close

अब नेपाली नागरिकता देखाएरै भारतमा सिमकार्ड किन्न पाइने

टेकपाना टेकपाना

फागुन ८, २०८० ११:४१

अब नेपाली नागरिकता देखाएरै भारतमा सिमकार्ड किन्न पाइने

काठमाडौं । अब नेपाली नागरिकहरूले भारतमा सहज रूपमा भारतीय सिमकार्ड लिन पाउने भएका छन् । भारतको सञ्चार मन्त्रालय अन्तर्गतको दूरसञ्चार विभागले नेपाल र भुटानका नागरिकहरूका लागि सिमकार्डको केवाईसी इन्स्ट्रक्सन संशोधन गर्दै यस्तो व्यवस्था ल्याएको हो ।

योसँगै अब नेपालबाट सिधै भारतमा जाने नेपालीहरूले आफ्नो राहदानी, मतदाता परिचय पत्र वा दूतावासले जारी गरेको परिचयपत्रको आधारमा भारतको सिम लिन सक्नेछन् । यद्यपि नेपालबाहेक अन्य स्थानबाट भारतमा प्रवेश गर्दा वैध भिसा र टिकटसहितको राहदानी अनिवार्य देखाउनु पर्नेछ ।

भारतका लागि नेपाली राजदूत डा. शंकरप्रसाद शर्माले भारतमा नेपालीहरूले सिमकार्ड लिन सास्ती भोग्नुपरेको भन्दै यसको अन्त्यका लागि औपचारिक अनुरोध गरेपछि केही हप्तामै भारतको विदेश मन्त्रालय र सञ्चार मन्त्रालयले यस्ताे कदम चालेको बताएका छन् । 

सिम कार्डको भ्यालिडिटी भने बसाइँ अवधि वा भिसा वैधतामा सीमित हुने बताइएको छ । यसअन्तर्गत भारतमा लामो समयसम्म बस्ने भएपनि एक पटकमा सिमकार्डको भ्यालिडिटी अधिकतम तीन महिनासम्मको हुनेछ ।

यस्तो सिममा  अन्तर्राष्ट्रिय रोमिङ अनुमति हुनेछैन । साथै अपरेटरहरूले भारतीय नियामकसँग सिमकार्डका ग्राहकहरूको विवरण पेश गर्नुपर्छ ।

पछिल्लो अध्यावधिक: फागुन ८, २०८० १२:१