close

बजारमा आयो नयाँ ईकमर्स प्लेटफर्म ‘डिजिटल साहुजी’, आईटी सामान मात्र बेच्ने

टेकपाना टेकपाना

फागुन १०, २०८० १६:२७

बजारमा आयो नयाँ ईकमर्स प्लेटफर्म ‘डिजिटल साहुजी’, आईटी सामान मात्र बेच्ने

काठमाडौं । नेपाली बजारमा आईटी सामान बेच्ने उद्देश्यसहित नयाँ ईकमर्स प्लेटफर्म ‘डिजिटल साहुजी’ सञ्चालनमा आएको छ । काठमाडौंको मायालु कम्प्लेक्समा बिहीबार भएको एक कार्यक्रमबीच यो प्लेटफर्मको औपचारिक सुरुआत भएको हो ।

विगत सात वर्षसम्म बजारको अनुसन्धान तथा परीक्षण गरेर मात्र डिजिटल साहुजी सञ्चालनमा ल्याएको कम्पनीका संस्थापक प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजन न्यौपानेले बताए । उनका अनुसार १७ वर्षयता आईटीसँग सम्बन्धित सामान डेलिभरी गर्दै आएको स्काई टेक प्रालिको ‘सिस्टर कम्पनी’का रुपमा डिजिटल साहुजी रहने छ ।

“आईटी प्रडक्टका लागि एउटा विश्वासिलो र सुरक्षित ईकमर्स प्लेटफर्म बन्ने हाम्रो लक्ष्य हो,” सीईओ न्यौपानेले भने, “आईटी शपिङलाई सहज र पहुँचयोग्य बनाउने मात्र नभइ ग्राहकको शपिङ, सिकाइ र व्यावसायिक यात्रालाई सहयोग पुर्‍याउने पनि हाम्रो लक्ष्य हो ।”

यस प्लेटफर्मले बिजनेस टू बिजनेस (बीटूबी) र बिजनेट टू कस्ट्युमर (बीटूसी) मार्फत आफ्नो व्यापार गर्ने छ । यसबाहेक कम्पनीले व्यवसाय सञ्चालन गरिरहेकाे व्यवसायी, व्यावसायिक ज्ञान र सीप सिकेर आफैं व्यवसाय गर्न इच्छुक विद्यार्थी तथा विभिन्न किसिमका ग्राहकलाई सेवा दिने उनले जानकारी दिए ।

वैदेशिक रोजगारीका लागि नेपालबाट विदेश जाने संख्या कम गर्न त्यसो गर्न लागेको कम्पनीको भनाइ छ। नेपालमा थुप्रै ईप्लेटफर्म रहेकोमा आधिकारिक उत्पादनमात्र बिक्री गर्ने भएकाले अन्य प्लेटफर्मभन्दा डिजिटल साहुजी फरक हुने सीईओ न्यौपानेले सुनाए ।

डिजिटल साहुजीले अनलाइन शपिङ गर्ने र पसलमै गएर किन्न चाहने दुवै खाला ग्राहकलाई सेवा दिने उनको भनाइ छ । डिजिटल साहुजीको एन्ड्रोइड एप डाउनलोड गर्न यहाँ र वेबमा जान यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: फागुन १०, २०८० १६:२७