close

पीडितलाई आर्थिक सहायता दिने वैदेशिक रोजगार बोर्डको सफ्टवेयर एक सातादेखि डाउन

टेकपाना टेकपाना

फागुन ५, २०८० १८:१६

पीडितलाई आर्थिक सहायता दिने वैदेशिक रोजगार बोर्डको सफ्टवेयर एक सातादेखि डाउन

काठमाडौं । वैदेशिक रोजगार बोर्डको अनलाइन सफ्टवेयर (FEWIMS) नचल्दा वैदेशिक रोजगारीमा गई मृत्यु भएका तथा अङ्गभङ्ग भएका कामदार र परिवारलाई प्रदान गरिने आर्थिक सहायता वितरण रोकिएको छ । 

एक साताअघि सफ्टवेयरको सर्भरमा समस्या आएकाले मर्मत भइरहेको बोर्डका प्रवक्ता एवं सूचना अधिकारी टीकाराम ढकालले जानकारी दिए । उनका अनुसार १५ वर्षदेखिका डेटा र डकुमेन्टसहित अपलोड गरिएका कागजातले गर्दा मेमोरी भरिएर सफ्टवेयरमा समस्या आएको हो । 

सफ्टवेयरले काम नगरे पनि ईमेल वा भौतिक रुपमा उपस्थित भई दिइएका निवेदनको संकलन कार्य भने जारी रहेको उनले जनाए । 

स्थानीय तहबाटै वैदेशिक रोजगार बोर्डको आर्थिक सहयोग लिन सकिने गरी चैत २०७८ मा अनलाइन प्रणाली सञ्चालनमा ल्याइएको थियो । श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका कामदारको करार अवधि वा करार अवधि समाप्त भएको एक वर्षभित्र कुनै कारणले मृत्यु, अङ्गभङ्ग वा गम्भीर बिरामी भएमा घटना भएको मितिले एक वर्षभित्र बोर्डबाट आर्थिक सहायता वा क्षतिपूर्ति पीडित वा पीडितको परिवारले माग्न सक्नेछ । 

बोर्डकाे सचिवालयमार्फत क्षतिपूर्ति लिन अनलाइनबाटै आवेदन दिएर सिधै बैंक खातामा भुक्तानी लिन सकिने व्यवस्था लागू गरिएको छ । पीडितले आर्थिक सहयोगका लागि आफ्नै स्थानीय तहमार्फत अनलाइन माध्यमबाट निवेदन दिन सकिने मिलाइएकोमा सफ्टवेयरले काम नगर्दा सेवाग्राही मर्कामा परेका हुन् ।

पछिल्लो अध्यावधिक: फागुन ५, २०८० १८:१८