close

एआई च्याटबटसँग तपाईँले गरेको कुराकानी कत्तिको सुरक्षित होला ?

टेकपाना टेकपाना

फागुन ६, २०८० ११:४७

एआई च्याटबटसँग तपाईँले गरेको कुराकानी कत्तिको सुरक्षित होला ?

काठमाडौं । आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को इतिहास केही पुरानो भएपनि यसमा आधारित एप्लिकेसनहरूको विकासले अहिलेको समयमा खरायोको गति लिएको छ । समय धेरै भएको छैन, तर ओपनएआईको च्याटजीपीटीपछि नामै सम्झन नसक्ने गरी एआई टुलहरू विकास भइरहेका छन् ।

अझ पछिल्लो समयमा मानव जीवनको आधारभूत पक्षलाई नै त्यस्ता टुलले प्रभाव पार्न थालेका छन् । ती मध्येको एउटा उदाहरण, कुराकानीमा हो । कुरा गर्ने साथी/परिवारको ठाउँमा कतिपय त्यस्ता टुल देखिन थालेका छन् । सामान्य सोधपुछबाहेक व्यक्तिगत कुराकानी सम्मको गहिराइमा जान थालिसकेको छ, त्यस्ता टुलसँगको कुराकानी । अनि आफ्नो मन बुझ्ने मान्छे नभेटेकाले एआई टुलसँग कुरा गर्न अभ्यस्त जमातबारेको समाचार आइरहेका छन् । 

यस्तोमा प्रश्न आउँछ, के त्यस्ता एआई टुलसँग गरिएका कुराकानी सुरक्षित छन् ? गोप्य हुन्छन् ? अथवा सुरक्षित छन् भने पनि कुन तहसम्म सुरक्षित हुन्छन् ? विशेषगरी च्याटबटहरूको द्रुत विकासले यस्ता प्रश्न सतहमा ल्याइदिएका छन् ।

किनकी सम्झनुपर्ने कुरा, ती च्याटबट हुन् । मसिन हुन् । मान्छे होइनन् । अनि ती कुराकानी कतै भण्डारण गरिएको हुन्छ । जसको पछाडि कुनै कम्पनी अथवा व्यक्ति हुन्छन् ।

'लाइफ ह्याकर'का पत्रकार जस्टिन पटले यसबारे एक घटना शेयर गरेका छन् । आफ्नो कलेजताका (२००४) उनले एक पटक सामान्य च्याटबट प्रयोग गरेका थिए । त्यो बटको काम त्यतिबेलाको प्रख्यात अनलाइन मेसेजिङ प्लेटफर्म एओएल इन्स्ट्यान्ट मेसेन्जर (एआईएम) मा उनी नहुँदा पनि प्रश्न गर्नेलाई उत्तर दिनु थियो । तर त्यस बटसँग व्यक्तिगत कुराकानी गर्दा उनी झन्डै फसेका थिए । 

उनले आफ्ना साथीका बारेमा बटलाई नराम्रो कुराकानी सुनाएका थिए । उक्त साथीले एआईएममा मेसेज गर्दा बटले भने त्यही नराम्रो कुराकानी पठाइदियो । त्यसपछि उनले तत्कालै च्याटबटलाई डिलिट गरे ।

पत्रकार पट २० वर्षपछि पनि एआई च्याटबटमा त्यस्तै गोपनीयताको समस्या भएको सुनाउँछन् । माथिको घटना केलाउँदै उनी अहिलेका एआई च्याटबटले पनि तपाईंले पहिल्यै भनेका कुरा पढ्न र दोहोर्‍याउन सक्छन् । उनले भनेको कुरालाई भने अहिलेका  कतिपय कम्पनीहरूले घुमाउरो तरिकाले स्वीकारेको पनि देख्न सकिन्छ ।

एआई च्याटबटमा निजी कुराकानी

अर्का प्रविधि पत्रकार जेक वालेन जेमिनाई (पहिलेको बार्ड)को गोपनीयता नीतिमा बटसँग गरिएका सबै कुराकानी तीन वर्षसम्म भण्डार हुने र गुगलका कर्मचारीहरूले नियमित रूपमा डेटा समीक्षा गर्ने बताउँछन् ।

