close

नयाँ निर्माताका लागि फिल्म रिलिज गर्ने ओटीटी एप बन्दै ‘कान्तिपुर सिनेमाज’

टेकपाना टेकपाना

फागुन ३०, २०८० १७:४४

नयाँ निर्माताका लागि फिल्म रिलिज गर्ने ओटीटी एप बन्दै ‘कान्तिपुर सिनेमाज’

काठमाडौं । नेपाली ओटीटी प्लेटफर्म कान्तिपुर सिनेमाज फिल्म रिलिज गर्ने उपयुक्त प्लेटफर्म बन्न थालेको छ । फिल्मको सबै पक्ष राम्रो भएपनि बजेट अभाव र अन्य कारण हलहरूमा पुर्‍याउन नसक्ने निर्माताहरूका लागि यो ओटीटी प्लेटफर्म भर्चुअल हलका रूपमा विस्तार भइरहेको छ ।

यो प्लेटफर्ममा ‘मदर’, ‘मुखिया’, ‘रितु’, ‘खरानी’, ‘म’, ‘पँखेटा’ लगायत फिल्म स्ट्रिमिङ भइसकेका छन्, जसमा स्वतन्त्र रूपमा फिल्म निर्माण गर्ने निर्मता/निर्देशकहरू संलग्न छन् । अहिले कान्तिपुर सिनेमाजमा नयाँ फिल्म ‘नेपाली फिक्सन’ स्ट्रिमिङ भइरहेको छ ।

कान्तिपुर फिल्म एकेडेमीद्वारा सञ्चालित कान्तिपुर सिनेमाजमा गत असोजमा बेटा भर्सनमा सार्वजनिक भएको थियो । पछिल्लो समय प्लेटफर्म स्तरीय बनाउँदै आएको कम्पनीले हालसालै पूर्ण संस्करणको एप ल्याएको छ ।

“हामीले पछिल्लो समय एप र वेब दुवै भर्सन परिमार्जन गरेका छौं,” टेकपानासँग कुरा गर्दै कान्तिपुर फिल्म एकेडेमीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रकाश पुरीले भने, “त्यसै अन्तर्गत अहिले नयाँ फिल्म ‘नेपाली फिक्सन’ रिलिज गरेर एपको फुल भर्सन लन्च गरेका हौं ।” 

विश्वव्यापी रूपमै अहिले ओटीटी प्लेटफर्ममा चलचित्र सार्वजनिक गर्ने प्रवृत्ति बढ्दो छ । विशेषगरी दर्शक इन्टरनेटको पहुँचमा हुने र आफूलाई पायक पर्ने समयमा फिल्म, सिरिज, डकुमेन्ट्री तथा अन्य किसिमका भिडिओ हेर्न सकिने भएकाले ओटीटी प्लेटफर्मको चर्चा बढेको छ । 

“भारतमा पनि हलको साटो ओटीटी प्लेटफर्ममा फिल्म रिलिज गर्ने क्रम बढेको छ,” सीईओ पुरीले भने, “हामीले पनि त्यस्तै अवधारणाको सुरुवात गर्न कान्तिपुर सिनेमाजमा चलचत्रि प्रदशर्न गर्न सकिने व्यवस्था मिलाएका छौं ।” 

स्वतन्त्र रूपमा फिल्म बनाउने निर्मातालाई यस्तो कदमले सहयोग पुगेको सीईओ पुरीको विश्वास छ । कान्तिपुर सिनेमाजमा यसअघि रिलिज भएका विभिन्न सिरिज, डकुमेन्ट्री र फिल्ममा नेपालका चर्चित निर्देशकहरूले निर्देशन गरेको उनले सुनाए । 

हालै रिलिज भएको ‘नेपाली फिक्सन’ देवेन्द्र खत्रीले निर्देशन गरेको फिल्म हो । खत्री हाल हलमा प्रदर्शनरत ुअगस्त्यु का सहायक निर्देशकसमेत हुन् भने छायाङ्कनका क्रममा रहेको फिल्म ‘मेयर’​ को निर्देशन टिममा छन् ।

‘नेपाली फिक्सन’ एक ग्याङ्गस्टारको घरमा स्मग्लिङको सामान डेलिभरी गर्न गएका दई जना चोरबीच हिस्सा बाँडफाँटको कथाबाट सुरु हुन्छ । त्यसमा ती दुई चोरहरूबीच मनमुटाव हुँदा निम्तिने अन्तरद्धन्द्धलाई फिल्ममा कमेडी शैलीमा प्रस्तुत गरिएको छ । 

यस फिल्मलाई संसारभरबाट कान्तिपुर सिनेमाजको वेबसाइट वा एपमा लगइन गरेर हेर्न सकिन्छ । हाल यो प्लेटफर्ममा ‘नेपाली फिक्सन’ सँगै ब्रह्माण्ड, मिस स्कार्लेट, लभ सुत्र, जलेबी, ज्याकी आई एक ट्वान्टिवन, चि मुसी लगायत २४ घण्टाका एक्स्क्लुसिभ फिल्म र सिरिज स्ट्रिमिङ भइरहेका छन् । 

यसअघि कान्तिपुर सिनेमाजको प्लेटफर्म बेटा भर्सनमा हुँदा सब्स्क्रिप्सन म्यानुअल्ली लिनुपर्ने बाध्यता थियो । अहिले भने प्लेटफर्मलाई स्वचालित बनाइएको सीइओ पुरीको भनाइ छ ।

कान्तिपुर सिनेमाजको सब्स्क्रिप्सन खल्ती, ईसेवा, प्रभु पे, आईएमई पे, हाम्रो पे र पेपालबाट लिन सकिन्छ । मासिक सब्स्क्रिप्सन शुल्क २९९ रुपैयाँ तोकिएको छ भने वार्षिक दुई हजार ९९९ रुपैयाँ तिरेर कान्तिपुर सिनेमाजको सब्स्क्रिप्सन लिन सकिन्छ ।

पछिल्लो अध्यावधिक: फागुन ३०, २०८० १८:३५