close

भोलिदेखि सुरु हुँदै नेपाल-भारत अन्तरदेशीय क्यूआर भुक्तानी

टेकपाना टेकपाना

फागुन १५, २०८० १७:४४

भोलिदेखि सुरु हुँदै नेपाल-भारत अन्तरदेशीय क्यूआर भुक्तानी

काठमाडौं । बुधवार (भोलि)देखि नेपाल-भारत अन्तरदेशीय क्यूआर भुक्तानी सुरु हुने भएको छ । नेपालको भुक्तानी सञ्चालक फोनपे र भारतको नेसनल पेमेन्ट्स कर्पोरेसन अफ इन्डिया (एनपीसीआई) को अन्तर्राष्ट्रिय शाखा एनआईपीएलबीच नेपाल-भारत अन्तरदेशीय भुक्तानी सेवाको औपचारिक घोषणा भएको छ महिनापछि यस्तो सुविधा आउन लागेकाे हो ।

यसअन्तर्गत भारतमा भिमयूपीआई र फोनपे (PhonePe) भुक्तानी सेवाप्रदायक प्लेटफर्म प्रयोग गर्दै आएका ग्राहकले नेपालमा क्यूआरमार्फत भुक्तानी गर्न सक्नेछन् । यसका लागि नेपालको भुक्तानी सञ्चालक फोनपेले बुधवार (भाेलि) सिस्टम लाइभ गर्ने तयारी गरेको छ ।

फोनपेका अनुसार अन्तरदेशीय भुक्तानी (अन्तरदेशीय) का लागि हालसम्म ईसेवा र आधा दर्जन बढी बैंक आबद्ध भइसकेका छन् । यी वित्तीय संस्थाले मर्चेन्टका लागि वितरण गर्ने फोनपे क्यूआर कोडमा भारतीय सेवाग्राहीबाट भुक्तानी पाउन सक्ने बताइएको छ । 

“क्रस बोर्डर पेमेन्टका लागि फोनपेको सिस्टम तयार भइसक्यो । हामी सिस्टम भोलि नै लाइभ गर्दैछौं,” फोनपे निकट स्रोतले टेकपानासँग भन्यो, “हामीले बैंक र डिजिटल वालेटलाई त्यस सिस्टममा क्रमशः जोड्दै गइरहेका छौं ।”

भारतीय ग्राहकले नेपालमा भुक्तानी गर्न पाउने भएपनि नेपाली सेवाग्राहीले भने तत्काल भारतमा भुक्तानी गर्न पाउने छैनन् । यसका लागि फोनपेले नेपाल राष्ट्र बैंकको स्वीकृति पर्खिरहेको छ ।

“नेपालका ग्राहकले भारतमा भुक्तानी गर्न अझै एक-डेढ महिना पर्खनुपर्ने हुन्छ,” स्रोतले भन्यो, “नेपाली नागरिक भारतमा गएर भुक्तानी गर्न सक्ने विषयका लागि राष्ट्र बैंकमा पत्राचार गरिसकेका छौं । राष्ट्र बैंकले पनि कानून संशोधन गर्नुपर्ने कुरा उठेको छ । अबको डेढ महिनामा स्वीकृति दिने आश्वासन आएको छ ।”

भुक्तानी गर्दा लाग्ने सेवा शुल्क भने वालेट तथा वित्तीय संस्था आफैंले निर्धारण गर्नेछन् । फोनपेका अनुसार अन्तरदेशीय भुक्तानीका लागि इच्छुक भुक्तानी सेवाप्रदायक तथा वित्तीय संस्थाहरू आबद्ध हुन सक्नेछन् । 

डिजिटल वालेट ईसेवाले सामाजिक सञ्जालमा एक पोस्ट राख्दै अन्तरदेशीय भुक्तानी सुरु गर्ने सङ्केत दिइसकेको छ । “ईसेवा मर्चेन्टहरूले भारतीय ग्राहकबाट सजिलै फोनपे क्यूआर मार्फत भुक्तानी लिन पाए कस्तो हुन्थ्यो होला,” ईसेवाले राखेको पोस्टमा सोधिएको छ ।

क्याप्सनमा भने कम्पनीले आफ्ना मर्चेन्टको सहजताका लागि अन्तरदेशीय भुक्तानी प्रस्तुत गरेको जानकारी दिइएको छ । कहिलेदेखि सुरु हुन्छ भन्ने विषयमा भने ईसेवाले कुनै जानकारी दिएको छैन । अन्य भुक्तानी सेवाप्रदायक तथा वित्तीय संस्थाहरूले भने छुट्टाछुट्टै आफ्नो सिस्टममा अन्तरदेशीय भुक्तानी सेवा सुरु भएको जानकारी दिनेछन् ।

पछिल्लो अध्यावधिक: फागुन १६, २०८० ९:५७