close

पल एलेक्जेन्डर, जो फलामको फोक्सोको मद्दतले ७२ वर्ष बढी बाँचे

टेकपाना टेकपाना

चैत ३, २०८० ११:३८

पल एलेक्जेन्डर, जो फलामको फोक्सोको मद्दतले ७२ वर्ष बढी बाँचे

काठमाडौं । कुनै पनि व्यक्तिलाई सात दिनका लागि मात्र सानो फलामको बाकसमा बस् भनियो भने उक्त व्यक्ति तत्कालै त्यो काम गर्नबाट पछि हट्छ । किनभने एउटा फलामको बाकसमा हलचल नगरेरै त्यतिका दिनसम्म रहिरहन लगभग असम्भव जस्तै छ ।

तर, पल रिचर्ड एलेक्जेन्डरलाई त्यस्तै वाध्यता आइलाग्यो । उनी लगातार ७२ वर्षसम्म फलामको सानो बाकसभित्र रहिरहे । उनै एलेक्जेन्डरको गत मङ्गलबार ७८ वर्षको उमेरमा निधन भएको छ । उनले त्यतिका समय बाकसमा बिताउनु त छँदै छ, त्यसमा पनि अध्ययन गरी सफल अधिवक्ता समेत बने । 

एलेक्जेन्डरको जीवन कसरी त्यस्तो मोडमा पुग्यो होला ? प्रविधिमा छलाङ मारेको राष्ट्र अमेरिकाले उनलाई उपयुक्त हुने प्रविधि किन विकास गर्न नसकेको होला ? एलेक्जेन्डरको अवस्थाबारे चर्चा गर्नुअघि पोलियो भाइरसको बारेमा बुझ्न आवश्यक हुन्छ ।

पोलियो भाइरसबाट हुने पोलियोमाइलेटिज एक प्राणघातक रोग हो । त्यसले सोझै मानिसको मेरुदण्डलाई सङ्क्रमित पार्छ । र, त्यसैको कारणले मान्छेलाई प्यारालाइसिस हुन्छ ।

त्यसपछि पोलियो भाइरसबाट सङ्क्रमित व्यक्तिलाई आफ्नो शरीर धान्न नै मुस्किल पर्छ । ऊ आफैं आफ्नो शरीरका भागहरू चलाउन पनि नसक्ने अवस्थामा पुग्छ । त्यति मात्र नभइ यो रोगले बिरामीलाई आफैं सास लिन पनि नसक्ने बनाइदिन्छ । त्यसैले यो रोगलाई निकै घातक रोग मानिन्छ ।

पल एलेक्जेन्डरको शरीरमा पोलियो भाइरस सन् १९९२ तिर प्रवेश गरेको थियो । त्यतिबेला पलको उमेर जम्मा छ वर्षको थियो । त्यही वर्ष अमेरिका र युरोप पोलियो भाइरससँग लडिरहेका थिए । विभिन्न रिपोर्टका अनुसार पोलियोबाट ५७ हजार बढी मानिसहरू सङ्क्रमित भएका थिए ।

२०औं शताब्दीदेखि नै विश्वभरका वैज्ञानिक पोलियो भाइरसको सङ्क्रमणबाट मानिसलाई जोगाउन गतिलो उपचार पद्धतिको खोजी गरेका थिए । सन् १९२८ मा हार्बर्ड युनिभर्सिटीका अनुसन्धानकर्ता फ्लिप हाइजेनिस्ट र लुइस सअले एउटा मसिन आविष्कार गरे । त्यो यस्तो मसिन थियो, जसले पोलियोबाट गम्भीर रूपमा ग्रसित बिरामीको उपचार गर्ने मात्र नभएर उनीहरूलाई त्यतिबेलासम्म जिउँदो राख्न सघाउँथ्यो, जतिबेलासम्म त्यो व्यक्ति पूर्ण रूपमा निको हुँदैन । 

पोलियो यतिसम्म खतरनाक हुन्छ कि, यसले मान्छेको फोक्सोले पनि काम नगर्ने बनाइदिन्छ । तर, फ्लिप र लुइसले आविष्कार गरेको मसिनले यस्ता बिरामीलाई श्वासप्रश्वासमा सघाएको थियो । किनभने यो मसिनले पोलियोबाट ग्रसित मान्छेका लागि फोक्सोको काम गर्थ्यो ।  

