close

अब सगरमाथा आरोहीका लागि विद्युतीय चिप अनिवार्य

टेकपाना टेकपाना

फागुन १६, २०८० १३:४७

अब सगरमाथा आरोहीका लागि विद्युतीय चिप अनिवार्य

काठमाडौं । अब सगरमाथा आरोही तथा माउन्टेन गाइडले अनिवार्य रूपमा विद्युतीय चिप्स प्रयोग गर्नुपर्ने भएको छ । खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन सरकारले आरोहीहरूको ज्याकेटमा चिप जडान अनिवार्य गरेको हो । पर्यटन विभाग अन्तर्गतको पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङका अनुसार आउँदो चैतदेखि सबै आरोहीका लागि विद्युतीय चिप्स जडान अनिवार्य गरिएको छ ।

‘‘गत वर्षको स्प्रिङ सिजनदेखि नै चिप अनिवार्य बनाउने योजना राखिएपनि समय अभावका कारण कार्यान्वयन गर्न नसकिएको उनले बताए । ‘‘आरोहणका क्रममा कुनै दुर्घटना भई आरोही वा माउन्टेन गाइड हराएमा खोज तथा उद्धार कार्य सजिलो होस् भनेर अनिवार्य गरिएको हो,’’ उनले टेकपानासँग भने ।

यस्तो चिप एजेन्सीहरूले नै आरोहीहरूका लागि उपलब्ध गराउनेछन्, जसको मूल्य १० देखि १५ डलरसम्म पर्ने बताइएको छ । ‘‘पहिले पनि चल्तीका एजेन्सीहरूले चिप्स प्रयोगमा ल्याइसकेका छन् । अब भने सबैका लागि अनिवार्य गरिएको हो,’’ गुरुङले भने ।

गुरुङका अनुसार जीपीएस डिभाइसको ब्याट्री केही दिनसम्म टिकेपनि चिप भने महिनौंसम्म केही नहुने भएकाले खोज तथा उद्धारका लागि यो प्रभावकारी हुनेछ । कैयौँ फिट हिउँमुनि आरोही पुरिएको हुनसक्ने अवस्थामा समेत चिपबाट आरोही भएको स्थान पत्ता लगाउन सकिने उनले सुनाए । 

‘‘आरोही हिँउमा पुरिए पनि चिपमा कुनै क्षति हुँदैन । हामीले डिटेक्टरमार्फत त्यो व्यक्ति (आरोही) कुन लोकेसनमा छ भनेर लोकेट गर्न सक्छौं,’’ उनले भने ।

चिप प्रयोग भए/नभएको बारे सगरमाथा आधार शिविरमा अवस्थित फिल्ड कार्यालयमा बस्ने कर्मचारीहरूले सगरमाथा प्रदूषण नियन्त्रण समितिसँग सहकार्य गरेर अनुगमन गर्ने पनि गुरुङले सुनाए । साथै, अन्य हिमाल आरोहीहरूका लागि समेत यस्तो चिप अनिवार्य गर्न लागिएको उनले बताए ।

पछिल्लो अध्यावधिक: फागुन १६, २०८० १४:१