close

अब खल्तीबाटै इन्टरनेट जडान गर्न सकिने, यस्तो छ तरिका

टेकपाना टेकपाना

फागुन २७, २०८० १९:५६

अब खल्तीबाटै इन्टरनेट जडान गर्न सकिने, यस्तो छ तरिका

काठमाडौं । आफ्नो डिजिटल वालेटबाट इन्टरनेटको बिल तिर्ने मात्र नभई अब इन्टरनेट अर्डर समेत गर्न सकिने भएको छ । यदि तपाईं आफ्नो घरमा नयाँ इन्टरनेट जडान गर्ने सोचमा हुनुहुन्छ भने खल्ती डिजिटल वालेटबाटै वर्ल्डलिङ्कको नयाँ ग्राहक बन्न सक्नुहुनेछ ।

यससँगै इन्टरनेट जडान गर्न तपाईं वर्ल्डलिंकको कार्यालयसम्म धाइरहनु नपर्ने भएको छ । आज हामी खल्तीबाट वर्ल्डलिङ्कको इन्टरनेट जडान अनुरोध कसरी गर्ने भनेर सिकाउँदैछौं:

-सबैभन्दा पहिले खल्तीमा लगइन गर्नुहोस् । यदि तपाईं खल्तीको प्रयोगकर्ता हुनुहुन्न भने खल्तीको मोबाइल एप डाउनलोड गरेर साइनअप गर्न सक्नुहुन्छ । साथै तपाईंले आफ्नो केवाईसी पनि प्रमाणित गर्नुपर्ने हुन्छ । 

-खल्तीमा लगइन गरिसकेपछि ‘रिचार्ज एन्ड बिल पेमेन्ट’ खण्ड अन्तर्गत रहेको  इन्टरनेटमा क्लिक ‍गर्नुहोस् । 


-यसपछि ‘वर्ल्डलिङ्क न्यू इन्स्टलेसन रिक्वेस्ट’ मा जानुहोस् । तपाईंले त्यहाँ एउटा फारम देख्नुहुनेछ । त्यसमा आफ्नो नाम, मोबाइल नम्बर, ठेगाना भर्नुहोस् । यसपछि इन्स्टलेसन टाइपमा क्लिक गर्नुहोस् ।


-यदि तपाईं इन्टरनेट मात्र जडान गर्न चाहनुहुन्छ भने इन्टरनेटमा छान्नुहोस् । इन्टरनेटसँगै नेटटिभी पनि जडान गर्ने हो भने ‘इन्टरनेट/टिभी’ मा थिच्नुहोस् । 

-यसरी खल्तीबाटै वर्ल्डलिङ्कको इन्टरनेट जडान गर्न पहिले नै तीन महिना अथवा १२ महिनाको शुल्क भने तिर्नुपर्ने हुन्छ । आफूले लिन चाहेको सर्भिस छानेपछि ३ महिनाको तिर्ने भए ‘थ्री मन्थ्स’ र १२ महिनाको तिर्ने भए १२ महिनामा क्लिक गर्नुपर्छ । 

-यसपछि तपाईंले कुन प्याकेज लिन चाहेको हो त्यो छनोट गर्नुपर्ने हुन्छ । यसमा तपाईँले १५०, २००, २५० र ३०० एमबीपीएसको प्याकेज खरिद गर्न सक्नुहुनेछ । आफ्नो प्याकेज छानिसकेपछि स्क्रिनमा तपाईंले तिर्नुपर्ने रकम देखाउँछ । 

-यो सबै प्रक्रिया पूरा गरेर अब ‘पे’ मा ट्याप गर्नुहोस् । इन्टरनेटको रकम भुक्तानी गरेको तीन दिनभित्र वर्ल्डलिङ्कका प्रतिनिधिले तपाईंलाई सम्पर्क गर्नेछन् । र, उनीहरू स्वयं तपाईंको स्थानमा आएर इन्टरनेट जडान गरिदिनेछन् ।

-इन्टरनेट जडान गर्दा लाग्ने जडान शुल्क भने तपाईंले तिर्नुपर्ने हुन्छ । अर्थात् खल्तीबाट तिर्नु भएकाे इन्टरनेटको मासिक शुल्क बाहेक लाग्ने राउटर, सेट टप बक्स वा बिकन राउटरको मूल्य भने वर्ल्डलिङ्कले तोके बमोजिम तपाईंले अतिरिक्त रूपमा तिर्नुपर्ने हुन्छ ।

-यसरी भुक्तानी गरिसकेपछि तोकिएको समय अर्थात् तीन दिनभित्र इन्टरनेट जडान भएन भने खल्तीले तपाईंले तिरेकाे सम्पूर्ण रकम फिर्ता गर्नेछ ।

पछिल्लो अध्यावधिक: फागुन २७, २०८० १९:५६