close

यस्तो छ, २९ सय रुपैयाँमै पाइने एक्स-एज स्मार्टवाच

टेकपाना टेकपाना

फागुन १८, २०८० १७:२०

यस्तो छ, २९ सय रुपैयाँमै पाइने एक्स-एज स्मार्टवाच

काठमाडौं । तीन हजारभन्दा कम मूल्यमै ब्लुटुथ कलिङ फिचर भएको स्मार्टवाच हो, एक्स-एज (x-age) क्लिक टु । भारतीय ब्रान्डको यस स्मार्टवाचको मूल्य २८ सय ९९ तोकिएको छ । आज हामी यो स्मार्टवाच कस्तो छ, त्यसबारे चर्चा गर्दै छौं:

कुरा सुरु गरौँ, स्मार्टवाचको डिजाइनबाट । यस स्मार्टवाचको मुख्य भाग कडा प्लास्टिकले बनेको छ । फोनको किनारमा पावर बटन दिइएको छ, जसलाई लामो समय प्रेस गर्दा पावर अफ गर्ने विकल्प देखिन्छ । एकपटक मात्र थिच्ने हो भने स्क्रिन अन हुन्छ । पुनः एक पटक थिच्दा मेन मेन्युमा पुगिन्छ । साथै बटनलाई घुमाउँदा वाच फेस परिवर्तन हुन्छ । 

मेन मेनुमा पुगेर यसलाई फेरी घुमाउँदा स्क्रिन अप र डाउन हुन्छ । त्यसो गर्दा केही ढिलो भएको भने महसुस हुन्छ । स्मार्टफोनको तलतिर सेन्सरसँगै चार्जिङ पिन दिइएको छ । साथै त्यही भागमा स्पिकर र माइक पनि देख्न सकिन्छ । यिनको उपयोग ब्लुटुथ कलिङ र भ्वाइस असिस्टेन्टमा हुन्छ । 

फोनको फिता सिलिकनबाट बनाइएको छ । जसलाई परिवर्तन समेत गर्न सकिन्छ । राम्रो पक्ष, कम्पनीले बक्समा नै रातो रङ्गको अर्को फिता पनि दिएको छ । त्यसो हुँदा तपाईंले आफूलाई मनपर्ने रङ्गको फिता लगाउन लगाउन सक्नुहुन्छ । 

यसमा १.९६ इन्चको आईपीएस डिस्प्ले दिइएको छ । स्मार्टवाचको किनारहरू थोरै घुमाउरो भएको देखिन्छ । त्यसले स्मार्टवाचलाई अझै आकर्षक बनाएको छ । डिस्प्लेमा दायाँतिर स्लाइड गर्दा एज प्यानल आउँछ, जसमा सिधै कल लग, अलार्म, स्पाेर्टस माेड, वेदर, एक्टिभिटीमा पहुँच पाउन सकिन्छ । 

घाममा चलाउँदा पनि स्क्रिन मजाले देखिन्छ । यसका साथै डिफल्ट रूपमै १६ ओटा वाच फेस पाउन सकिन्छ । एउटा चाहिँ कस्टमाइज गरेर तपाईंले आफूले चाहेको फोटो राख्न सक्नुहुन्छ ।  

स्मार्टवाचमा कनेक्टिभिटीका लागि ब्लुटुथ ५.३ दिइएको छ । फाेनसँग कनेक्ट भएपछि घडीबाटै कल रिसिभ गर्न, काट्न र माेबाइलका नाेटिफिकेसन हेर्न सकिन्छ । कल मेनुमा कन्ट्याक्ट, कन्ट्याक्ट हिस्ट्री र डायल प्याडको विकल्प देखिन्छ ।

घडीबाट थपेका केही नम्बर कन्ट्याक्टमा देखिन्छ । कल हिस्ट्रीमा कल आएका/गएका विवरण हुन्छ भने डायल प्याडबाट नम्बर डायल गर्न सकिन्छ । कल गर्दा आवाज स्पष्ट नै आउँछ । होहल्लामा कुरा गर्दा पनि बिना अवरोध कुराकानी सम्भव भएको हुन्छ । 

यसमा हर्ट रेट, ब्लड अक्सिजन, ब्लड प्रेसरका लागि हेल्थ मनिटरिङको लागि सुविधा दिइएको छ । यसबाहेक निन्द्रा र तनावको अवस्था जाँच्ने मनिटरिङको सुविधा पनि यसमा छुटेको छैन । सामान्य स्वास्थ्य अवस्था बुझ्न यो स्मार्टवाच पर्याप्त नै छ । 

