close

एनसेलले बुझायो सबैभन्दा धेरै २ अर्ब २० करोड रोयल्टी-आरटीडीएफ, अरूको कति ?

टेकपाना टेकपाना

फागुन १०, २०८० १५:०

एनसेलले बुझायो सबैभन्दा धेरै २ अर्ब २० करोड रोयल्टी-आरटीडीएफ, अरूको कति ?

काठमाडौं । रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ) मा योगदान दिने दूरसञ्चार कम्पनीहरूमा एनसेल सबैभन्दा अगाडि रहेको पाइएको छ । कम्पनीले गत आर्थिक वर्ष २०७९/८० मा एक अर्ब ४७ करोड रोयल्टी र ७३ करोड ७५ लाख आरटीडीएफ गरी राज्यलाई कूल दुई अर्ब २० करोड ५७ लाख योगदान दिएको हो ।

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार एनसेलले गत आर्थिक वर्षमा दुवै शीर्षकमा पुर्‍याएको योगदान सबैभन्दा बढी हो । कम्पनीले आर्थिक वर्ष २०७८/७९ मा सरकारलाई बुझाएको रोयल्टी एक अर्ब ५८ करोड रुपैयाँ रहेको थियो । त्यसैगरी आरटीडीएफमा कम्पनीले ७९ करोड एक लाख रुपैयाँ योगदान दिएको थियो ।

प्रतिस्पर्धी सरकारी स्वामित्वको नेपाल टेलिकमले भने गत आर्थिक वर्ष २०७९/८० मा रोयल्टी एक अर्ब ४३ करोड रुपैयाँ र आरटीडीएफ बापत ७१ करोड ९३ लाख ५३ हजार रुपैयाँ बुझाएको छ ।

प्राधिकरणको कानून अनुसार दूरसञ्चार सेवाप्रदायकले आफ्नो प्रत्येक वर्षको कूल आम्दानीको चार प्रतिशत रोयल्टी र दुई प्रतिशत आरटीडीएफ राज्यलाई बुझाउनु पर्ने हुन्छ ।

प्राधिकरणका अनुसार पुस मसान्तसम्म ३१ ओटा कम्पनीले मात्रै गत आर्थिक वर्ष २०७९/८० को रोयल्टी र आरटीडीएफ बुझाएका छन् । यस्तो शुल्क बुझाउनेमा नेपाल टेलिकम, एनसेल, वर्ल्डलिंक, सुबिसु लगायत रहेका छन् ।

ती कम्पनीहरूले कूल चार अर्ब ८२ करोड १८ लाख रुपैयाँ तिरेका छन् । नेपाल दूरसञ्चार प्राधिकरणबाट इन्टरनेट सेवाको अनुमति प्राप्त गर्ने सेवा प्रदायकको सङ्ख्या मात्रै १२१ ओटा रहेको छ ।

तर त्यसमध्ये ९० ओटाले रोयल्टी र आरटीडीएफ दस्तुर बुझाउन बाँकी रहेको प्राधिकरणले जनाएको छ । सेवा प्रदायक कम्पनीहरूको आम्दानीमा आएको गिरावटका कारण यी शीर्षकमा उनीहरूले राज्यलाई बुझाउने रकमसमेत हरेक वर्ष घट्दै गएको छ ।

पछिल्लो अध्यावधिक: फागुन ११, २०८० १२:५५