close

नेपालको अर्थतन्त्रमा क्रान्तिकारी परिवर्तन ल्याउने क्षेत्र आईटी नै होः प्रचण्ड

टेकपाना टेकपाना

फागुन ६, २०८० १४:१९

नेपालको अर्थतन्त्रमा क्रान्तिकारी परिवर्तन ल्याउने क्षेत्र आईटी नै होः प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको अर्थतन्त्रमा क्रान्तिकारी परिवर्तन ल्याउने क्षेत्र सूचना प्रविधि (आईटी) भएको बताएका छन् । प्रतिनिधि सभा बैठकमा आइतवार सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले देशको अर्थतन्त्रमा आईटीले क्रान्तिकारी परिवर्तन ल्याउन सक्ने बताएका हुन् ।

उनले संघीय संसदमा छिट्टै पेश हुन लागेको सूचना प्रविधि र साइबर सुरक्षा सम्बन्धी विधेयकको मस्यौदामा नेपालमै सूचना प्रविधि उद्योग र व्यवसायलाई प्रवर्द्धन र सहजीकरण गर्ने विषय समावेश गरिएको उल्लेख गरे । 

‘‘नेपालमा उत्पादित र आफ्नै अनुसन्धानमा आधारित सूचना प्रविधि प्रणालीको विकास र प्रयोगमा जोड दिने गरी नीति अनुरूप छिट्टै संघीय संसदमा पेश हुने तयारीमा रहेको सूचना प्रविधि र साइबर सुरक्षा सम्बन्धी विधेयकको मस्यौदामा मूलतः नेपालमै सूचना प्रविधि उद्योग र व्यवसालाई प्रवर्द्धन र सहजीकरण गर्ने तथा सूचना प्रविधि सम्बन्धी बिजनेस प्रोसेस आउटसोर्सिङ (बीपीओ) उद्योग व्यवसायलाई सञ्चालन गर्न सहजीकरण गर्ने विषयलाई प्राथमिकता दिइएको छ,’’ उनले भने । 

प्रधानमन्त्री प्रचण्डले अगाडि भने, ‘‘सरकार कुन कुरामा बडो स्पष्ट छ भने, आईटी सेक्टर नै त्यस्तो सेक्टर हो, जसबाट नेपालले अर्थतन्त्रमा एउटा क्रान्तिकारी परिवर्तन ल्याउन सक्छ । त्यो आधारको रुपमा यसलाई लिनुपर्छ भन्ने कुरा सरकार स्पष्ट रहेको छ ।’’ 

 

पछिल्लो अध्यावधिक: फागुन ६, २०८० १४:२०