close

यसरी सुरु भएको थियो गुगल

टेकपाना टेकपाना

फागुन २४, २०८० १८:१६

यसरी सुरु भएको थियो गुगल

काठमाडौं । गुगल हाम्रो दैनिकीको अभिन्न हिस्सा बनिसकेको छ । तर, के तपाईंलाई थाहा छ ? जुन शब्द कुनै न कुनै रूपमा हामीले दिनहुँजसो प्रयोग गर्दै आइरहेका छौं, त्यो अस्तित्वमा आएको केही दशक मात्र भएको छ । आज गुगल सर्च इन्जिनको पर्यायवाची शब्द नै बनेको छ । 

यद्यपि, जब गुगल पहिलो पटक सार्वजनिक गरियो, त्यसबेला यसको नाम भिन्नै थियो । स्टान्डफर्ड युनिभर्सिटीमा कम्प्युटर साइन्स अध्ययन गरिरहेका दुई पीएचडी विद्यार्थी ल्यारी पेज र सेर्गी ब्रिनलाई मात्र आफूले राखेको नाम गतिलो लागेको थियो ।

अनुमान लगाउन सक्नुहुन्छ, के थियो होला गुगलको सुरुवाती नाम ? गुगलको वास्तविक वा भनौं सुरुवाती नाम ‘ब्याक रब’ (BackRub) थियो ।

गुगलको संक्षिप्त इतिहास 

‘ब्याक रब’मा काम भइरहँदा गुगल कसरी चर्चामा आयो होला ? सन् १९९० को दशकमा प्रायः सर्च इन्जिनमा त्यस्ता जानकारी मात्र बढी देखिन्थ्यो जसको बारेमा वेबपेजमा बढी जानकारी राखिएको हुन्थ्यो । अर्थात् किवर्ड डेन्सिटीको आधारमा सर्च रिजल्ट देखिन्थ्यो । भन्नाले वेब पेजमा कुनै शब्द बढीभन्दा बढी राखिएको छ भने उक्त शब्दका लागि तयार पारेको पेज नै र्‍याङ्क हुन्थ्यो ।

यसले गर्दा कन्टेन्ट क्रियटरले पेज र्‍याङ्क गर्न असान्दर्भिक कन्टेन्ट राख्थे । त्यसो हुँदा प्रयोगकर्ताले खोजेको जानकारी सहजै पाउँदैनथे । 

पीएचडीका लागि उपयुक्त विषय खोजिरहेका ल्यारी पेजलाई यो समस्याले तान्यो । उनले वेबपेजको गुणस्तरलाई आधार बनाएर सर्च रिजल्टमा लिङ्क देखिने अवधारणा अगाडि सारे । यसले गर्दा एग्लोरिदमले प्रयोगकर्तालाई यस्तो रिजल्ट देखाउन थाल्यो जो प्रयोगकर्तामाझ बढी सान्दर्भिक छ । 

ल्यारी पेजले आफ्नो सर्च इन्जिनको पहिलो भर्सन स्ट्यान्डफर्ड वेबसाइटमा सन् १९९६ मा राखेका थिए । अर्थात् स्टान्डफर्डको वेबसाइटमा एउटा क्याटेगोरीका रूपमा ‘ब्याक रब’ राखिएको थियो । त्यतिबेला वेबसाइट र्‍याङ्क गर्ने तरिकालाई पेज र्‍याङ्क भनिएको थियो भने सर्च इन्जिनको नाम उनीहरूले ‘ब्याक रब’ राखेका थिए ।

'ब्याक' शब्दले ब्याकलिङ्कलाई जनाएको थियो भने रबले ‘रबिङ’ शब्दलाई जनाएको थियो । अर्थात् पेज ब्याकलिङ्कको आधारमा र्‍याङ्क गर्ने भएर सर्च इन्जिनको नाम नै ‘ब्याक रब’ राखिएको थियो । त्यतिबेला पनि प्रविधिलाई गुणस्तरीय पेजलाई र्‍याङ्क गर्न चुनौती नै थियो । अहिले पनि ब्याकलिङ्क बढी भएका वेबपेज नै गुगलमा र्‍याङ्क हुन्छन् । 

‘ब्याक रब’ देखि गुगलसम्मको यात्रा

‘ब्याक रब’ स्टान्डफर्डको वेबसाइटमा राखिएको थियो । यता पेज र्‍याङ्क गर्नका लागि यो सर्च इन्जिन बढी ब्यान्डविथ खपत गर्थ्यो । एल्गाेरिदमले वेब क्रल गरेर इन्डेक्स गर्दा बढी ब्यान्डविथ खपत हुन थाल्यो । त्यसपछि ल्यारी पेज र उनका साथी सेर्गी ब्रिनलाई सर्च इन्जिनका लागि छुट्टै डोमेन बनाउनुपर्छ भन्ने महसुस भयो ।

सन् १९९७ तिर ल्यारी पेजका साथी सिन एडर्सले डोमेन नेम गुगोलप्लेक्स (Googolplex) राख्न सुझाव दिएका थिए । गुगोल एक गणितीय शब्द हो । यसको अर्थ १० को पावर १०० भन्ने हुन्छ । अर्थात् एक पछाडि १०० जिरो हुनुलाई 'गुगोल' भनिन्थ्यो । वेबपेजको सङ्ख्या लाखौंका भएको बेला उनीहरूले यही नाम राख्ने योजना बनाएका थिए । 

गुगोल नाम सुझाव आएको थियो । यो शब्द अर्थपूर्ण पनि थियो । त्यसैले एन्डर्सन र ल्यारी पेजले गुगोल डटकम (googol.com) उपलब्ध छ कि छैन भन्ने हेर्न थाले । तर, टाइप गर्दा googol को सट्टा google टाइप भयो ।

ल्यारी पेजलाई गल्तीले भेटिएको यही नाम चित्त बुझ्यो । उनले उक्त डोमेन नेम आफू र आफ्ना साथी ब्रिनको नाममा १५ सेप्टेम्बर १९९७ मा दर्ता गरे । त्यसको झन्डै एक वर्षपछि आधिकारिक रूपमा गुगल कम्पनीका रूपमा स्थापित थियो । 

सन् १९९८ को अन्तसम्म गुगलमा छ करोड पेज इन्डेक्स भएका थिए । सन् २००० सम्म उक्त सङ्ख्या बढेर एक अर्ब पुगेको थियो । विभिन्न रिपोर्टका अनुसार सन् २०२० सम्म इन्डेक्स हुने पेजको सङ्ख्या बढेर ४०० अर्ब पुगेको छ ।

पछिल्लो अध्यावधिक: फागुन २४, २०८० १८:३७