सबैभन्दा पहिले यो मसिन भ्याकुम क्लिनर प्रयोग गरेर तयार पारिएको थियो । किनभने यो शिल्ड मेटल बक्सले बाहिरको हावा त्यतिबेलासम्म तान्थ्यो, जतिबेला सम्म भित्रको बिरामीको ‘चेस्ट क्याभिटी’ कम हावाको चापका कारण भ्याक्युम भर्नका लागि एक्सपान्ड नभएको होस् ।

त्यसपछि जब बिरामीको फोक्सोमा हावा भरिन्छ तब यो मसिनले लगातार पहिलेको प्रक्रियालाई उल्टो बनाउँथ्यो । त्यसले गर्दा फोक्सोमा भरिएको हावा बाहिर जान्थ्यो । र, बिरामी आरामसँग सास लिन सक्थ्यो । 

पहिले त यस मसिनको नाम ड्रिन्कर रेस्पिरेटर राखिएको थियो । तर, पछि यसको नाम 'आइरन लङ' अर्थात् फलामको फोक्सो राखियो । यसको आविष्कार भइसकेपछि सन् १९३१ मा जोन हेभन इमर्सन नामका वैज्ञानिकले त्यस मसिनमा थुप्रै सुधारका काम गरे । त्यसपछि यो मसिन प्रयोग गर्न सजिलो हुनुका साथै सस्तो पनि पर्ने भयो । 

सन् १९५२ अमेरिका पोलियोको खरब परिस्थितिसँग जुधिरहेको थियो । त्यसबेला हजारौं बालबालिका पोलियोबाट ग्रसित भएर अस्पतालमा भर्ना भएका थिए । त्यतिबेला पल एलेक्सजेन्डर आफ्ना साथीसँग आकाशबाट बर्सिरहेको पानीमा रुझिरहेको थिए । पहिले त एलेक्सजेन्डर सामान्य नै थिए । उनी साथीहरूसँग राम्रैसँग खेलिरहेका पनि थिए । त्यसको केही समयमै उनलाई असहज भएको अनुभव भयो । उनी दौडिंदै आफ्नी आमा हुने ठाउँमा पुगे । र, त्यहाँ आफ्नो घाँटी र टाउको दुखेको बताए ।

एलेक्सजेन्डरकी आमालाई यो सबै उनी पानीमा भिज्दा भएको हो भन्ने लागेको थियो । तर, उनलाई तत्कालै यो पोलियोको सुरुवाती लक्षण हो भन्ने थाहा भयो । त्यस लगतै उनले आफ्नो छोरालाई आफ्नो फ्याम्ली डाक्टर कहाँ देखाइन् । अस्पतालमा पोलियोबाट ग्रसित अन्य बालबालिका भएकाले बेड खाली नै थिएन । त्यसैले डाक्टरले एलेक्सजेन्डरलाई घरमै राखेर उपचार गर्न सुझाव दिए । तर, उनको स्वास्थ्य अवस्था दिनानुदिन बिग्रिंदै गयो । त्यसपछि एलेक्सजेन्डरलाई अस्पतालमा भर्ना गरियो ।

एलेक्सजेन्डरको अवस्था देखेर केही डाक्टर उनको उपचार गर्नबाट पछि हटे । तर, एक डाक्टरले उनको उपचार प्रक्रिया अगाडि बढाए । उनको घाँटीको भागमा शल्यक्रिया गरेर फोक्सोमा चेस्ट ट्युब राखियो । भोलिपल्ट बिउँझिँदा उनी बोल्न त सक्थे तर उनको शरीरमा कत्ति पनि तागत थिएन । त्यसैले डाक्टरले उनलाई आइरन लङमा राखे ।

यसरी उनलाई आइरन लङमा राखेको पनि १८ वर्ष बितिसकेको थियो । त्यतिबेला पोलियोबाट ग्रसित कति बालबालिका निको भएका थिए भने कतिको निधन भइसकेको थियो । तर, एलेक्जेन्डरको अवस्थामा भने कुनै सुधार भएको थिएन । उनी त्यतिबेलासम्म पनि मसिनकै सहायताले सास लिइरहेका थिए ।

त्यसैले डाक्टरले उनलाई ‘फ्रग ब्रिदिङ’ सिकाइरहेका थिए । फ्रग ब्रिदिङ श्वासप्रश्वासको यस्तो तरिका हो, जहाँ व्यक्ति श्वासप्रश्वासका लागि पूर्ण रूपमा फोक्सोमा नभइ छाला र मुखमा निर्भर हुन्छ ।

