close

इटहरीमा फागुन १० देखि वृहत् आईसीटी प्रदर्शनी ‘क्यान इन्फोटेक’ हुँदै

टेकपाना टेकपाना

फागुन ८, २०८० १२:४३

इटहरीमा फागुन १० देखि वृहत् आईसीटी प्रदर्शनी ‘क्यान इन्फोटेक’ हुँदै

इटहरी । क्यान महासंघ सुनसरी शाखाले इटहरीमा बृहत् सूचना सञ्चार प्रदर्शनी ‘क्यान इन्फोटेक २०२४’ गर्ने भएको छ । आउँदो बिहीबारदेखि पाँच दिनसम्म जनता माध्यमिक विद्यालयकौ मैदानमा हुने क्यान इन्फोटेकमा प्रविधि क्षेत्रका चर्चित ब्राण्डका साथै नेपाली प्रतिभा तथा आविष्कारको विशेष प्रदर्शनी हुने आयोजकले जनाएको छ ।

क्यान सुनसरीका अध्यक्ष सन्देश राईका अनुसार छैठौं संस्करणको यस इन्फोटेकमा सर्वसाधारणले सूचना प्रविधिसम्बन्धी जानकारी लिनुका साथै विभिन्न सामग्री, उपकरणहरु सुपथ मूल्यमा किन्न सक्नेछन् ।

इन्फोटेकमा नेपाली सफ्टवेयर कम्पनीका सफ्टवेयर, स्टार्टअप तथा स्वदेशी प्रविधिलाई प्रवद्र्धन गर्न छुट्टै प्याभिलियन निर्माण गरिएको छ । साथै सूचना प्रविधि र सफ्टवेयरको क्षेत्रमा विद्यार्थीहरुले करिअर परामर्श समेत लिन सक्ने अध्यक्ष राईले जनाए ।

सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा कार्यरत जनशक्ति, विज्ञ र व्यवसायीहरुको छाता संगठनका रूपमा रहेको क्यान महासंघले गत माघ २४ देखि २९ गतेसम्म राजधानीमा क्यान इन्फोटेक सञ्चालन गरेको थियो । यसपछि प्रदेशस्तरीय प्रदर्शनी गर्ने योजना अनुसार कोसी प्रदेशको इटहरीमा क्यान इन्फोटेक हुन लागेको हो ।

पछिल्लो अध्यावधिक: फागुन ९, २०८० ८:३३