close

अपराध अनुसन्धानमा झन्डै साढे ५ हजारको पोलिग्राफ परीक्षण, कत्तिको प्रभावकारी छ यो प्रविधि ?

टेकपाना टेकपाना

फागुन २१, २०८० १८:४६

अपराध अनुसन्धानमा झन्डै साढे ५ हजारको पोलिग्राफ परीक्षण, कत्तिको प्रभावकारी छ यो प्रविधि ?

काठमाडौं । काठमाडौं बबरमहल बस्ने पूर्व राजदूत केशवराज झाको ६ भदौ २०७५ मा हत्या भयो । सो घटनाको अनुसन्धानको सिलसिलामा आशङ्कीत व्यक्तिहरूको पोलिग्राफ परीक्षण गरियो । यसैगरी निर्माण व्यवसायी महासंघका अध्यक्ष शरद गौचनको २३ असोज २०७४ का दिन बानेश्वर खरिबोटमा गोली हानेर हत्या भयो ।

उक्त घटनाको अनुसन्धानको सिलसिलामा घटनामा संलग्न व्यक्तिको पोलिग्राफ परीक्षण गरियो । त्यसैगरी काठमाडौंको रानीबारी स्थित इन्जिनियर दम्पती हेमन्त श्रेष्ठ र अञ्जली श्रेष्ठको ३१ असार २०५९ मा भएको हत्याको अनुसन्धानको क्रममा शङ्का गरिएका व्यक्तिको पनि पोलिग्राफ परीक्षण गरियो । यी परीक्षणले घटनाको अनुसन्धानमा निकै महत्त्वपूर्ण सहयोग पुर्‍यायो ।

यी केवल प्रतिनिधिमूलक उदाहरण मात्र हुन् । नेपाल प्रहरीमा पोलिग्राफ शाखाको स्थापनादेखि हालसम्म १० वर्षको अवधिमा कूल दुई हजार ७७८ मुद्दाका पाँच हजार ४१७ जनाको पोलिग्राफ परीक्षण गरिएको छ ।

व्यक्तिले बोलेका कुराहरूको सत्यता जाँच गर्ने प्रविधि नै पोलिग्राफ हो । यसलाई वैज्ञानिक भाषामा झुटो बोलेको पत्ता लगाउने मनोशारीरिक प्रविधि पनि भनिन्छ । पोलिग्राफ आधुनिक विधि विज्ञानको सबैभन्दा पुरानो प्रविधि हो ।

नेपाल प्रहरीले २२ माघ २०७० देखि ‘नेपाल प्रहरी पोलिग्राफ निर्देशिका, २०७०’ लागु भएपश्चात् विधिवत रूपमा पोलिग्राफ परीक्षण थालिएको थियो । नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकाल पोलिग्राफ परीक्षणबाट अपराध अनुसन्धान लगायतका विभिन्न अनुसन्धानमा महत्त्वपूर्ण सहयोग पुगेको बताउँछन् । "हालसम्म परीक्षण गरिएकामध्ये करिब ५० प्रतिशत परीक्षणले अनुसन्धानलाई निर्देशित गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको तथ्याङ्कले देखाएको छ," उनी भन्छन्, "यसलाई अझ प्रभावकारी बनाउन कर्मचारीलाई तालिम तथा आधुनिक उपकरणहरूको प्रयोगलाई विशेष ध्यान दिने गरिएको छ । साथै समयानुकूल पोलिग्राफ परीक्षण प्रभावकारिताको मूल्याङ्कन समेत गर्ने गरिएको छ ।”

पोलिग्राफ प्रि-टेस्ट, टेस्ट र पोस्ट टेस्ट गरी तीन चरणमा परीक्षण गरिन्छ । पोलिग्राफ परीक्षण सञ्चालन गर्दा परीक्षण गरिने व्यक्तिको स्वीकृति अनिवार्य लिनु पर्ने व्यवस्था छ । आशङ्का गरिएको व्यक्तिले झुठ बोले/नबोलेको सङ्केत परीक्षणले गर्छ ।

चालु आर्थिक वर्षको साउनदेखि माघसम्म सात महिनाको अवधिमा १४३ ओटा मुद्दाका २९० जनाको पोलिग्राफ परीक्षण गरिएको छ । तीमध्ये २६३ पुरुष र २७ महिला छन् । उनीहरूमध्ये झुठ बोलेको सङ्केत १०६ जना, झुठ नबोलेको सङ्केत १७० जना, राय दिन नसकेको अवस्था दुई जना, परीक्षण स्वीकृति नदिएको ११ जना र विश्लेषणको लागि अपर्याप्त सङ्केत १ जनामा देखिएको छ ।

घटनाको अनुसन्धानको क्रममा पक्राउ परेका व्यक्ति वा आशङ्कागरिएको वा पीडित वा साक्षीहरूले बोलेको कुराहरूको सत्यता परीक्षण गर्नका लागि पोलिग्राफको प्रयोग गरिन्छ । पोलिग्राफको माध्यमबाट अनुसन्धानलाई परिणाममुखी बनाउने, अनुसन्धानको दायरालाई साँघुरो बनाउने, निर्दोष व्यक्तिको निर्दोषिता पुष्टि गर्ने, प्रमाणको पहिचान तथा अन्य घटनासँग सम्बन्धित विविध कुराहरू पहिचान गर्न सकिन्छ ।

प्रहरी नायब महानिरीक्षक ढकालले आउँदा दिनमा पोलिग्राफको प्रयोग क्षेत्रलाई अझ फराकिलो बनाउँदै लगिने बताए । "त्यसका लागि स्रोत साधन र दक्ष जनशक्ति व्यवस्थापनमा जोड दिइएको छ,” उनले भने ।

हाल केन्द्रीय पोलिग्राफ मातहत रही अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रहरी महाशाखा टङ्गाल, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी लगायत सात ओटै प्रदेश प्रहरी कार्यालयमा पोलिग्राफ परीक्षण हुँदै आएको छ । पोलिग्राफ परीक्षण सम्बन्धमा नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागका प्रहरी वरिष्ठ उपरीक्षक नविनराज राईले मापदण्ड र अन्तर्राष्ट्रिय मान्यता अनुरूप पोलिग्राफ परीक्षण गर्ने गरिएको बताए । उनले भने, "कार्यरत कर्मचारीहरूको दक्षता अभिवृद्धि र आधुनिक साधन स्रोत व्यवस्थापनका लागि समन्वय गर्ने समेत गरिएको छ ।”

पछिल्लो अध्यावधिक: फागुन २१, २०८० १८:४६