close

यस वर्षभित्रै सर्वसाधारणले ओपनएआईको ‘सोरा’ चलाउन पाउने

टेकपाना टेकपाना

चैत २, २०८० १३:२१

यस वर्षभित्रै सर्वसाधारणले ओपनएआईको ‘सोरा’ चलाउन पाउने

काठमाडौं । ओपनएआईले आफ्नो टेक्स्ट-टु-भिडिओ जेनेरेटर टुल सोरालाई २०२४ भित्रै सार्वजनिक रूपमा उपलब्ध गराउने भएको छ । कम्पनीकी प्रमुख प्राविधिक अधिकृत (सीटीओ) मिरा मुरातीले सर्वसाधारणका लागि यस वर्ष नै सोरा उपलुब्ध हुने पुष्टि गरेकी हुन् । 

वाल स्ट्रिट जर्नलसँगको अन्तर्वार्ताका क्रममा सीटीओ मुरातीले केही महिनाभित्र सबैले सोरा चलाउन पाउने बताएकी हुन् । गत फेब्रुअरीमा सार्वजनिक भएको यस टुलले ठूलै तरङ्ग पैदा गरेको थियो । विशेष गरेर प्रयोगकर्ताले लेखेका शब्दका आधारमा नै वास्तविक जस्ता लाग्ने भिडिओ सोराले तयार पार्न सक्छ ।

हाल ओपनएआईले यस टुलको पहुँच सीमित प्रयोगकर्तालाई मात्र उपलब्ध गराएको छ, जुन चाँडै परिवर्तन हुने सीटीओ मुरातीले निश्चित गरेकी हुन् ।

सोराबाट तयार पारिएका भिडिओमा वाटरमार्क हुनेछ । त्यसले मानिस र एआईले बनाएको भिडिओ पहिचान गर्न सजिलो हुने बताइएको छ । 

सीटीओ मुरातीका अनुसार ओपनएआईले यस टुललाई अहिले सुधार गर्ने काम गरिरहेको छ । सोरामा अब आवाज तयार पार्ने तथा एआईले बनाएका भिडिओ सम्पादन गर्न मिल्ने फिचर आउने उनको भनाइ छ । ती फिचर आए प्रयोगकर्ताले एआई बटबाट आकर्षक कन्टेन्ट तयार पार्नसक्ने बताइएको छ ।

यदि यी फिचरसहित सोरा उपलब्ध भए कम्पनीलाई सञ्चालन खर्चको भार बढी पर्ने निश्चित छ । यसकारण इमेज जेनेरेटर ड्याल-ई झैं कम्पनीले सोरा सशुल्क बनाउने सम्भावना रहेको छ । हाल ओपनएआईले ड्याल-ईमा ११५ क्रेडिटको लागि १५ डलर लिने गरेको छ ।

पछिल्लो अध्यावधिक: चैत २, २०८० १३:३१