स्मार्टवाचमा सयभन्दा आउटडोर, इन्डोर, साइकलिङ, क्लाइमबिङ जस्ता धेरै स्पोर्टस मोड छन् । यदि मोबाइलको जीपीएस प्रयाेग गर्दा तपाईं कति हिड्नु भयो, कताकता जानु भयो लगायतका विवरण पनि देख्न सकिन्छ ।

त्यस्ता स्पोर्स मोड परिवर्तन गर्न पर्सनलाइजेसनको विकल्प पनि यसमा दिइएको छ । जसभित्र गएर तपाईंले नयाँ मोड थप्न तथा हटाउन सक्नुहुन्छ । दौडदा होस् या फुटबल, क्रिकेट जस्ता खेल खेल्दा, स्पोर्टस मोडमा मोड छान्नु भएको छ भने तपाईंले आफ्नो मुटुको चाल, ग्रहण गरेको क्यालोरी, हिँडेको समय लगायतका विवरण यसले देखाउँछ । 

घडीमा स्मार्टवाच, अलार्म, टाइमर, क्यालेन्डर, क्यालकुलेटर लगायतका फिचर पनि छन् । अर्को कुरा फुर्सदको समयमा तपाईंले घडी मै खेल पनि खेल्न सक्नुहुन्छ । पिनको खासै जरुरत नपरेपनि घडीमा सुरक्षाका लागि पिन सेट गर्न सकिन्छ ।

घडीमा माथि तिर स्लाइड गर्दा ब्राइटनेस घटाउने/बढाउने, क्यालकुलेटर, सेटिङ, क्यालेन्डर सजिलै यहीबाट पहुँच पाउन सकिन्छ । त्यसको लागि मेनुमा भएर स्क्रोल गरिरहनु पर्ने झन्झट हुँदैन  । 

त्यस्तै यस घडी नेपाली भाषामै प्रयोग गर्न सकिनु अर्को महत्त्वपूर्ण कुरा हो । ल्याङ्ग्वेज सेटिङ भित्र गएर नेपाली भाषा सजिलै छनोट गर्न सकिन्छ । नेपाली भाषा छनोट गरिसकेपछि यसका आईकन, सेटिङ सबै तिर नेपाली भाषा नै देखिन्छ ।

मोबाइलमा नेपाली भाषामा आउने मेसेज तथा नोटिफिकेसन घडीबाटै पढ्न सकिन्छ । विशेष गरी अङ्गेजी भाषासँग घुलमिल नभएका व्यक्तिका लागि यो फिचर निकै उपयोगी हुन सक्छ ।

यस स्मार्टवाचमा २६० एमएएचको लिथियम पाेलिमर ब्याट्री राखिएको छ । जसलाई फुल चार्ज गर्न करिब एक घण्टा १५ मिनेट लाग्छ । स्मार्टवाचलाई मोबाइलसँग कनेक्ट गर्न ‘स्मार्ट टाइम प्रो’ नामक एप रहेको छ ।

एप डाउनलाेड गरेर घडीसँग जोडिसकेपछि आफ्नो दैनिक, साप्ताहिक वा मासिक रूपमा स्वास्थ्य अवस्था कस्तो छ भन्ने जानकारी एपबाटै लिन सकिने छ । यसलाई घडीमा सिङ्क समेत गर्न सकिन्छ ।

त्यस्तै एपभित्रै नाेटिफिकेसनको विकल्प छ । जहाँबाट केके को नाेटिफिकेसन घडीमा आउन मिल्ने भनेर मिलाउन सकिन्छ । मह‍िलाको लागि महिनावारी ट्रयाक गर्ने विकल्प पनि यसमा दिइएको छ । फोनबुकभित्र २० ओटा फाेन नम्बर जोड्न सकिन्छ । यसका साथै यसमा ‘एन्टी लस्ट रिमाइन्डर’ फिचर छ ।

यसलाई ‘अन’ गर्दा तपाईंले नाडीबाट घडी फुकाल्नु भयो भने अलर्ट आउँछ । विशेषगरी घडी खोलेर कतै राखेको समयमा फेला पार्न नसके यो फिचर काममा आउँछ । ‘मी’ विकल्प एपमा भएको अर्को खण्ड हो । यसबाट आफ्नो दैनिकीमा गरिने कामहरूको सूचि तयार गर्न सकिन्छ ।

समग्रमा भन्नुपर्दा यो स्मार्टवाचले जुन मूल्यमा यी फिचर दिइरहेको छ, ती मूल्य सुहाउँदो छ । तर पनि एक्स-एजले स्क्रिनलाई अझ छरितो बनाउन भने सक्थ्यो । साथै ब्याट्री पनि अझै बढी दिनसम्म टिक्ने भएको भए अझैको यो स्मार्टवाच पर्न सक्थ्यो ।

पछिल्लो अध्यावधिक: चैत १, २०८० १७:२९