यसले गर्दा एलेक्सजेन्डरको फोक्सोमा बढीभन्दा बढी हावा पुग्न सक्थ्यो । समय बित्दै जाँदा एलेक्सजेन्डरको आत्मविश्वासले गर्दा उनी आठ वर्षको हुँदा नै फ्रग ब्रिदिङमा निपूण भए । त्यसपछि पहिलो पटक उनले आइरन लङको सहायता बिनै श्वास लिन सके ।

यति हुँदा पनि उनलाई अधिकांश समय मसिनमै बिताउनु पर्ने हुन्थ्यो । किनभने उनको शरीर पूर्ण रूपमा प्यारालाइज्ड भएको थियो । लामो समयसम्म मसिनमै बिताउँदा पललाई त्यहाँ समय बिताउनु सामान्य लाग्न थालिसकेको थियो । 

त्यही देखेर एलेक्जेन्डरको आमाबुवाले त्यस मसिनको माथि ऐना राखिदिए । जसले गर्दा कोठाको अन्य भाग हेर्न उनलाई टाउको यताउति मोड्नुपर्ने वाध्यता हुँदैनथ्यो । त्यति मात्र नभइ उनका लागि एउटा विशेष किसिमको सानो लट्ठी पनि तयार पारिएको थियो । त्यसैको सहायताले उनी खेलौनासँग खेल्थे ।

यसरी लामो समय बिताइसकेपछि उनलाई जीवनमा अगाडि बढ्नका लागि केही गर्नुपर्छ भन्ने भावना पलायो । त्यसैले उनले अध्ययन गर्ने सङ्कल्प बुने । जम्मा २१ वर्षको उमेरमा उनी अविश्वसनीय ढङ्गले पहिलो त्यो व्यक्ति बने, जो डल्लास हाई स्कुल (Dallas’ High School) बाट भौतिक रूपमा कक्षामा उपस्थित नभएरै उत्तीर्ण हुने व्यक्ति बने । त्यो पनि शीर्ष स्थान हासिल गरेर । 

उच्च शिक्षा पूरा गरिसकेपछि उनी डलास साउथर्न मेथडिस्ट युनिभर्सिटीबाट आवेदन दिए । उनी अध्ययन गर्नका लागि निकै असक्षम भएको भन्दै उनको आवेदन अस्वीकार गरियो । तर, उनी हार त्यतिमै हार मान्ने पक्षमा थिएनन् । उनी निरन्तर युनिभर्सिटीमा जाने प्रयास गरिरहेका हुन्थे । त्यसको दुई वर्षपछि उनले अर्थ र वित्तीय शास्त्रको अध्ययन गर्न पुनः भर्ना भए । देख्दादेख्दै उनले डलास युनिभर्सिटीबाट आफूलाई युनिभर्सिटी अफ टेक्सासमा पढ्ने बन्दोबस्त मिलाए । 

सन् १९७८ मा एलेक्जेन्डर टेक्सस युनिभर्सिटीबाट ग्य्राजुएट भए । त्यसपछि उनले कानून विषयमा डिग्री हासिल गर्ने सङ्कल्प बुने । किनभने त्यस समय कानूनमा डिग्री हासिल गर्न त्यति सजिलो थिएन ।

त्यसमा पनि एलेक्जेन्डरले सफलता हासिल गरे । उनले सन् १९८४ मा कानून विषयमा डिग्री पनि हासिल गरे । त्यसको दुई वर्षपछि उनले अधिवक्ताको तालिम लिन सुरु गरे । र, अधिवक्ताको रूपमा काम गर्न थाले । 

उनले सन् २०२० मा आफ्नो जीवनमा आधारित पुस्तक ‘थ्रि मिनेट्स फर अ डगः माई लाइफ इन एन आइरन लङ’ प्रकाशित गरे । उनले उक्त पुस्तक पनि मुखमा लट्ठी च्यापेर त्यसैको सहायताले किबोर्डमा थिच्दै लेखेका थिए । 

उनले प्रयोग गर्दै आएको आइरन लङ सन् १९६० मै विस्थापित भइसकेको थियो । तर, एलेक्जेन्डरले लामो समय त्यसैमा बिताएकाले उनलाई त्यही मसिन बानी परिसकेको थियो । 

उनलाई गिनिज वर्ल्ड रेकर्डले आइरन लङमा सबैभन्दा बढी समय बिताउने व्यक्तिका रूपमा सम्मान गरेको छ ।

पछिल्लो अध्यावधिक: चैत ३, २०८० ११:५१