ हजार र मिडरेन्ज भेरियन्टको मूल्य १४ लाख ४९ हजार भारू कायम गरिएको छ ।
 

त्यसैगरी, टियागो ईभीको मूल्य पनि ७० हजार भारुले घटेको छ । अब यो गाडीको मूल्य भारतीय बजारमा सात लाख ९९ लाख हजार रुपैयाँ रहेको छ ।

टाटा मोटर्सले भारतीय बजारमा यी दुई ईभीको मूल्य घटाउने निर्णय गरेपनि अन्तर्राष्ट्रिय बजारमा घट्ने/नघट्ने केही खुलाएको छैन ।

टाटा मोटर्सको नेपालस्थित आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले यसबारे कुनै सूचना नआएको बताएको छ । सिप्रदीका एक अधिकारीका टाटाले भारतीय बजारका लागि मात्रै मूल्य घटाएको हुनसक्ने बताए । ''टाटा मोटर्सले अन्तर्राष्ट्रिय बजारका लागि मूल्य घटाएको छैन । त्यता निर्णय परिवर्तन नहुँदासम्म हाम्रो यहाँको बजारमूल्य स्थिर नै रहन्छ,'' उनले भने ।

पछिल्लो अध्यावधिक: फागुन २, २०८० १७:५९