close

‘यन्त्र’ मा नेपाल सहित ४ देशका रोबोटहरूबीच प्रतिस्पर्धा, यी टिमले जिते उपाधि

टेकपाना टेकपाना

फागुन ४, २०८० १८:४

‘यन्त्र’ मा नेपाल सहित ४ देशका रोबोटहरूबीच प्रतिस्पर्धा, यी टिमले जिते उपाधि

काठमाडौं । रोबोटिक्स एसोसिएसन अफ नेपाल (र्‍यान) को आयोजनामा राजधानीमा नवौं संस्करणको ‘यन्त्र’ कार्यक्रम गरिएको छ । नेपालकै ठूलो रोबोटिक्स कार्यक्रमका रूपमा २८ र २९ माघमा भएको ‘यन्त्र’ मा रोबोट सम्बन्धी विभिन्न प्रतियोगिता सञ्चालन गरिएकाे थियाे । 

यस अन्तर्गत यन्त्र बिजनेस एक्स्पो, यन्त्र किड्स, यन्त्र टिन्स, यन्त्र वार्ज, यन्त्र इन्टरनेसनल लिग (फुटबल) र यन्त्र स्वरमानोइड गरी छ ओटा प्रतियोगिता भएका थिए ।

यी प्रतियोगितामध्ये यन्त्र बिजनेस एक्स्पोमा सेन्ट जेभियर्स टिमलाई हराउँदै पूर्वाञ्चल क्याम्पस, धरान* विजयी भएकाे थियो । त्यस्तै यन्त्र टिन्समा महेन्द्रनगरको रोबो रेन्जर्सले टिम गोल्डेनगेट टिमलाई पराजित गर्दै उपाधि हासिल गरेको थियो ।

यन्त्र किड्समा भने सम्पदा टिमले आफ्नै अर्को समूहलाई हराउँदै पहिलो भएको थियो । साथै यन्त्र इन्टरनेसनल लिगमा टिम डिस्ट्रक्टर्स विरुद्ध बट माइन्ड्सले जित हासिल गरेको थियो ।

यता भारतको प्रतिनिधित्व गर्दै आएको इनभिन्सिबल्सले ३० केजीको यन्त्र वार्ज नामक रोबोट ब्याटल आफ्नो पक्षमा पार्न सफल भयो । साथै पूर्वाञ्चल क्याम्पस, धरानको* अर्को टिमले यन्त्र स्वरमानोइडमा हिमालयन रोबोटिक्स क्लबलाई उछिनेर पहिलो स्थान कब्जा गर्‍याे । 

प्रतियोगितामा १०० भन्दा बढी टिमले भाग लिएका थिए, जसमा भारत, बंगलादेश, आइभरी कोस्ट लगायतका देशबाट आएका टिम समेत थिए ।

कोरोना महामारीपछि पहिलो पटक भएको ‘यन्त्र’ मा सञ्चालन गरिएका प्रतियोगिताको कूल पुरस्कार राशि १० लाख रुपैयाँ रहेको थियो ।

(*समाचारमा पूर्वाञ्चल क्याम्पस, धरान हुनुपर्नेमा अन्यथा भएकाले सच्याइएको छ । सं.)

पछिल्लो अध्यावधिक: फागुन ४, २०८० १९:२३