साथै गोपनीयता नीतिमा बटलाई आफ्नो कुनै पनि निजी कुराकानी शेयर नगर्नू भनेर स्पष्ट पारिएको छ । उनी भन्छन्, ‘आफ्नो एआई मोडेलको सुधार गर्न तपाईंको कुराकानीलाई प्रयोग गर्न गुगलले यो स्पष्ट रूपमा भनेको हो ।’

यद्यपि त्यही गोपनीयता नीतिमा कर्मचारीहरूले फोन नम्बर, इमेल एड्रेस जस्ता निजी डेटा हटाउन काम गर्ने उल्लेख गरिएको छ । किनकी त्यस्ता टुलहरू जहिल्यै पनि जोखिममा हुन सक्छन् । जस्तो: गत वर्षको अन्त्यमा च्याटजीपीटीको पहिलो पटक डेटा चुहावट भएको थियो । 

च्याटजीपीटीकै कुरा गर्दा त्यसमा च्याट हिस्ट्री बन्द गर्ने विकल्प ओपनएआईले दिएको छ । त्यसो गर्दा बटमा गरिएका कुराकानी ३० दिनसम्म मात्र रहन्छन् । तर तिनलाई एआई मोडेलको तालिममा प्रयोग गरिँदैन ।

तर यसो नगरे खुल्लेआममा रूपमा ओपनएआईले ती कुराकानी मोडेलको सुधारका लागि प्रयोग गर्न सकिने बताएको छ । यता माइक्रोसफ्टले भने कोपाइलट (पहिलेको बिङ)मा गरिएका कुराकानी मोडेल सुधार्न प्रयोग गर्न नपाइने स्पष्ट पारेको छ । यद्यपि त्यो सशुल्क मोडेल तिरेर प्रयोग गर्ने प्रयोगकर्ताहरूको खण्डमा मात्र माइक्रोसफ्टले भनेको हो ।

हामीले माथि चर्चा गरेका कम्पनीहरू यी क्षेत्रका ठूला खेलाडी हुन् । त्यसले गर्दा पनि यी कम्पनीका नीति स्पष्ट र भरपर्दो हुनु स्वाभाविक मान्न सकिन्छ ।

उनीहरूले प्रयोगकर्ताको व्यक्तिगत जानकारी नबेच्ने विषय पनि नीतिमा स्पष्ट पारेका छन् । तर अर्का प्रविधि पत्रकारका थोमस जर्मेनले एआई ‘गर्लफ्रेन्ड’ जस्ता मनोरञ्जन केन्द्रित च्याटबटले प्रयोगकर्ताहरूलाई निजी जानकारी साझा गर्न प्रोत्साहित गरिरहेको लेखेका थिए । 

तपाईंले बुझ्नुपर्ने कुरा के छ भने च्याटबट गरिएका कुराकानी, जुन डेटा हुन्, चुहावट मात्र हुँदैनन् । बेचिन पनि सक्छन् । अहिले हजारौंको संख्यामा रहेका त्यस्ता कम्पनीहरूले निजी जानकारी सङ्कलन र बिक्री गरिरहेका छन् ।

यसकारण नयाँ र अपरिचित च्याटबटसँग कुरा गर्दा तपाईं सतर्क हुनु अनिवार्य छ । विशेष गरेर निजी कुराकानी गर्ने, फोन नम्बर, ठेगाना, बैङ्किङ विवरण, सरकारी कागजपत्र लगायतका महत्त्वपूर्ण जानकारी उपलब्ध गराउने सन्दर्भमा त झन् तपाईं कठोर हुन पर्छ । किनकी धेरै हदसम्म त्यस्ता एआई च्याटबटमा गरिएका कुराकानीलाई सुरक्षित बनाउने जिम्मा तपाईंकै हो ।

पछिल्लो अध्यावधिक: फागुन ६, २०८० १२:३