close

क्यूआर स्क्यान गरी काठमाडौंका सम्पदाबारे विभिन्न १० भाषामा अडिओ सहित जानकारी लिन सकिने

टेकपाना टेकपाना

फागुन १८, २०८० ८:२९

क्यूआर स्क्यान गरी काठमाडौंका सम्पदाबारे विभिन्न १० भाषामा अडिओ सहित जानकारी लिन सकिने

काठमाडौं । क्यूआर कोडमार्फत काठमाडौंका सम्पदाबारे जानकारी पाउन सकिने भएको छ । काठमाडाैं महानगरपालिकाभित्र रहेका नन्दीकेशर मन्दिर, शंकरकीर्ति महाविहार र नक्साल भगवती मन्दिरको चिनारी सम्बन्धी जानकारी दिनेगरी क्यूआर कोड राखिएको हाे ।

सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक महत्त्व बोकेका स्मारक घुम्न आउने आगन्तुकहरूले सजिलै जानकारी पाउन सकून भनेर यस्तो प्रविधि प्रयोग गरिएको वडा नं. १ का अध्यक्ष भरतलाल श्रेष्ठले जानकारी दिए ।

‘‘अहिले घुम्न आउने जसले पनि स्मार्टफोन बोकेको हुन्छ । क्यूआर स्क्यान गरेपछि मन्दिरको प्राचीन इतिहास, यससँग सम्बन्ध जोडिएका जात्रा पर्व, सामाजिक तथा धार्मिक संस्कारलगायत विषय जान्न कसैलाई सोध्नु नपरोस् भन्ने हाम्रो चाहना हो ।’’ 

वडाभित्र चार ओटा प्राचीन ढुङ्गेधारा छन् । यस्तै नागपोखरी, हिटी पोखरी, चतुर्भुज नारायण, गोमा गणेश, नन्दीकेशर बगैँचा, हरिहर नारायण (आधा विष्णु आधा शिव), साइ केन्द्र, सोराहिटी (तीनधारा), जमल विहार, लाल गणेश जस्ता प्राचीन सांस्कृतिक सम्पदा छन् । 

यी सम्पदाको प्रवर्द्धनका लागि वडाले द सारङ्गको प्राविधिक सहयोगमा क्यूआर कोड राखेको हो । क्यूआर कोडमा नेपाली, अंग्रेजी, जर्मन, हिन्दी, फ्रेन्च, चाइनिज, कोरियन, स्पेनिस, जापानिज र अरबी गरी १० भाषामा अडियो सुन्न सकिन्छ ।

वडासचिव सर्वज्ञराज पौडेलले भने, ‘‘ठमेल, दरबारमार्ग घुम्न आउने पर्यटकहरू वडा नं. १ का विभिन्न मन्दिर, ढुङ्गेधारा, महाविहारजस्ता सम्पदा क्षेत्रमा आउनुहुन्छ । उहाँहरूलाई स्मारकका बारेमा जान्न सजिलो होस् भनेर प्रयोगका रुपमा हामीले अहिले २ वटा मन्दिर र एउटा महाविहारको चिनारी क्यूआर कोडमा राखेका हौँ । यसको पृष्ठपोषण हेरेर थप कामको योजना बनाउने छौँ ।’’

पछिल्लो अध्यावधिक: फागुन १८, २०८० ८:४५